close

दूरसञ्चार प्राधिकरण बोर्ड सदस्यमा रविन्द्र झा र गोकर्णप्रसाद सिटौला नियुक्त

टेकपाना टेकपाना

असार २२, २०७९ १७:६

दूरसञ्चार प्राधिकरण बोर्ड सदस्यमा रविन्द्र झा र गोकर्णप्रसाद सिटौला नियुक्त

काठमाडौं । नियामक नेपाल दूरसञ्चार प्राधिकरणको बोर्ड सदस्यमा प्राविधिकतर्फ रविन्द्र झा र लेखातर्फ गोकर्णप्रसाद सिटौला नियुक्त भएका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकाे उच्च स्राेतले दिएकाे जानकारी अनुसार रिक्त दुई पदमा झा र सिटौला नियुक्त भएका हुन् ।

यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्याल संयोजकत्वको सिफारिस समितिले प्राविधिक तथा लेखातर्फ गरी कूल ६ जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो ।

सिफारिस हुनेमा प्राविधिकतर्फ पवन पाठक, रविन्द्र झा र डा. राजिव सुब्बा रहेका थिए । त्यस्तै लेखातर्फ कुनाल कायाल, गोकर्णप्रसाद सिटौला र सुनिल जाकिबन्जा रहेका थिए ।

सिफारिस भएका यी मध्येबाट सरकारले प्राविधिकतर्फ झा र लेखातर्फ सिटौलालाई प्राधिकरणको बोर्ड सदस्यमा नियुक्त गर्न सिफारिस गरेको हो ।

नियुक्त हुने सिटौला र झा दुवै नेपाल टेलिकमका पूर्व नायब प्रबन्ध निर्देशक हुन् । यसअघि गत चैत १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले अर्यालको नेतृत्वमा सिफारिस समिति गठन गरेको थियो ।

समितिले प्राधिकरणमा प्राविधिक र लेखा तथा लेखापरीक्षण गरी दुई सदस्य नियुक्तिका लागि जेठ ५ गते एक सूचना प्रकाशित गर्दै दरखास्त आह्वान गरेको थियो । जसमा २० जनाले आवेदन दिएका थिए ।

आवेदन दिनेमध्येमा समितिले व्यावसायिक योजना र अन्तर्वार्ताका आधारमा दुवै पदका लागि तीन/तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३