close

डेड आइज गाइज: जसले नेपाली सहित विदेशी पब्जी टिम सम्हालिरहेको छ

गणेश सुवेदी गणेश सुवेदी

असोज ४, २०७९

काठमाडौं । पाँच वर्षअघिकाे त्याे समय, जुनबेला पब्जी, फ्रिफायर जस्ता ब्याटल रोयल गेम मोबाइलका लागि आएका थिए ।

यी गेम मोबाइलमा आउने बित्तिकै लोकप्रिय भए । भिन्न गेम शैलीका कारण युवा पुस्ताले यस प्रकारका गेम धैरै रुचायाे । यस प्रकारको आकर्षणबाट अभिषेक मगर (सिफु) पनि टाढा रहन सकेनन् ।

उनले पनि आफ्नो मोबाइलमा पब्जी खेल्न थाले । सुरु सुरुमा त उनी पनि अरु जस्तै रमाइलोका लागि पब्जी खेल्थे ।

विस्तारै गेममा नयाँ साथी जोडिन थालेपछि उनी टिम बनाएर खेल्न थाले । पहिला ‘फ्ल्याश’ नामको टिम बनाए । केही समयपछि नयाँ टिम ‘डेडआइज गाइज’ बनाए, जुन अहिले नेपालकै शीर्ष पब्जी टिममध्ये एक हाे । 

 

 कसरी बन्यो डेडआइज गाइज ?

सन् २०१९ मा ई-स्पोर्ट्सबाट देशलाई चिनाउने लक्ष्य लिएर स्थापना भएको 'डेडआइज गाइज'ले अहिले विभिन्न उपलब्धि पाएको छ ।

यो टिममा अहिले पब्जीबाहेक फ्रिफायर, एरिना अफ भ्यालोर र पब्जीकै मङ्गोलियन टिम वारियर्स पनि आबद्ध छ ।

नेपालमा नै बसेर सिफुले सबै टिम सम्हालिरहेका छन् । बिजनेसभन्दा पनि देशको प्रतिनिधित्व गर्ने हिसाबले याे टिम खडा गरेको सिफु सुनाउँछन् ।

टिमको नाम डेडआइज गाइज भने पब्जी खेल्दा पाएको ‘डेडआई’ टाइटलबाट राखेको उनी सुनाउँछन् ।

टिमको नाम जुराइसकेपछि उनलाई राम्रो खेलाडी चाहिएको थियो । खेलाडी राम्रो नभएसम्म देशको प्रतिनिधित्व गर्ने सपना हुँदैन भन्ने उनले बुझेका थिए । त्यसैले राम्रो टिम बनाउन उनले अन्य टिमका खेलाडीलाई पनि आफ्नो टिमबाट खेलाउन थाले ।

“सुरुवातमा टिम  डेडआइज गाइजबाट म, रमेश तासी गुरुङ (रेटेड), सिर्जन थापा (इल्युजन), विशाल राई (वाडु) र ‘सीजे’ खेल्ने गरेका थियौँ । अहिले त टिममा सबै परिवर्तन भइसकेको छ । अहिले टिममा मौसम गुरुङ (टुरुलभ), साहिल शर्मा (अनटप), तरुन रौनियार (चरी), विनय श्रेष्ठ(जोकर) र पुरानो खेलाडीमा इल्युजन मात्र छन्,” उनी भन्छन् ।

उनको टिम पहिलो पटक पब्जी मोबाइल क्लब ओपन (पीएमसीओ) २०२० मा छनोट भयो । यसमा टिमले राम्रै प्रदर्शन गर्‍याे । टिम यो प्रतियोगितामा चौंथो स्थान हासिल गर्न सफल भयो ।

यसपछि टिमले पब्जीका अन्य आधिकारिक प्रतियोगिताहरु पनि खेल्यो । त्यसमा पनि प्रदर्शन सन्ताेषजनक नै रह्यो ।

टिमले खेलेको पब्जीको पहिलो दक्षिण एसिया स्तरको पहिलो प्रतियोगितामा पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एसियामा राम्रो प्रदर्शन गर्न सकेन । यो प्रतियोगितामा टिम अङ्क तालिकाको अन्तिम स्थान अर्थात् २०औँ स्थानमा रहेको थियो । जसलाई उनी टिमको अहिलेसम्म कै कमजोर प्रदर्शन मान्छन् ।

तर यो प्रतियोगिताको केही समयपछि २०२० को अन्यतिर भएको प्रतियोगिता पब्जी मोबाइल प्रो लिग साउथ एसिया सिजन टु स्क्रिमको उपाधि जित्दै उत्कृष्ट पुनरागमन गर्‍याे ।

“यो ३-४ महिनाको बीचमा हामीले धेरै मेहनत गर्‍याैं । त्यसैले टिमले उत्कृष्ट प्रदर्शन गर्‍याे,” सिफु सुनाउँछन् ।

