close

नेपालमा कहाँबाट कसरी चल्दैछ इनड्राइभर ? यसो भन्छिन्, कम्पनीकी जनसम्पर्क अधिकृत

अर्पना आले मगर अर्पना आले मगर

साउन ११, २०७९ १९:५४

नेपालमा कहाँबाट कसरी चल्दैछ इनड्राइभर ? यसो भन्छिन्, कम्पनीकी जनसम्पर्क अधिकृत

काठमाडौं । इनड्राइभर सन् २०१३ मा स्थापना भएको अन्तर्राष्ट्रिय ‘राइड हेलिङ’ (यात्रुलाई उसैको गन्तव्यमा पुर्‍याउने सेवा) कम्पनी हो । संसारको सबैभन्दा न्यून तापक्रम भएको सहरको रूपमा परिचित रुसको याकुत्स्क सहरमा तत्कालीन युवाहरूले चिसोमा गाडीका लागि धेरै समयसम्म पर्खिनुपर्ने लगायतका समस्याहरू भोग्नु परेपछि समाधानको रूपमा इनड्राइभरको जन्म भएको थियो ।

यो कम्पनी अहिले विश्वका ४५ देशहुँदै नेपाल पनि आइपुगेको छ । सञ्चालनमा आएको छ महिनामै यो सेवा नेपालमा निकै लोकप्रिय भइसकेको छ । 

सन् २०१३ देखि नै सुरु भएको इनड्राइभरको सेवा सन् २०१८ पछि मात्र अन्तर्राष्ट्रिय रूपमा विस्तार हुन थालेको हो । ल्याटिन अमेरिका, अफ्रिका, मध्य पूर्व र एसिया क्षेत्रमा हाल यो सेवा सञ्चालनमा छ ।

इनड्राइभर विशेषगरी यात्रु र चालकबीच आपसी समझदारीमा भाडा तय गरी यात्रा गर्ने सेवाका लागि चर्चित छ । काठमाडौंमा पनि यो सेवाले अहिले गति लिइरहेको छ ।

तर नेपालमा कम्पनीको उपस्थिति, ग्राहक सेवा, चालक र यात्रुको प्रमाणीकरण, दुर्घटना प्रतिकार्य लगायतका विषय भने अस्पष्ट छ । यस्तोमा हामीले कम्पनीसँग ईमेल सम्पर्क गरी यस विषयमा बुझ्ने प्रयास गरेका थियौँ ।

दक्षिण एसियाका लागि इनड्राइभरकी जनसम्पर्क अधिकृत पावित नन्दासँग ईमेल संवाद र भर्चुअल कुराकानी भएको थियो । त्यसका बावजुत केही कुरा अझै अस्पष्ट लागेपछि उनले आफू नेपाल आउन लागेको र बाँकी कुरा भेटमै गर्ने बताएकी थिइन् ।

त्यसैअनुरूप नन्दासँग भौतिक उपस्थितिमा समेत कुराकानी गरी हामीले कम्पनीसँग सम्बन्धित विविध विषयहरू केलाउने प्रयास गरेका छौँ । इनड्राइभरको सेवा पियर-टु-पियर” (इन्टरनेट माध्यमबाट दुई पक्षलाई आपसमा जोड्ने प्रणाली) मूल्य निर्धारण अवधारणामा आधारित छ ।

जसले यात्रु र चालकहरूलाई प्रत्यक्ष रूपमा भाडाको विषयमा छलफल गरेर मात्र राइड लिने सुविधा दिन्छ । यसले कम्पनीको सेवालाई पारदर्शी र निष्पक्ष बनाएको नन्दा बताउँछिन् । 

अहिले विश्वमा सबैभन्दा धेरै डाउनलोड भएका राइड  हेलिङ एप मध्ये इन्ड्राइभर १३ करोड डाउनलोड सहित दोस्रो स्थानमा रहेको उनको दाबी छ । मुख्य कार्यालय अमेरिकाको क्यालिफोर्नियाको माउन्टेन भ्यूमा रहेको कम्पनीले सञ्चालन गरिरहेको इनड्राइभर हाल ४५ देशका ६४५ भन्दा बढी सहरमा उपलब्ध छ ।

सन् २०२१ मा ‘इन्साइट पार्टनर’, ‘जनरल क्याटालिस्ट’, र ‘बन्ड क्यापिटल’बाट १४ करोड डलर लगानी प्राप्त गरेपछि हाल यो कम्पनीको मूल्य एक अर्ब २३ करोड अमेरिकी डलर (करिब एक खर्ब ५६ अर्ब ६५ करोड रुपैयाँ) कायम भएको पावितको भनाई छ । 

नेपालमा कसरी चल्दैछ इनड्राइभर ?

