close

वाई-फाई स्लो हुँदा यसरी आफैंले गर्नुहोस् समाधान

टेकपाना टेकपाना

असार १०, २०७९ २०:१७

वाई-फाई स्लो हुँदा यसरी आफैंले गर्नुहोस् समाधान

काठमाडौं । जब राम्राे स्पिडकाे इन्टरनेट चाहिन्छ, त्यतिबेलै स्लाे हुने समस्या तपाईंले पनि भोग्नुभएको छ होला । कसैलाई कल गर्दा होस्, वा जुम मिटिङमा सहभागी हुँदा, गेम खेल्दा वा विविध काम गरिरहँदा बीचमा इन्टरनेट कनेक्सनमा त्रुटि आइरेहेको हुन्छ ।

यस्तो बेला हामी सेवा प्रदायकलाई दोष दिने गर्छौं । कतै हाम्रै कारणले वा भनौं हामीले वाई-फाई राउटर सही तरिकाले व्यवस्थापन नगरेकाले पनि इन्टरनेट कनेक्सनमा त्रुटि आइरहेको हुन्छ ।

तपाईंले इन्टरनेट कनेक्सन स्लो भइरहेको अवस्थामा आफैंले पनि समाधान गर्न सक्नुहुन्छ । इन्टरनेट कनेक्सनको स्पिडलाई निर्धारण गर्ने धेरै तत्त्व हुन्छन् । केही यस्ता उपाय पनि छन्, जसले गर्दा घरका हरेक कुनामा इन्टरनेटको गति सुधार्न सकिन्छ ।

डिभाइस चेक गर्नुहोस् 

इन्टरनेट स्लो हुनुको पछाडि सधै सेवाप्रदायकको मात्र दोष हुँदैन । यसैले सेवा प्रदायककहाँ पुग्नुअघि कहिलेकाहिँ आफ्नो डिभाइसलाई पनि चेक गर्ने बानी बसाल्नुहोस् ।

के तपाईंका डिभाइसहरु पाँच वर्षभन्दा पुराना छन् ? तपाईंको डिभाइसमा एकैपटक धेरै एप वा ट्याबहरु खुलेका छन् कि ? घरका अन्य डिभाइसमा राम्रै इन्टरनेट चलेको छ, तर निश्चित फाेन/पीसीमा मात्र इन्टरनेट स्लाे भएकाे हाे कि ?

यदि माथि भनिएका सबै कुराहरु सही हुन् भने बुझ्नुहोस् कि तपाईंको ग्याजेट पुरानो भइसकेको छ । वा तपाईं धेरै ब्याण्डविथ खपत गर्ने एपहरु एकैपटक प्रयोग गर्दै हुनुहुन्छ ।

जसमा नेट स्लो हुनुका पछाडिकाे कारण तपाईंको इन्टरनेट सर्भिस नभएर ती एपहरु हुन् । पुराना ग्याजेटहरुमा पर्याप्त पावर र मेमोरी हुँदैन । त्यसैले यसले स्ट्रिमिङ भिडिओ, भिडिओ गेमको ग्राफिक्स लगायतका माग पुरा गर्न सक्दैन ।

समस्या समाधानका लागि डिभाइसलाई रिस्टार्ट गर्नुहोस् । अधिकांश प्रविधि जानकारले तपाईंलाई दिने सुझाव पनि यही नै हो । चाहे अरु नै इस्यु किन नहोस् । र यसले काम पनि गर्छ ।

आवश्यक नभएका ट्याब, एप तथा साइटहरु बन्द गरिदिनुहोस् । ग्याजेटलाई एकपटकमा एउटा मात्र काम सुम्पिनुहोस् । 

उदाहरणका लागि एउटा डिभाइसबाट भिडिओ कल मात्र गर्नुहोस्, अरु नगर्नुहोस् । भिडिओ कल गर्दै गुगल डक्समा काम नगर्नुहोस् । यसो गरे पुरानो डिभाइसले पनि शतप्रतिशत काम गर्न सक्छ । 

सही राउटरको छनौट

समान गतिको वा भनौं इन्टरनेट सेवा प्रदायकले भने बमोजिमको इन्टरनेट स्पिड नआउनुका पछाडिको कारण गलत राउटरको छनाेट पनि हुनसक्छ ।

ग्राहकलाई उपलब्ध गराइने सबै राउटर एउटै किसिमका हुँदैनन् । तपाईंको घर वा कार्यालयलाई कस्तो किसिमको राउटर उपयुक्त हुन्छ भन्ने कुरा ख्याल गर्नुपर्ने हुन्छ ।

