close

नेपाललाई प्रविधिको दौडमा पछाडि छुट्न नदिन फाइभजी सुरु गर्नैपर्ने भएको छः सञ्चार सचिव अर्याल

टेकपाना टेकपाना

असोज ४, २०७९ १२:४

नेपाललाई प्रविधिको दौडमा पछाडि छुट्न नदिन फाइभजी सुरु गर्नैपर्ने भएको छः सञ्चार सचिव अर्याल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले नेपाललाई प्रविधिको दौडमा पछाडि पर्न नदिन फाइभजी प्रविधि सुरु गर्नैपर्ने आवश्यकता रहेको बताएका छन् ।

मङ्गलबारदेखि काभ्रेको धुलिखेलमा सुरु भएको एसिया प्यासिफिक टेलिकम्युनिटी (एपीटी) को तीन दिने कार्यशाला गोष्ठी उद्घाटन गर्दै सचिव अर्यालले यस्तो बताएका हुन् । 

कोभिड-१९ ले डिजिटल रूपान्तरणको महत्त्व स्थापित गर्न सकारात्मक भूमिका खेलेको उल्लेख गर्दै  उनले व्यावसायिक क्षेत्र, शिक्षा, सरकारी सेवा लगायतका क्षेत्रमा प्रविधिको प्रयोग बढेको बताए ।

“विश्वका विभिन्न देश फाइभजी र त्यस पछिको उन्नत प्रविधिको क्षेत्रका दिशामा अगाडि बढिरहेका छन्,” उनले भने, “नेपालले समेत त्यो गति पच्छ्याउन नसके पछाडि पर्ने अवस्था बन्छ ।”

यद्यपि पछिल्ला वर्षहरूमा नेपालले दूरसञ्चार सेवाको क्षेत्रमा उल्लेखनीय प्रगति गरेको सचिव अर्यालको भनाइ थियो । “केही वर्षअगाडि मोबाइल विलासिताका वस्तुको रूपमा लिने गरिन्थ्यो,” उनले अगाडि भने, “यति जटिल भौगोलिक बनावटका बावजुद हामीले सोच्दै नसोचेको किसिमले दूरसञ्चार सेवाको क्षेत्रमा सफलता प्राप्त गरेका छौँ ।” 

यद्यपि दूरसञ्चार सेवाको पहुँचसँगै सर्वसुलभता र विश्वसनीयतामा समेत ध्यान दिनुपर्ने चुनौती समेत उनले औँल्याए । प्राधिकरण र एपीटी दुवैको २५ औँ वर्षगाँठ यसै वर्ष परेको संयोगलाई सम्बोधन गर्दै उनले कार्यशालाका लागि नेपाल छनौट गरेकोमा एपीटी प्रति आभार पनि व्यक्त गरेका छन् ।   

यस्तै कार्यक्रममा बोल्दै प्राधिकरणका निर्देशक सुरेन्द्रलाल हाडाले​समग्र दक्षिण एसिया डिजिटाइजेसनमा अग्रसर भइरहेको र नेपाल पनि यो विकासबाट पछि नभएको उनले बताए ।

यद्यपि नेपालजस्तो भौगोलिक विविधता भएको देशमा भने भौगोलिक कठिनाइका कारण दुर्गम क्षेत्रमा सेवा पुर्‍याउन कठिनाई रहेको पनि उनले प्रष्ट पारे । 

भौगोलिक चुनौतीका बाबजुद पनि प्राधिकरणले ग्रामिण दूरसञ्चार विकास कोषको सहयोगमा देशको डिजिटाइजेसन अगाडि बढिरहेको र डिजिटल नेपालको फ्रेमवर्कमार्फत डिजिटल फाउन्डेसन फाइभजीको ट्रायल नेटवर्क स्थापनाको कार्य पनि अगाडि बढाइसकेको उनले जानकारी दिए ।  

No description available.




 

पछिल्लो अध्यावधिक: असोज ४, २०७९ १४:४०