close

नेपाल टेलिकमको ई-सिमबारे जान्नैपर्ने ६ कुरा

टेकपाना टेकपाना

असोज ५, २०७९ १४:३३

नेपाल टेलिकमको ई-सिमबारे जान्नैपर्ने ६ कुरा

काठमाडौं । सरकारी स्वामित्वमा रहेको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले गत शुक्रबारदेखि ईम्बेडेड सिमकार्ड (ई-सिम) वितरण थालेको छ । पहिलो दिन टेलिकमले सुन्धाराको काउन्टरबाट मात्र ई-सिम उपलब्ध गराइरहेको थियो भने अहिले अन्य विभिन्न काउन्टरबाट उपलब्ध गराइरहेको छ ।

पछिल्लो समय ई-सिमको चर्चा बढेसँगै यसले सर्वसाधारणमा थुप्रै  अन्योलता सिर्जना गरेको पाइएको छ ।

ई-सिम के हो, यसले कसरी काम गर्छ? कुन डिभाइसमा ई-सिम सपोर्ट हुन्छ जस्ता विविध प्रश्नको उत्तर आइसकेका छन् ।

यद्यपि ई-सिमलाई लिएर मानिसहरूमा अझै पनि थुप्रै द्विविधा रहेको पाइएको छ । हरेक ई-सिमका समाचारमा टेलिकमले ई-सिम वितरण गरिरहेको छ भन्ने खबर एकातर्फ पढिरहेका छौँ भने अर्कोतर्फ ई-सिम भनेको डिभाइसमा पहिले नै जडित भएर आउने सिम हो भन्ने बुझिरहेका छौँ ।

वास्तवमा ई-सिम अर्थात् ईम्बेडेड सिम भनेको फोन निर्माण हुँदा नै निर्माता कम्पनीले जडान गरेको ई-सिम चिप हो ।

यो विश्वका सबै देशका लागि एउटै हुन्छ । तर, हरेक देशमा मोबाइल सेवा प्रदायक भिन्नाभिन्नै हुने भएकाले प्रयोगकर्ताले नयाँ सेवा प्रदायकको "ई-सिम प्रोफाइल" इन्स्टल गरेर एक्टिभेट गरेको हुनुपर्छ ।

टेलिकमले उपलब्ध गराएको क्यूआर कोड वा एसएमडीपी एड्रेस (SM-DP+Address) र एक्टिभेसन कोड प्रयोग गरेर तपाईँले आफ्नो डिभाइसमा ई-सिम एक्टिभेट गर्नुपर्ने हुन्छ ।

टेलिकमले वितरण गर्ने ई-सिम भन्नु नै टेलिकमले क्यूआर कोड एक्टिभेसन कोड उपलब्ध गराउनु हो । आज हामीले मानिसहरूमा भएका विभिन्न अन्योलतालाई प्रस्ट पार्ने प्रयास गरेका छौँ ।

ई-सिम प्रयोग गरेपछि फिजिकल सिम प्रयोग गर्न सकिन्छ कि सकिँदैन ?

टेलिकमबाट ई-सिम एक्टिभेट हुनासाथै भौतिक सिम डिएक्टिभेट हुन्छ । यसको अर्थ भौतिक सिमलाई नै ई-सिममा परिणत गर्नु हो ।

प्रयोगकर्ताले एउटा डिभाइसमा सोही नम्बरको ई-सिम र अर्को वा सोही डिभाइसमा भौतिक सिम प्रयोग गर्न सक्दैनन् ।

त्यसैले कुनै नम्बरको कि भौतिक सिम अस्तित्वमा हुन्छ कि ई-सिम अस्तित्वमा हुन्छ । एउटै नम्बरको भौतिक सिम र ई-सिम हुने कुरा असम्भव छ ।

ईसिममा डेटा र भ्वाइसको गुण्स्तर कस्तो हुन्छ ?

