close

सजिलो सेवामा नयाँ सुविधा, अब अनलाइनबाटै फोटोग्राफरदेखि ड्राइभर बुक गर्न मिल्ने

टेकपाना टेकपाना

भदौ १४, २०७९ १६:९

सजिलो सेवामा नयाँ सुविधा, अब अनलाइनबाटै फोटोग्राफरदेखि ड्राइभर बुक गर्न मिल्ने

काठमाडौं । घर, अफिस, होटल तथा अन्य संघसंस्थाका लागि अनलाइनमार्फत परामर्श तथा मर्मत सेवा दिँदै आएको स्टार्टअप कम्पनी सजिलो सेवाले विभिन्न पाँच सुविधा थप गरेको छ ।

आगामी शुक्रबार आफ्नो आधिकारिक एप सार्वजनिक गर्दै सजिलाे सेवाले यी सुविधा उपलब्ध गराउने जानकारी दिएकाे छ ।

टेकपानासँग कुरा गर्दै सजिलो सेवाका सह-संस्थापक कविश श्रेष्ठले भने, “हामीले हरेक महिना उपभोक्ताको मागलाई सम्बोधन गर्दै विभिन्न सेवा थप गरिरहेका छौँ । आगामी हप्ता एप लन्च गर्ने कार्यक्रम रहेकाले त्यसअघि नै थप सेवा उपलब्ध गराउने योजना छ ।”

सजिलो सेवाले थप गरेका पाँच ओटा सेवामध्ये एक हो, लुगा धुने सेवा । उपभोक्ताले सजिलो सेवाको साइटमार्फत् लुगा धुनका लागि घरमै मानिसहरू बोलाउन सक्छन् ।

त्यस्तै सजिलो सेवाले फोटोग्राफी सेवा पनि थप गरेको छ । विशेषगरी विभिन्न कार्यक्रममा फोटोग्राफरको आवश्यकतालाई माग गर्दै यो सेवा ल्याएको श्रेष्ठले जानकारी दिए । वैवाहिक समारोह, व्रतबन्ध, स्कुलका कार्यक्रमका लागि सजिलो सेवाबाट फोटोग्राफर बोलाउन सकिन्छ ।

त्यस्तै सजिलो सेवाले ‘ड्राइभर अन कल’ सेवा पनि थप गरेको छ, जसका माध्यमबाट आफूलाई आवश्यक परेको समयमा ड्राइभर राख्न सकिन्छ ।

‘आफूसँग गाडी छ, तर केही कारणले चलाउन पाइरहनु भएको छैन भने दिन, हप्ता वा महिनाका लागि ड्राइभर राख्न सक्नुहुन्छ । यो सेवा पनि सजिलो सेवाको साइट तथा मोबाइल एप्लिकेसनबाट लिन सकिन्छ,’ श्रेष्ठले भने ।

यसैगरी सजिलो सेवामा ‘इभेन्ट मेनेजमेन्ट’ कार्यक्रम पनि समावेश गरिएको छ । कुनै पनि कार्यक्रम जस्तै; बिहे, जन्मदिन उत्सव लगायत अन्य कार्यक्रम व्यवस्थित तरिकाले सम्पन्न गर्नु छ भने तपाईंले सजिलो सेवाको यो सेवा उपयोग गर्न सक्नुहुन्छ ।

यस सेवाअन्तर्गत कार्यक्रम सजावट, कार्यक्रम आयोजना, फोटो तथा भिडिओग्राफी सेवाहरू रहेका छन् । त्यस्तै सजिलो सेवाले थप गरेको अर्को सेवा हो ‘हेल्थ याट होम’ ।

यस सेवा अन्तर्गत तपाईंले घरमा नै विभिन्न स्वास्थ्य सेवाहरू जस्तै रगत जाँच, पीसीआर परीक्षण, मल मूत्र परीक्षण लगायत यस्ता विभिन्न सेवा घरबाटै लिन सकिन्छ । त्यसका लागि तपाईंले सजिलो सेवामार्फत यो सेवा अर्डर गर्नुपर्ने हुन्छ ।

समय अनुसार उपभोक्ताको मागलाई सम्बोधन गर्दै यि सेवाहरू ल्याएको श्रेष्ठले जनाएका छन् ।

“उपभोक्ताले हरेक सेवा घरबाटै पाउन सकुन् भन्ने विचारले हामीले यस्ता सेवा ल्याइरहेका छौँ,” उनले भने, “अबको केही दिनमा हामी एप सार्वजनिक गर्दै छौँ । त्यसपछि सजिलो सेवाका हरेक सेवा एपबाट नै लिन सकिन्छ ।”

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३