यदि एउटा अपार्टमेन्टका लागि वा सानो घरका लागि मात्र राउटर आवश्यक परेको छ भने सिंगल वायरलेस एक्सेस पोइन्ट राउटर उपयुक्त हुन्छ ।

त्यस्तै तपाईंको राउटर पुरानो छ र त्यसलाई अपग्रेड गर्नुपर्ने भयो भने तपाईं डुअल-ब्यान्ड राउटर (त्यस्ता राउटरहरू, जसले २.४ गिगाहर्ज र ५ गिगाहर्ज फ्रिक्वेन्सी प्रयोग गरेर डेटा पठाउन र पाउन सक्षम हुन्छन्) छान्न सक्नुहुन्छ ।

हरेक इन्टरनेट सेवा प्रदायकसँग फरक-फरक क्षमता र फिचर भएका राउटर हुने भएकाले उनीहरूसँग छलफल गरेर कुन उपयुक्त हुन्छ भन्ने बुझ्न सकिन्छ ।

राउटर कस्तो ठाउँमा राख्ने ?

यदि तपाईं घरमा नयाँ राउटर राख्दै हुनुहुन्छ भने त्यसमा धेरै कुराहरू जोडिएका हुन्छन् । तपाईंले राउटर जडान गरिदिन भनेको प्राविधिकले त्यस्तो ठाउँको छनौट गर्छ, जहाँ राउटरलाई बाहिरबाट ल्याइने कनेक्सनमा जोड्न सहज होस् । उसले आफ्नो तरिकाले राउटर राखेर जान्छ ।

अब कुन ठाउँमा कति स्पिडमा इन्टरनेट चलिरहेको छ भन्ने कुरा अलि समय पछि नै थाहा हुन्छ । यसैलाई सजिलै तपाईंले तल उल्लेखित उपाय अपनाएर व्यवस्थापन गर्न सक्नुहुन्छ ।

सबैभन्दा बीचको भाग छनौट गर्नुहोस्

राउटरले सबै दिशातिर सिग्नल छाडिरहेको हुन्छ । यदि तपाईंको राउटर घरको कुनामा छ भने त्यसको सिग्नल घरभन्दा बाहिर गइरहेको हुनसक्छ । त्यसैले तपाईंले आफ्नो राउटर घरको बीच भागमा पर्ने गरी राख्न सक्नुहुन्छ ।

राउटरलाई जति सकिन्छ माथि राख्नुहोस्

राउटरले विशेषगरी तलपट्टि सिग्नल छोडिरहेको हुन्छ । त्यसैले तपाईं राम्रो इन्टरनेट स्पिड पाउनका लागि जति उचाइमा राख्न सक्यो त्यति नै उपयुक्त हुन्छ ।

अन्य विद्युतीय उपकरणबाट टाढै राख्नुहोस्

तपाईंले राउटर त्यस्तो ठाउँमा राख्न पर्छ जहाँ ठूला धातुजन्य वस्तु नभएका हुन् । तपाईंको राउटर नजिकै धेरै पर्खालहरू हुनु, ठूला विद्युतीय सामाग्री हुनुले तपाईंको इन्टरनेट स्पिडमा वाधा पुर्‍याउन सक्ने सम्भावना धेरै हुन्छ ।

विशेषगरी माइक्रोवेभ जसले राउटरले जस्तै २.४ गिगाहर्ज फ्रिक्वेन्सी उत्सर्जन गरिरहेको हुन्छ । त्यसैले माइक्रोवेभ र त्यस्तै फ्रिकवेन्सी उत्सर्जन गर्ने अन्य विद्युतीय उपकरण राउटरभन्दा टाढै राख्नपर्छ ।

एन्टेनाको भूमिका

कतिपय राउटरमा एन्टेना नै हुँदैन भने कतिपयमा आठ वटासम्म हुने गर्छ । तीनै एन्टेनाले इन्टरनेट सिग्नल कुन दिशातर्फ उपलब्ध गराउने भन्ने कुरा निर्धारण गरेका हुन्छन् ।

हामीले प्रायः वाई-फाई राउटरको सिग्नलले ९० डिग्री अर्थात् सिधा माथि पारेर राखेका हुन्छौं ।

त्यसको सट्टामा तपाईंले तेर्सो वा ठाडो पारेर राख्नसक्छौं । त्यस्तै कुन दिशामा बढी इन्टरनेट स्पिड आवश्यक पर्छ, त्यही दिशामा फर्काउन पनि सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३