डेडआइज गाइजले यो प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तानका सबै टिमलाई हराउँदै प्रतियोगिताको उपाधि जितेको थियो । यसको एक महिनापछि नै टिमले नेपालमा भएको अर्को प्रतियोगिता पब्जी मोबाइल ग्लाडिएटर्स कोलिसियम शाेडाउनको उपाधि जित्यो ।

यसपछि पनि टिमले अन्य प्रतियोगिता खेलिसकेको छ । तर टिमको प्रदर्शनमा भने एकरूपता देखिएको छैन । तैपनि सिफु भोलिका दिनमा आफूहरुले झनै राम्रो खेल्ने राम्रो खेल्नेमा विश्वस्त छन् ।

अबको डेडआइज गाइजकाे योजना भनेको पब्जीसँगै मोबाइल तथा अन्य कम्प्युटर गेमका टिमहरू पनि जोड्ने रहेको उनी बताउँछन् ।

“सबै गेमको वर्ल्ड च्याम्पियनशिपमा आफ्नो टिम पुगेको हेर्ने लक्ष्य छ” उनी भन्छन् ।

उनले केही समयअघि मात्रै पब्जीबाट सन्यास लिएको घोषणा गरे । उनको अबको योजना भनेको कोच बनेर टिमहरूलाई सहयोग गर्ने रहेको छ ।

यसअघि पनि उनले सिकाउने काम भने गरेका छन् । आवश्यक पर्दा पब्जी टिम ज्यानमारा र इलिमेन्ट्रिक्सलाई पनि सहयोग गर्ने गरेको उनी बताउँछन् ।

“गेमभित्र मात्र हामी प्रतिस्पर्धी हाैं । बाहिर त साथी हौँ,” हाँस्दै उनी भन्छन् ।

अहिले डेडआइज गाइजले २५ जनाभन्दा धेरैलाई रोजगारी दिएको छ ।

नेपालसहित मङ्गोलियामा टिमले बुट क्याम्प सञ्चालन गरिरहेको छ, जहाँ खेलाडीहरुलाई आवश्यक पर्ने आधारभूत तथा अत्यावश्यक सबै सुविधा उपलब्ध गराइएको हुन्छ ।

बुटक्याम्पमा खेलाडीहरुलाई खाने बस्ने सुविधाको साथै जिम, स्विमिङ पुल, होम थेटरहरूकाे पनि सुविधा दिइएकाे छ ।

ई-स्पोर्ट्समा नेपालको भविष्य

उनी नेपालमा ई-स्पोर्ट्सकाे भविष्य देख्छन् ।

“फुटबल, क्रिकेटमा जस्तो धेरै लगानी ई-स्पोर्ट्समा चाहिँदैन । यो दिमागको खेल हो । त्यसैले यसमा नेपालको सम्भावना पनि अन्य खेलको भन्दा धेरै छ,” उनी भन्छन् ।

ई-स्पोर्ट्सको विकासका लागि काठमाडाैं महानगरले बजेट छुट्याएर राम्रो काम गरेको उनकाे बुझाइ छ ।

“ई-स्पोर्ट्स जस्तो कसैको ध्यान नगएको विधामा बजेट छुट्याइएकाे छ । त्यसका लागि मेयर बालेन शाहलाई धन्यवाद दिन चाहन्छु” उनले भने ।

पब्जी, फ्री फायर, डोटा टु जस्ता मोबाइल तथा कम्प्युटर गेमले नेपाल विदेशी मुद्रा पनि भित्र्याइरहेकाले यसलाई प्रतिबन्धभन्दा पनि प्रवर्द्धनमा सरकारले ध्यान दिनुपर्नेमा उनी जाेड दिन्छन् ।

साथै नेपाल ई-स्पोर्ट्स एसोसियसन (नेसा) ले पनि खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि काम गर्नुपर्ने उनको माग छ । यसबाहेक राष्ट्रिय खेलकुदमा ई-स्पोर्ट्सलाई समावेश गर्नको लागि पहल गर्नुपर्ने उनी बताउँछन् ।

अन्तरार्ष्ट्रिय प्रतियोगिता नेपालमा नै आयोजना गर्न सके पर्यटन उद्योग विकासमा पनि टेवा पुग्ने उनको विश्वास छ ।

ई-स्पोर्ट्समा आउन चाहनेलाई सुझाव

ई-स्पोर्ट्समा आउन चाहनेले पहिलाबाट नै टिम बनाएर खेल्दा राम्रो सहकार्य हुने उनका अनुभव छ । तर आधिकारिक प्रतियोगिता खेल्नका लागि टिम बनाउने हो भने राम्रो खेलाडी समावेश गरेर नै अगाडि बढ्न उनी सुझाव दिन्छन् ।

बजेट व्यवस्थापनको पाटो झनै महत्त्वपूर्ण भएकाले सुरुमा सकेसम्म स्पोन्सर जुटाएर अगाडि बढ्दा राम्रो हुने उनको धारणा छ ।