close

बिक्री प्रवर्द्धनलाई सघाउने नेपाली एप

टेकपाना टेकपाना

असोज २८, २०७९ १६:२६

बिक्री प्रवर्द्धनलाई सघाउने नेपाली एप

काठमाडौं । उद्योग, कलकारखाना तथा कम्पनीकाे  उत्पादन तथा सेवाको बिक्रीलाई अघि बढाउन 'डेल्टा सेल्स एप' सञ्चालनमा आएको छ । एप तथा वेबसाइट निर्माता कम्पनी डेल्टा टेक प्रालिले तयार पारेकाे यो एपले व्यवसायको बिक्री प्रवर्द्धनमा भूमिका खेलिरहेकाे कम्पनीकी सेल्स मेनेजर राखी झाले जानकारी दिइन् ।

"हामीले डेल्टा टेक कम्पनी सन् २०१५ बाटै सुरुवात गरेका थियौं । त्यसबेला हामी विशेषगरी एप, वेबसाइट तथा सफ्टवेयर निर्माणका केन्द्रित थियौं । त्यसपछि हामीलाई सेल्स एपको अत्याधिक माग आएपछि सन् २०१८ मा डेल्टा सेल्स एप बजारमा ल्याएका हौँ," उनले भनिन् ।

यस एपले विशेषगरी कुनै पनि उद्योग वा कम्पनीको उत्पादन तथा सेवालाई वैज्ञानिक तरिकाले व्यवस्थापन गर्न सघाउने उनकाे भनाइ छ । यसमा भएका अन्य विविध फिचरले कम्पनीमा आवश्यक पर्ने अतिरिक्त जनशक्तिलाई कम गर्ने झाको भनाइ छ ।

डेल्टा टेकको मुख्य उत्पादन डेल्टा सेल्स एप विशेषगरी फिल्ड सेल्सलाई नियमन तथा नियन्त्रण गर्न तयार पारिएको एप हो । यस एपले थोक बिक्रेता, वितरक, उत्पादक वितरण व्यवसायमा रहेका कम्पनीहरू तथा अन्य क्षेत्रहरूका लागी उपयोगी हुने उनको भनाइ छ ।

क्यानडा, अमेरिका, थाइल्याण्ड, केन्या, भारतका साथै अन्य देशहरूमा यसका एपका ग्राहक रहेकाे झाले बताइन् ।

उनी भन्छिन्, "एपका प्रायः प्रयोगकर्ता भारतमा छन् । यसबाट हालसम्म तीन हजार बढी कम्पनीले सेवा लिइसकेका छन् भने २० हजार बढी सक्रिय प्रयोगकर्ता छन् ।"

पछिल्लो अध्यावधिक: असोज २८, २०७९ १६:२६