close

इन्टरनेट किन स्लो भयो ? कारणमा यसो भन्छ क्लासिक टेक

टेकपाना टेकपाना

साउन १५, २०७९ १७:५७

इन्टरनेट किन स्लो भयो ? कारणमा यसो भन्छ क्लासिक टेक

काठमाडौं । तोकिए बमोजिम इन्टरनेट स्पिड नपाएको अनुभव तपाईंको पनि होला । धेरै इन्टरनेट प्रयोगकर्ताको साझा गुनासो हो यो ।

यसैबीच इन्टरनेट सेवा प्रदायक क्लासिक टेकले नेपालमा इन्टरनेट स्लो (सुस्त) हुनुका प्रमुख ६ कारण खुलाएको छ ।

इन्टरनेट प्याकेज

इन्टरनेट स्लो हुनुमा इन्टरनेट प्याकेजले पनि मुख्य भूमिका खेलेको हुन्छ । अहिले एउटै मोबाइलबाट इन्टरनेट प्रयोग गर्दा ८ देखि १० एमबीपीएस खपत हुने गर्छ ।

यसले गर्दा धेरै डिभाइस इन्टरनेटमा निर्भर हुन्छन् । त्यसका लागि उच्च गतिको इन्टरनेट स्पिड (२२५ एमबीपीएस माथिको) आवश्यक हुन्छ ।  

इन्टरनेट बाँड्नु

धेरैजसोले इन्टरनेट शेयरिङ गरेर चलाउँछन्, जति धेरै प्रयाेगकर्ता भए, उति नै इन्टरनेट स्लो हुँदै जान्छ । त्यसका लागि होम प्याकेज इन्टरनेटलाई धेरैमाझ बाँड्नु हुँदैन ।

इन्टरनेट असुरक्षित हुनु

वाई-फाईको पासवर्ड जथाभावी बाँड्दा इन्टरनेट स्लो हुनुका साथै असुरक्षित हुने गर्दछ । त्यसका लागि प्रयोगकर्ताले आफ्नो युजर एप्लिकेसनका माध्यमबाट पासवर्ड परिवर्तन, राउटर रिस्टार्ट गर्नुपर्ने हुन्छ ।

त्यस्तै यस्तो युजर एप्लिकेसनका माध्यमबाट वाई-फाईमा कनेक्ट भएका डिभाइस हेर्न, अनावश्यक डिभाइस ब्लक गर्न र सपोर्ट टिकट पाउन सकिन्छ ।

उच्च अप्टिकल पावर

फाइबर केबलबाट राउटरसम्म आउने सिग्नललाई अप्टिकल पावर भन्ने गरिन्छ । सामान्यतः अप्टिकल पावर १४ देखि २४ डीबीएम (डेसील मिल्लिवाट्स) सम्म हुने गर्दछ ।

यदि अप्टिकल पावर माथि उल्लेख गरिएको भन्दा धेरै भएमा इन्टरनेट स्लो हुने गर्दछ । केही इन्टरनेट सेवा प्रदायकले युजर एप्लिकेसनमार्फत अप्टिकल पावर हेर्ने सुविधा दिएका हुन्छन् ।

राउटरको स्थान गलत भएको अवस्थामा

इन्टरनेट स्लो हुनुका पछाडि राउटर कहाँ राखिएको छ भन्ने कुराले धेरै प्रभाव पारेको हुन्छ । राउटर सबै बस्ने स्थानको बीचमा पर्नेगरी राख्दा सोचे अनुकूलको इन्टरनेट स्पिड पाउन सकिन्छ ।

कुन ठाउँमा वाई-फाई राख्दा कति इन्टरनेट स्पिड आउँछ भन्ने कुरा आफै पनि परीक्षण गर्न सकिन्छ । यदि वाई-फाई भएको ठाउँबाट टाढा बस्नुपर्ने अवस्था छ भने वाई-फाई एक्सटेन्डेड प्रयोग गर्न सकिन्छ ।

स्लो वा पुराना उपकरणहरू

इन्टरनेट स्लो हुनुका पछाडि सधैँ वाई-फाईमा समस्या हुन्छ भन्ने हुँदैन । तपाईंले प्रयोग गर्नुभएको डिभाइसका कारण पनि कतिपय अवस्थामा इन्टरनेट स्लो भइरहेको हुन्छ ।

यदि तपाईंले प्रयोग गरिरहेका डिभाइस जस्तै; कम्प्युटर, फोन, ट्याबलेट पुरानो भएका छन् भने अहिले उपलब्ध इन्टरनेट स्पिड प्रोसेस नगर्न सक्छन् ।

त्यस्तै राउटर पनि पुरानो मोडलको छ भने पनि इन्टरनेट स्लो हुने समस्या आइरहेको हुन्छ ।

उत्कृष्ट इन्टरनेट स्पिड अनुभव गर्न आफ्नो राउटरलाई फाइभ गिगाहर्ज डुअल ब्याण्ड राउटरमा अपग्रेड गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३