अहिले यो कम्पनी नेपालमा भने ‘रिमोट वर्किङ’ (दूरसञ्चार तथा इन्टरनेटको सहयोगमा भिन्नै भौगोलिक स्थानबाट गरिने काम) व्यवसायिक मोडेलमा चलिरहेको छ । अर्थात कम्पनीको एउटा क्षेत्रीय हब रहेको छ, जहाँबाट त्यस क्षेत्रभित्र पर्ने सहरहरूको काम सञ्चालन हुन्छ ।

हाल नेपालमा यही मोडेलमा कम्पनीले काम गरिरहेको छ । इनड्राभरमा आवद्ध हुन चाहने सवारी चालकले भौतिक रूपमा कम्पनीको कार्यालयसम्म पुगिरहनु पर्दैन । मोबाइल एप डाउनलोड गरेर सम्पूर्ण विवरण अनलाइनबाटै भरेर प्रमाणीकरण भएपछि यो एप प्रयोग गर्न सकिन्छ । 

“अन्तर्राष्ट्रिय कम्पनीहरूले क्षेत्रीय हबहरूबाट सेवा सञ्चालन गर्ने प्रचलन सामान्य भइसकेको छ । यसका लागि स्थानीय स्तरमै कार्यालय हुनुपर्छ भन्ने छैन,” उनी दाबीका साथ भन्छिन्, “यो मोडेलमा सञ्चालन भएका धेरै कम्पनीहरू सफल भएका छन् । अहिलेको प्रविधिको युगमा “रिमोट वर्किङ” एउटा प्रभावकारी मोडेल हो र यसले नेपालमा पनि प्रभावकारी रूपमा काम गर्नेछ भन्ने हाम्रो विश्वास छ ।” 

क्षेत्रीय हबबाट काम गरेपनि सेवाको प्रभावकारिता र प्रयोगकर्ताको सुरक्षाको सुनिश्चितता कम्पनीले गरेको उनको दाबी छ । नन्दाका अनुसार इनड्राइभरले दक्षिण एसियाको क्षेत्रीय हब भारतलाई बनाएको छ ।

“भारतमा रहेको कम्पनीमा कर्मचारीहरूले सातै दिन चौबीसैं घण्टा सेवा दिइरहेका हुन्छन्,” उनी भन्छिन्, “राइडको समयमा कुनै समस्या आएमा चालक तथा प्रयोगकर्ताले तुरुन्त एपमार्फत नै कम्पनीलाई सम्पर्क गर्न सक्छन् ।”

“यसका साथै एपमै आकस्मिक सेवाको रुपमा नजिकको अस्पताल, प्रहरी कार्यालय लगायतका सम्पर्क रहने र कुनै घटना भएमा तत्काल सम्पर्क गर्न सकिने अवस्था छ ।”

के इनड्राइभर नेपालमा दर्ता नभएरै सञ्चालनमा छ ?

पछिल्लो समय इनड्राइभर नेपालमा दर्ता नै नभएको विषय एकदमै चर्चामा छ । रुसको सहरबाट सुरु भएर हाल अमेरिकामा मुख्य कार्यालयबाट सञ्चालित यो कम्पनीको नेपालमा कुनै कार्यालय छैन ।

आधिकारिक सम्पर्क गर्ने ठाउँ पनि छैन । नन्दा नेपालमा कम्पनीको टिम रहेको दाबी गर्छिन् । तर सो टिम कहाँ छ र त्यसमा कोको छन् भन्ने कुराको स्पष्ट छैन । 

सामाजिक सञ्जालहरूमा इनड्राइभर दर्ता बिना सञ्चालन भइरहेको र देशभित्र कार्यालय समेत नहुँदा यसले जोखिम बढाउनुका साथै देशलाई आर्थिक नोक्सानी भइरहेको टिकाटिप्पणी पनि भइरहेका छन् । 

“रिमोट वर्किङ मोडेलमा हामीले काम गरिरहेकाले हाम्रो सेवामा शङ्का गर्ने ठाउँ छैन । साथै नेपालमा हाम्रो सेवा विस्तार भएपछि हामी चाडै नै कार्यालय पनि स्थापना गर्छौँ,” उनी भन्छिन् ।

एउटा कम्पनीको रूपमा हामीले जहिले पनि सेवा नपुगेका क्षेत्रहरूमा प्रवेश गर्नतर्फ ध्यान केन्द्रित गरेका छौँ । वास्तवमा पूर्वी साइबेरियाको सहर याकुत्स्क र नेपालबीच समान परिस्थितिहरू भएकाले हामी विश्वास गर्छौँ कि इनड्राइभरको मोडेलले उहाँ प्रभावकारी रूपमा काम गर्नेछ र आर्थिक विकासलाई सहयोग पुर्‍याउनेछ ।”

