close

चीनमा राइड शेयरिङ सेवा ‘दिदी’ लाई साढे १ खर्ब जरिबाना, अन्य कम्पनीमाथि पनि थप कडाइ

टेकपाना टेकपाना

साउन ७, २०७९ १३:१

चीनमा राइड शेयरिङ सेवा ‘दिदी’ लाई साढे १ खर्ब जरिबाना, अन्य कम्पनीमाथि पनि थप कडाइ

काठमाडौं । राइड हेलिङ कम्पनीहरूको डेटा संकलन र प्रयोगसम्बन्धी कार्यलाई चिनियाँ सरकारले थप कडाइ गरेको छ ।

गैरकानूनी रूपमा डेटा सङ्कलन र प्रशोधन गरेकोमा राइड हेलिङ कम्पनी ‘दिदी’लाई एक अर्ब २० कराेड डलर (करिब साढे एक खर्ब रूपैयाँ) जरिवाना गराएको एक दिनपछि चीनको यातायात मन्त्रालयले शुक्रबार अनलाइन राइड हेलिंग कम्पनीहरूकाे डेटा व्यवस्थापन गर्ने र सो डेटालाई नियामकसँग शेयर गर्नुपर्ने नियममा थप कडाइ गरेको छ ।

सन् २०१८ मा राइड हेलिङ कम्पनीहरूलाई नियमन गर्नका लागि जारी गरिएको नियमलाई नै संसोधन गरी डेटा सुरक्षाको गतिविधिलाई थप कडाइ गरिएको हो ।

संसोधित नियमले राइड हेलिङ प्लेटफर्महरूमा संकलन भएको प्रयोगकर्ताको डेटा कुनै व्यापारिक उद्देश्यका लागि प्रयोग गर्न नमिल्ने, कम्तिमा दुई वर्षका लागि सो डेटा चीनको डेटा सेन्टरमा नै स्टोर गरिनुपर्ने र यसलाई नियामकको अनुमति बिना बाहिरी कुनै संस्थालाई दिन नमिल्ने लगायतका नियमहरू थप गरिएको छ ।

यसका साथै डेटा अपडेट गरिरहनु पर्ने, डेटा सुरक्षा जोखिमबाट बच्न तत्काल नयाँ प्रणाली लागू गर्नुपर्ने, अनुमति बिना डेटा प्रयोग वा नष्ट गर्न नपाइने लगायतका नियम पनि थप गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३