ई-सिम प्रयोग गर्न चाहनेलाई त्यसको गुणस्तर कस्तो हुन्छ भन्ने कुराको अन्योलता हुन सक्छ । नेपाल टेलिकमका सहप्रवक्ता रञ्जित लोहियाले ई-सिमको गुणस्तर र भौतिक सिमको गुणस्तरमा कुनै भिन्नता नरहने जानकारी दिएका छन् ।

भौतिक सिम प्रयोग गर्दा प्रयोगकर्ताले जुन गुणस्तरको इन्टरनेट तथा भ्वाइसको गुणस्तर पाउँछन् त्यही गुणस्तरको सेवा ई-सिममा पाइने उनको भनाइ छ । यसको अर्थ प्रयोगकर्ताले इन्टरनेट र भ्वाइसको गुणस्तरको कुरामा कुनै चिन्ता नलिएर निर्धक्क प्रयोग गर्न सक्छन् ।

एउटै मोबाइलमा कतिओटा ई-सिम प्रयोग गर्न सकिन्छ ?

हरेक मोबाइल निर्माता कम्पनीले ई-सिमका लागि छुट्टा छुट्टै व्यवस्था तयार पारेका हुन्छन् । यदि तपाईँको फोन ई-सिम सपोर्ट गर्ने रहेछ भने भने डिभाइस अनुसार थुप्रै ई-सिम प्रोफाइल बनाउन सकिन्छ । उदाहरणका लागि हामीले फेसबुकमा आफूले चाहेजति अकाउन्ट लगइन गर्न सक्छौँ ।

तर, एक पटकमा एउटा अकाउन्ट मात्र प्रयोग गर्न सकिन्छ । तत्कालै अर्को अकाउन्ट प्रयोग गर्नुपर्‍यो भने उक्त अकाउन्ट लगआउट गरी अर्को अकाउन्ट लगइन गर्न सक्छौँ ।

त्यसरी नै आफूले चाहेको ई-सिमको प्रोफाइल छानेर प्रयोग गर्न सकिन्छ । तर, एकपटकमा कतिओटा ई-सिम सक्रिय गराउने भन्ने कुरा हरेक डिभाइस अनुसार फरक फरक हुन सक्छ ।

हालसम्म औसतमा एउटा डिभाइसमा तीन ओटा ई-सिम प्रयोग गर्न सकिने बताइएको छ । त्यस्तै प्रायः फोनमा एक पटकमा एउटा मात्र ई-सिम प्रयोग गर्न सकिन्छ ।

ई-सिममा समस्या आयो भने भौतिक सिम प्रयोग गर्न सकिन्छ कि सकिँदैन ?

कतिपय अवस्थामा हामीले प्रयोग गरिरहेको ई-सिममा समस्या आइदिन सक्छ वा ई-सिम सपोर्ट गर्ने हाम्रो डिभाइस बिग्रिएको हुन सक्छ । त्यस्तो अवस्थामा हामी ई-सिमलाई पुनः भौतिक सिममा परिणत गर्न सक्छौँ ।

सो भौतिक सिमलाई पछि ई-सिममा समेत परिणत गर्न सकिन्छ । त्यसैले ई-सिम बिग्रियो भने निर्धक्क भौतिक सिम प्रयोग गर्न सकिने टेलिकमका सहप्रवक्ता लोहियाको भनाई छ ।

दुई ओटा भौतिक सिम प्रयोग गरेर ई-सिम प्रयोग गर्न सकिन्छ कि सकिँदैन?

यदि तपाईँको डिभाइसले ई-सिम सपोर्ट गर्ने रहेछ भने त्यसमा जति ओटा भौतिक सिम लाग्छ त्यति नै प्रयोग गर्न सकिन्छ ।

तर, सो फोनमा उही नम्बरको भौतिक सिम र ई-सिम प्रयोग गर्न सकिँदैन । त्यसबाहेक फोनमा जति ओटा ई-सिम र भौतिक सिम सपोर्ट गर्छ सबै प्रयोग गर्न सकिन्छ ।

एउटा मोबाइलमा दुई ओटा ई-सिम लिन मिल्छ कि मिल्दैन ?

ई-सिम सपोर्ट गर्ने फोनमा कम्तीमा तीन ओटा ई-सिम प्रोफाइल बनाउन सकिने बताइएको छ ।

यसको अर्थ तपाईँले एउटै मोबाइलमा तीन ओटासम्म ई-सिम प्रोफाइल तयार पार्न सक्नुहुन्छ । तर, एकपटकमा एउटा मात्र ई-सिम सक्रिय हुन्छ ।

 

पछिल्लो अध्यावधिक: असोज ७, २०७९ १३:११