close

घरमा प्रयोग हुने वाई-फाईमा किन आवश्यक छ गेस्ट मोड ?

टेकपाना टेकपाना

असोज १९, २०७९ ७:५९

घरमा प्रयोग हुने वाई-फाईमा किन आवश्यक छ गेस्ट मोड ?

काठमाडौं । पछिल्लो समय वाई-फाई इन्टरनेटको प्रयोग तीब्र भएको छ । घर, कार्यलय, सार्वजनिक स्थान जहाँ कहीँ वाई-फाई उपलब्ध छ । हामी मध्ये धेरैको घरमा वाई-फाई जडान गरिएको छ होला । घरमा कोही पाहुना आए वा नयाँ मान्छे आए भने सबैभन्दा पहिले वाई-फाईको पासवर्ड खोज्ने परिपाटि बढेको छ ।

तपाईँलाई त्यस्तो नलाग्न सक्छ । तर, तपाईँको घरमा भएको सबैभन्दा व्यक्तिगत सामग्रीमध्ये राउटर पनि एक हो । जति ख्याल तपाईँले आफ्नो व्यक्तिगत फोनको गर्नुहुन्छ । त्यतिकै ख्याल राउटरको पनि गर्नुपर्ने हुन्छ । तपाईँको घरबाट इन्टरनेटमा जाने ट्राफिक सबै त्यही सानो डिभाइसबाट गएको हुन्छ ।

यही कारणले पनि तपाईँले घरमा भएको राउटरलाई विभिन्न तरिकाबाट सुरक्षित राख्नुपर्ने हुन्छ । अन्य व्यक्तिबाट राउटर बचाउन कुनै सशुल्क सेक्युरिटी सब्सक्रिप्सन लिन आवश्यक छैन् । त्यसका लागि तपाईँले गेस्ट मोड राखिदिए पुग्छ । यसले तपाईँको मुख्य नेटवर्कबाट फरक एसएसआईडी (सर्भिस सेट आइडेन्टिफायर) बनाउने गर्छ । जसमा छुट्टै वाई-फाई नेम, पासवर्ड र ट्राफिक तयार हुन्छ ।

गेस्ट मोडेलमा छुट्टै पासवर्ड र सेटिङ हुने गर्छ । यो मोड विशेषगरी एकपटक बनाएर अर्को पटक हटाइने गरी तयार पारिएको हुन्छ ।

त्यसका लागि सबैभन्दा पहिले वाई-फाईको एड्मिन पेजमा जानुहोस् । हरेक इन्टरनेट सेवा प्रदायक अनुसार वाई-फाईको एड्मिन पेज फरक फरक हुन्छ । त्यसैले एड्मिन पेजमा कसरी जाने भन्ने कुरा तपाईँले आफ्नो सेवा प्रदायकसँग सोध्न सक्नुहुन्छ ।

एड्मिन पेजमा गइसकेपछि त्यहाँ गेस्ट मोडको अप्सन हुन्छ । त्यसमा गएर वाई-फाईको नाम र पासवर्ड राख्नु पर्ने हुन्छ । त्यसपछि उक्त वाई-फाईको नाम बाहिर देखिन्छ । त्यसलाई डिलिट गरेको खण्डमा सो पासवर्डबाट कनेक्ट गरेको व्यक्तिको वाई-फाई स्वतः डिसकनेक्ट हुन्छ ।

 
छुट्टै नेटवर्क नेम र पासवर्ड हुनु भनेको तपाईँले आफ्नो घरमा आएका पाहुनालाई मुख्य नेटवर्कको विवरण नदिनु हो । यसो गर्दा तपाईँले आफ्नो मुख्य वाई-फाईको कुनै चिन्ता लिइरहन पर्दैन ।

पछिल्लो अध्यावधिक: असोज १९, २०७९ १६:५५