दर्ताको विषय सरकारी काम भएकाले कहिलेसम्म पूरा हुन्छ भनेर ठ्याक्कै भन्न नसकिने तर्क नन्दाको छ । “यसका लागि कम्पनीको टोलीले काम गरिरहेको छ ।  चाँडै नै कम्पनी दर्ता भएर कार्यालय सहित सञ्चालनमा आउने छ,” उनी भन्छिन् । 

नेपालमा “इनड्राइभर ड्राइभर्स एन्ड पार्टनर्स” नामक एउटा फेसबुक ग्रुप छ, जसमा करिब १३ हजार सदस्य छन् । उक्त ‘पब्लिक ग्रुप’मा धेरैजसो इनड्राइभर राइडरहरूले आज दिनमा कहाँबाट राइड गरे, कति राइड गरे, कस्ताकस्ता घटना भए लगायतका कुराहरू शेयर गर्छन् ।

तर इनड्राइभर कम्पनीलाई भने नेपालमा मात्र कति राइडर दर्ता भएका छन् भन्ने जानकारी नै छैन । नन्दाका अनुसार विश्वभर इनड्राइभरमा करिब १३ करोड राइडर छन् । तर नेपालमा मात्रै कति छन् भन्ने प्रश्नमा भने उनीसँग स्पष्ट जवाफ छैन ।

उक्त फेसबुक ग्रुपमा पवनजङ्ग तिम्सिना नाम गरेका एक इनड्राइभर चालकले कम्पनीको फेसबुक पेजबाट ‘रिप्लाई’ आएको स्क्रिनशट शेयर गरेका छन्, जहाँ उनले आफ्नो समस्या बताएका छन् । उक्त पोस्टमा एक पटक नेपालीमा रिप्लाई गरिएको छ भने अर्को पटक अङ्ग्रेजीमा ।

नन्दाका अनुसार कम्पनीका कर्मचारीहरूले ‘रिमोट वर्क’ (घरबाटै) नेपालका गुनासा तथा समस्याहरू टिपोट गर्छन् । नेपालमा इनड्राइभरको नाममा थुप्रै नक्कली पेजहरू समेत खुलेको उनी बताउँछिन् । 

यस्तोमा चालक र प्रयोगकर्ताले कहाँ सम्पर्क गर्ने भन्ने समस्या भने यथावत नै छ । यद्यपि नन्दाले भने समस्या पर्दा सपोर्ट एट इनड्राइभर डटकम  मा ईमेल सम्पर्क गर्न सकिने जवाफ दिइन् । तर यो विधि धेरै प्रयोगकर्ता तथा राइडरका लागि न त खासै व्यवहारिक छ न त जानकारी नै । 

राइडर र प्रयोगकर्ता सुरक्षाको सवाल

नेपालमा हाल सञ्चालनमा रहेको ‘राइड शेयरिङ’ (यात्रु र राइडरको गन्तव्य एउटै भएमा खाली सिट शेयर गर्ने सेवा) को अवधारणामा चलिरहेका कम्पनी भन्दा इनड्राइभर फरक अवधारणा लिएर अगाडि बढिरहेको छ । राइडर र प्रयोगकर्ताको सुरक्षाका लागि राइड शेयरिङ कम्पनीहरूले नै दुर्घटना बीमा लगायतका व्यवस्था गरिरहेका छन् ।

तर इनड्राइभर भने यस किसिमका सुविधा नहुने ‘राइड हेलिङ’ मोडेलमा अगाडि बढेको छ । “हामी ट्याक्सी कम्पनी होइनौँ । बरु एउटा आईटी कम्पनी हौँ र हाम्रो सेवा प्रयोग गर्ने चालकहरू पनि हाम्रा प्रयोगकर्ता नै हुन् । हामी हाम्रो सेवा प्रयोग गर्ने सबै आफ्नो यात्राभर सुरक्षित होऊन् भन्ने कुराको सुनिश्चितता गर्न सक्दो प्रयास गरिरहेका छौँ । ट्राफिक नियम पालना गरेर हिँड्नु चालकको जिम्मेवारी हो,” उनी भन्छिन् ।

“यदि कुनै चालकको लापरवाहीले दुर्घटना भएको खण्डमा चालक नै जिम्मेवार हुनुपर्छ । तर यदि आकस्मिक दुर्घटना भएको हो भने कम्पनीले गर्नुपर्ने आवश्यक कारबाही हामी क्षेत्रीय हबबाटै अगाडि बढाउन सक्छौँ ।”

तर कम्पनीको यो अवधारणा नेपाली प्रयोगकर्तालाई भने खासै रुचेको छैन । सुरक्षाको विषयलाई लिएर अहिले इनड्राइभर बदनाम हुँदै गएको छ । इनड्राइभरको सेवाका क्रममा नेपालमा कयौँ घटना भइरहेका छन् ।

