close

नेपाली फ्री फायर टिम वी ब्रोजको संघर्षको कथा

गणेश सुवेदी गणेश सुवेदी

भदौ २५, २०७९ १६:२१

काठमाडौं । पछिल्लो समयमा नेपालमा मोबाइल ब्याटल रोयल गेमले राम्रो लोकप्रियता कमाइरहेका छन् । सामान्यतया यसलाई मोबाइलमा अनलाइनको माध्यमबाट खेलिने खेल, जसको अन्त्यमा टिकेर एकजना मात्र खेलाडी अथवा ग्रुप विजेता हुने खेल भनेर बुझ्ने गरिन्छ ।

यस्ता मोबाइल ब्याटल रोयल गेममध्ये नेपालमा पब्जी र फ्री फायर धेरै रूचाएकाे पाइन्छ । पब्जी मोबाइलले व्यावसायिकता पाइरहँदा फ्री फायर पनि यही बाटाेमा मोडिएकाे छ ।

फ्री फायर खेलाडीले नेपालको प्रतिनिधित्व हुने खालको प्रतियोगिताको माग गरिरहेका बेला केही समयअघि मात्रै ‘नेपाल फ्री फायर च्याम्पियनसिप’ आयोजना भयो । यसपछि फ्री फायर ई-स्पोर्टस पुन: तङ्ग्रिन थालेको छ ।

खेलाडीहरु विस्तारै विभिन्न प्रतियोगितामा व्यस्त हुन थालेका छन् । बदलिँदाे समयसँगै खेलाडीहरूको भूमिका पनि बदलिँदैछ । यसका एक उदाहरण हुन्, विशाल भट्टराई । 

पोखराका भट्टराई ‘वी ब्रोज’ नामक फ्री फायर टिमको व्यवस्थापक हुन् ।

कुनै समय आफैँ प्रतियोगिता खेल्ने उनी आजभोलि अरुको लागि प्रतियोगिता आयोजना गर्न व्यस्त छन् ।

२० वर्षीय उनलाई अहिले फ्री फायर गेमिङ कम्युनिटीमा नचिन्ने कमै होलान् ।

तीन वर्ष अगाडि उनी समय कटाउन फ्री फायर खेल्ने गर्थे । पछि यो खेल नै पेशा हुन्छ भन्नेबारे उनी आफैंलाई पनि थाहा थिएन ।

“फ्री फायरको बारेमा पहिला केही थाहा थिएन । टाइमपास गर्न दिनमा केही घण्टा खेलिन्थ्यो । गेममा गयो, गाडी चलायो, हिँड्यो, त्यही नै गेम हो जस्तो लाग्थ्यो ” उनी सुरूवाती दिन सुनाउँछन् ।

यसरी नै खेल्दा उनको गेम राम्रो हुँदै गइरहेको थियो । उनी प्राय सोलो (एक्लै) गेम खेल्थे ।

यसैक्रममा सोलो प्रतियोगितामा उनको ध्यान जान थाल्यो । उनले पहिलो पटक अनम लामा (नेपाली ई-स्पोर्टस खेलाडी तथा युट्युबर) ले गरेको सोलो प्रतियोगितामा प्रतिस्पर्धा गरे र त्यसमा जीत हात पार्न सफल भए ।

त्याे जीतले उनलाई अनम लामासँग खेल्ने अवसरका साथै फ्री फायरकाे पुरानो नेपाली गुइल्ड (गेमभित्रको टिम वा समूह) मध्येको एक चर्चित नेपथ्य (फ्री फायर गुइल्ड) मा समावेश हुने अवसर जुरायो ।

अनम लामासँग खेल्न थालेपछि उनले अनमसँगै मिलेर नेपालसहित भारत तथा बङ्गलादेशका टिमलाई सहभागी गराई विभिन्न प्रतियोगिता आयोजना गर्न थाले ।

विस्तारै उनलाई प्रतियोगिता खेल्नभन्दा आयोजना गर्न रमाइलो लाग्न थाल्यो । अहिले पनि उनी यही बाटोमा हिँडिरहेका छन् ।

उनको अधिकांश समय प्रतियोगिताकै लागि स्पोन्सर र ब्रान्ड खोज्न बित्ने गरेको छ । 

कसरी सुरु भयो वी ब्रोज ?

