close

आईफोन १४ को उत्पादन खर्च आईफोन १३ को तुलनामा महँगो

टेकपाना टेकपाना

असोज २७, २०७९ १०:४

आईफोन १४ को उत्पादन खर्च आईफोन १३ को तुलनामा महँगो

काठमाडौं । एप्पललाई आईफोन १३ को तुलनामा आईफोन १४ सिरिजका मोडेल उत्पादन गर्न महँगो परेको छ । विशेषगरी आईफोन १४ प्रो सिरिजमा ए१६ बायोनिक चिप प्रयोग भएकाले लागत खर्च धेरै आएको हो । आईफोन १४ प्रो मोडेलमा प्रयोग भएको ए१६ बायोनिक चिपको उत्पादन खर्च १०० डलर पर्न जान्छ, जुन ए१५ बायोनिक चिपको तुलनामा २.४ गुणा बढी महँगो छ ।

एप्पलको निकेई टियरडाउनले एक प्रतिवेदन सार्वजनिक गर्दै आईफोन १४ सिरिजका मोडेलको निर्माण खर्च पछिल्लो आईफोन सिरिजभन्दा २० गुणा बढी भएको जनाएको छ ।

"उत्पादन खर्च धेरै भएपनि कम्पनीले अमेरिका लगायत अन्य बजारमा पछिल्ला मोडेलको मूल्य बढाएको छैन । यसबाट कम्पनीको नाफा घट्ने देखिन्छ," साे प्रतिवेदनमा उल्लेख छ ।

एप्पललाई आईफोन १४ प्रो म्याक्स उत्पादन गर्न ५०१ डलर (करिब ६६ हजार ४२० रुपैयाँ) लाग्छ, जुन आईफोन १३ प्रो म्यक्सको तुलनामा ६० डलर (करिब ८ हजार रुपैयाँ) बढी हो । नयाँ सिरिजको प्रो र प्रो म्याक्स मोडेलको खर्च बढी हुनुको प्रमुख कारण नै यसमा प्रयोग भएको ए१६ बायोनिक चिप हो ।

एप्पलले यसैलाई आधार बनाएर एप्पलले जापान तथा अस्ट्रेलियाजस्ता देशमा आईफोन १४ प्रो र प्रो म्याक्स मोडेलको मूल्य बढाएको छ । कम्पनीले अमेरिका लगायत अन्य केही विदेशी बजारमा भने मूल्य स्थिर नै कायम गरेको छ ।

आईफोन १४ प्रो र आईफोन १४ प्रो म्याक्समा प्रयोग भएको ए१६ बायोनिक चिपका कारण ती मोडेलमा डाइनामिक आइल्याण्ड, लामाे ब्याट्री लाइफ तथा फोटोग्राफी फिचरहरू समावेश छन् ।

यी मोडेलमा प्रयोग भएको ए१६ बायोनिक चिप र सिक्स-कोर सीपीयूका कारण यी मोडेलको कार्यक्षमता ४० प्रतिशत बढी रहेको कम्पनीको दाबी छ ।

त्यसैगरी ए१६ बायोनिक चिपमा फाइभ-कोर जीपीयू समावेश छ, जसले गर्दा मेमोरी ब्याण्डविथ ५० प्रतिशत बढी, परिष्कृत गेम तथा एप ग्राफिक्स रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २७, २०७९ १०:५