केही समय अगाडि मात्र इनड्राइभरका राइडरले यात्रुको विवरण लिएर ब्ल्याकमेल गर्दा पक्राउ परेका थिए । अर्को चालक दुर्घटना भएपछि यात्रुलाई छोडेर भागेका थिए । यस्ता घटनाको विषयमा भने नन्दा कम्पनी यात्रुको सुरक्षित यात्राको लागि प्रतिबद्ध रहेको जवाफ दिन्छिन् ।

“कुनै घटना भएको खण्डमा यात्रु आफैँले सोझै एपमार्फत प्रहरीमा सम्पर्क गर्न सक्छन्,” उनी भन्छन्, “साथै एपबाट नै कम्पनीलाई समेत रिपोर्ट गर्न सक्छन् । त्यसपछि कम्पनीले आवश्यक कारबाही अगाडि बढाउँछ ।”

तर चर्चामा आएका यी दुवै घटनामा भने कम्पनीले अहिलेसम्म आधिकारिक तवरमा कुनै कदम चालेको छैन । अहिले नेपालमा दुई पाङ्ग्रे र चार पाङ्ग्रे दुवै सवारीमा इनड्राइभर सेवा उपलब्ध छ । आफूहरू ‘राइड हेलिङ’ कम्पनी भएका कारण चालक र प्रयोगकर्तालाई जोड्ने काम गरेको उनी बताउँछिन् । 

के सधैँ कमिसन वा सेवाशुल्क शून्य होला ? 

हाललाई इनड्राइभर नेपालको बजार अध्ययनकै क्रममा छ । यस्तोमा आगामी दिनमा कम्पनीले आफ्नो आम्दानीको दायरा बढाउँदै लाने नन्दाको भनाई छ । हाल कम्पनीले आवद्ध चालकसँग कुनै प्रकारको कमिसन लिने गरेको छैन ।

अझै पनि बजार अध्ययनकै क्रममा रहेको र हाल व्यवसाय सुरु हुन बाँकी रहेकाले कमिसन उठाउने अथवा आम्दानी हुने किसिमका अन्य कुनै पनि काम नभएको उनले बताइन् । यद्यपि आगामी दिनमा भने कम्पनीले चालकसँग कमिसन उठाउने योजना रहेको उनले सुनाइन् ।

“व्यवसाय नगरीकन कम्पनी चल्न मुस्किल छ । अहिले हामी बजार अध्ययनकै क्रममा भएकाले कुनै कमिसन लिएका छैनौँ । तर चाँडै नै कमिसन समेत लिने योजना छ । तर अन्य कम्पनीहरूको तुलनामा भने हाम्रो कमिसन थोरै हुनेछ,” उनले भनिन् ।

इनड्राइभर सञ्चाल‍नमा रहेका ४५ ओटा देशमध्ये हाल सबैभन्दा कम कमिसन भारतमा रहेको उनको भनाई छ । अहिलेसम्म इनड्राइभरले १० प्रतिशत भन्दा धेरै कमिसन नलिने नीति भएकाले नेपालमा पनि सोही अनुसार अगाडि बढ्ने कम्पनीको योजना छ । कम्पनीले भारतमा ९ प्रतिशत कमिसन राखेको छ । 

नेपालका लागि के छ कम्पनीको भावी योजना ?

नेपालमा हाल इनड्राइभर काठमाडौं उपत्यकामा मात्र सीमित छ । आगामी दिनमा भने कम्पनीले आफ्नो सेवा अन्य जिल्लामा समेत विस्तार गर्ने नन्दाको भनाई छ ।

“नेपाली बजारको अध्ययन सकिएको छैन । उपत्यका बाहेक अन्य कुनकुन जिल्लामा हामी सेवा सञ्चालन गर्न सक्छौँ भन्ने कुरामा पनि अध्ययन भइरहेको छ,” उनले भनिन्, “तीन करोड जनता भएको देश नेपालमा राइड हेलिङ सेवाको राम्रो भविष्य छ । यस हिसाबले हामी नेपाली बजार प्रति आशावादी छौँ ।”

भविष्यमा मानिसहरू आफ्नै सवारी प्रयोग गर्ने भन्दा पनि लागत साझा गरेर सवारी प्रयोग गर्ने अवधारणामा अगाडि बढ्ने विश्वास कम्पनीको छ । “आफ्नै सवारीभन्दा राइड हेलिङ सेवा सस्तो भएको खण्डमा मानिसहरूले पक्कै पनि यसैलाई छनौट गर्ने कुरामा म विश्वस्त छु,” उनी भन्छिन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३