प्रतियोगिता आयोजना गर्नको लागि मात्र हाेइन, विशाल, टिम व्यवस्थापन गर्ने कुरामा पनि उत्तिकै अगाडि छन् ।

उनले ‘वी ब्रोज’ नाम दिएर आफ्नै फ्री फायर टिम बनाए । नेपालकाे सफल फ्री फायर टिममध्ये वी ब्रोज पनि एक हो ।

‘वी ब्रोज’ नाम पछाडि खास ठूलो अर्थ केही पनि छैन ।  टिमको नाम वी ब्रोज ख्यालख्यालै राखिएको उनी सुनाउँछन् ।

“पहिला हामी सबै ‘सुपरफेमिली’ भन्ने टिमबाट खेल्ने गरेका थियौं । पछि हामी आफैं टिम बनाएर किन नखेल्ने भन्ने सोच आएर ‘वी ब्रोज’ बनाएका हौँ । सुरुमा याे टिममा म, सुजल राना (राजा), रुजन महर्जन (रुजन) र प्रज्ज्वल ढकाल (स्टाल्कर) मात्र थियौँ । केही समयपछि रोहित सराफ (रोहित), सुप्रिम श्रेष्ठ (सुप्रिम), करण कार्की (पोइजन) र किरन गुरुङ (ड्र्यागो) पनि जोडिए, ”उनले भने ।

“पहिला रोहित र ड्रयागो मेरो साथीको टिम ‘फायर फल्याइज’बाट खेल्थे । नेपाललाई त्यति बेलासम्म फ्री फायरले कुनै पनि आधिकारिक प्रतियोगिता दिएको थिएन । हामीले भारतीय प्रतियोगिता मात्र खेल्नुपर्ने बाध्यता थियो।  त्यसैले प्रतियोगिता खेल्नकै लागि हामी ‘टु वी गेमर’को टिम ‘एनएक्सटी’मा जोडियौं ।”

केही समयपछि खेलाडीहरुलाई भारतको एक नम्बर युट्युबरको टिम ‘टोटल गेमिङ’बाट अफर आयो । त्यसपछि उनीहरुले राम्रो अवसरको लागि उताबाट पनि खेल्न सुरु गरे ।

तर भारतमा फ्री फायर प्रतिबन्धमा परेसँगै नेपाली खेलाडीको लागि अर्को समस्या पैदा भयो ।

एकातिर नेपालमा व्यावसायिक खेल हुन सकेको थिएन, अर्कोतिर भारतमा पनि प्रतिबन्ध भएपछि भारतीय टिमबाट खेलिरहेका  खेलाडीलाई अब के गर्ने भन्ने दुविधा बढ्याे । सबै खेलाडी अन्यौलमा थिए ।

त्यसैबेला विशालले पुन: ‘वी ब्रोज’लाई खडा गर्छु भन्ने सोच बनाए ।

उनले भारतीय टिमबाट खेलिसकेका नेपाली खेलाडीलाई वी ब्रोजमा जोडे । टिममा ड्र्यागोसहित रोहित, पोइजन र सुप्रिम पनि जोडिए ।

टिममा उनीबाहेक अन्य पाँचजना खेलाडी संलग्न भए । तर त्यतिबेलासम्म पहिला रहेका खेलाडी राजा र रुजनले टिम छोडिसकेका थिए ।

टिमबाट नियमित खेलाडीको रुपमा ड्र्यागो, रोहित, सुप्रिम र पोइजन देखिन थाले ।

पहिलेका नियमित खेलाडी रहेका स्टाल्कर पाँचौ खेलाडीको रुपमा खेल्न थाले । भारतीय टिमबाट खेलेको अनुभव खेलाडीमा भएको हुनाले टिमको प्रदर्शन पहिलाको भन्दा झनै राम्रो हुँदै गयो ।

यसैबीच पहिलो पटक फ्री फायरले नेपालका लागि आधिकारिक प्रतियोगिता ‘फ्री फायर नेपाल इन्भिटेसनल’ घोषणा गर्‍याे ।

यो प्रतियोगिता युट्युबरहरुको टिमबीच हुँदै थियो । त्यसैले वी ब्रोजले यो प्रतियोगिता ‘अभिषेक वाइटी’ नामले खेल्ने भयो । यो प्रतियोगितामा अभिषेक वाइटी नामले खेलेको टिम वी ब्रोजले ठूलो अन्तरको साथ प्रतियोगिता जित्यो ।

त्यसपछि भएको प्रतियोगिता ‘फ्री फायर नेपाल च्याम्पियनशिप’मा पनि टिमले राम्रै प्रदर्शन गर्‍याे ।

“अब हाम्रो लक्ष्य भनेको फ्री फायरको वर्ल्ड सिरिज खेल्ने छ । जसरी हुन्छ, वर्ल्ड सिरिजमा नेपालको झण्डा फर्फराउनु छ,” विशाल आफ्नो याेजना सुनाउँछन् ।

फ्री फायर गेमिङ कम्युनिटीको अवस्था

नेपालको पब्जी ई-स्पोर्टस ग्रुपहरूबीच सहकार्य रहेपनि फ्री फायर गेमिङ कम्युनिटीबीच एकता नभएको उनकाे अनुभव छ ।

“पब्जीमा कुनै टिमले कुनै प्रतियोगिता जित्दा सबै टिमले शेयर गर्छन् । बधाइ दिन्छन् । कसैमा इगो देखिँदैन । फ्री फायरमा त्यस्तो छैन,” उनी भन्छन् ।

नेपाल ई-स्पोर्टस एसोसियसन (नेसा) ले पनि अन्य गेमलाई जस्तो फ्री फायरलाई प्राथमिकता नदिएको गुनासाे उनकाे छ ।

परिवारको साथ

ई-स्पोर्टस यात्रामा उनलाई परिवारको राम्रो साथ छ ।

“मैले गेम खेले पनि घरको काममा पनि सघाउँथें । त्यसैले कहिले पनि गेम खेल्न रोक्नुभएन । पछि पछि मैले प्रतियोगिता गराउन थालेपछि आम्दानी पनि गर्न थालें । विस्तारै यो नै मेरो पेशा बन्न थाल्यो । त्यसैले अहिले त कराउने, गाली गर्ने कुरै भएन,” उनी भन्छन् ।

उनी फ्री फायरमा मात्र लागिरहेका छैन । पढाइलाई पनि निरन्तरता दिइरहेका छन् ।

अहिले उनी स्नातक तहमा पढिरहेका छन् । घरमा उनका दाइ पनि पब्जी खेल्छन् । दाइ पनि व्यावसायिक रुपमा ई-स्पोर्टसमा संलग्न भएपछि उनलाई सजिलो भएको छ ।

उनीजस्तै उनका दाइ पनि पब्जीमा प्रतियोगिताहरु गराउँछन् ।

उनीभन्दा पहिला नै दाइ पब्जीको गेमिङ कम्युनिटीमा जोडिएकाले दाइलाई आफ्नो प्रेरणाको पात्र मान्छन् ।

ई-स्पोर्टसमा नेपालको भविष्य

ई-स्पोर्टसमा नेपालको भविष्य छैन भन्ने धारणा बाहिर आइरहँदा उनले भने निरन्तर उपलब्धि हासिल गरिरहेका छन् ।

“ई-स्पोर्टसमा सबैको भविष्य नहोला । तर गेम खेल्नेमध्ये पाँच/दश प्रतिशतले पेशेवर रूपमै यहाँ सफलता पाउन सक्छन्,” उनी भन्छन् ।

सरकारले ई-स्पोर्टसलाई प्रतिबन्ध हाेइन, प्रवर्द्धन गर्नुपर्ने उनको भनाइ छ ।

ई-स्पोर्टसको प्रवर्द्धनका लागि सरकारले ठूला युट्युबर, प्रतियोगिता आयोजक तथा अन्य यसै क्षेत्रमा लागेका व्यक्तिसँग छलफल गरेर काम गर्नुपर्नेमा उनकाे जाेड छ ।

ई-स्पोर्टस वा गेमिङमा जोडिन चाहनेले आफ्नो पढाइ र कामलाई नै पहिलो प्राथमिकता दिनुपर्ने उनको सुझाव छ ।

“यदि तपाईँ ई-स्पोर्टसमा आउन चाहनुहुन्छ भने पहिलो प्राथमिकता आफ्नो पढाइ वा कामलाई नै दिनुहाेस् । अहिले प्रायजसो दिनभर नै  प्रतियोगिता भइरहेका हुन्छन् । आफ्नो समय भएको बेला आफ्नो टिम बनाएर खेल्न सक्नुहुनेछ”, उनी भन्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३