close

सामाजिक सञ्जालले बर्बादीको बाटोमा युवा पुस्ता !

टेकपाना टेकपाना

मंसिर ७, २०७९

सामाजिक सञ्जालले बर्बादीको बाटोमा युवा पुस्ता !

काठमाडौं । कोठामा एक्लै रहेकाे युवा, वास्तवमा एक्लै बसिरहेको हुँदैन । कोठामा उसँग एउटा त्यस्तो शक्ति पनि हुन्छ, जसले उसको खाने, बस्ने, सुत्नेदेखि हरेक गतिविधि नियन्त्रण गरिरहेको हुन्छ । याे शक्तिले व्यक्तिको गतिविधिमा नजर लगाउने मात्र नभई आफूले चाहेका काम गर्न बाध्य पार्छ ।

यो अदृश्य शक्तिलाई व्यक्तिले आफैंसँग ल्याएको हुन्छ । वास्तवमा त्यो अदृश्य शक्ति उक्त मानिसमा भएको स्मार्टफोन हो ।

अहिलेको परिस्थितिमा सायदै कोही मान्छे यस्तो होला, जो सामाजिक सञ्जालमा नजोडिएको होस् । जस्तोसुकै स्मार्टफोन प्रयोग गर्ने व्यक्ति भएपनि उ कुनै न कुनै तरिकाबाट सामाजिक सञ्जालमा जोडिएको हुन्छ ।

अहिलेका युवा पुस्तासँग हुने स्मार्टफोनमा फेसबुक, इन्स्टाग्राम, ट्वीटर, टिकटक र युट्युब अवश्य नै हुन्छ । अहिले यी सामाजिक सञ्जाल यति शक्तिशाली भइसकेका छन् कि, अब सायदै कसैले यिनलाई विस्थापित गर्नसक्छ ।

पहिले सामाजिक सञ्जाल स्मार्टफोनका लागि बनाइन्थ्यो । अहिले यस्तो समय आएको छ, जहाँ सामाजिक सञ्जालका लागि स्मार्टफोन बनाइन्छ । जसरी दिन बितिरहेको छ, सामाजिक सञ्जालको शक्ति पनि दिनानुदिन बढिरहेको छ ।

विश्वको सबैभन्दा शक्तिशाली राष्ट्रको शक्तिशाली व्यक्तिले समेत सूचना दिन सामाजिक सञ्जालको प्रयोग गरिरहेका हुन्छन् । सामाजिक सञ्जालका माध्यमहरू निःशुल्क प्रयोग गर्न पाइन्छ भन्ने धेरैको बुझाइ हुन्छ ।

विभिन्न सूचना तथा मनोरञ्जन निःशुल्क पाउने हुँदा हामीले त्यसका नकारात्मक पक्षबारे खासै चासो राखेका हुँदैनौँ । तर, वास्तविकता हामीले सोचेको भन्दा धेरै फरक छ । हामीले त सामाजिक सञ्जाललाई उनीहरूको नामबाट चिनेका हुन्छौँ । तर, सामाजिक सञ्जालका कम्पनीले हामीलाई हाम्रो नामले नभई एउटा युनिक नम्बरबाट पहिचान गर्छ ।

उनीहरूले हरेक मानिसको पहिचान एउटा नम्बरबाट राखेका हुन्छन् । जसलाई आईडी भन्ने गरिन्छ । जसरी जेलमा कुनै कैदीलाई बन्धक बनाएर राखिएको हुन्छ । सामाजिक सञ्जालले पनि हामीलाई कैदी नै बनाएको हुन्छ । यो एउटा त्यस्तो जेल हो जो खुल्ला हुँदा हुँदै पनि हामी निस्किन सकिरहेका हुँदैनौँ ।

सामाजिक सञ्जाल र इन्टरनेटको विस्तारले यस्तो सम्म बनाइदिएको छ कि जति हामीले आफूलाई चिन्छौँ, त्योभन्दा बढी सामाजिक सञ्जालले चिनेको छ ।

सामाजिक सञ्जालका विभिन्न एप किन निःशुल्क प्रयोग गर्न दिइएको होला ? हरेक प्रयोगकर्ताको डेटा कसरी प्रयोग गरिएको छ होला ? उक्त डेटाको आडमा कम्पनीले कसरी अर्बौँ सम्पत्ति कमाइरहेका छन् ? कसरी सामाजिक सञ्जाल पछाडि रहेका रोबोटले मानिसको भावनालाई प्रयोग गरिरहेका छन् त ? र, कसरी यी कुरा नियन्त्रणभन्दा बाहिर गइसकेका छन्, जसलाई अब चाहेर पनि रोक्न सकिँदैन ?

सामाजिक सञ्जाल यति लत लाग्ने कसरी हुन्छन् ? सामाजिक सञ्जालको मेरुदण्डका रूपमा त्यस्ता मानिसहरू काम गरिरहेका हुन्छन्, जो प्रयोगकर्ताको ध्यान आफूतर्फ खिच्न खप्पिस हुन्छन् । यी मानिसहरूलाई अटेन्सन इन्जिनियर पनि भन्ने गरिन्छ । यी त्यही अटेन्सन इन्जिनियर हुन्, जसले क्यासिनोमा आकर्षक जुवा खेल डिजाइन गर्छन् ।

यी इन्जिनियर मानिसको दिमागसँग खेलेर त्यस्तो डिजाइन बनाउँछन् । यसलाई एक पटक प्रयोग गर्नासाथै प्रयोगकर्तालाई त्यसको लत लाग्छ । अरू जे भएपनि प्रयोगकर्ता आफ्नो प्लेटफर्ममा टाढा नजाओस् भन्ने सामाजिक सञ्जालको चाहना हुन्छ । कम्पनीहरू यससँग सम्बन्धित योजना बनाइ काम गरिरहेका हुन्छन् ।  

आफ्नो प्रशंसामा रमाउने मानिसको स्वभाव नै हो । आफ्नो तारिफ गरेको मन नपर्ने सायदै कोही होलान् । मानिसको यही स्वभावलाई लक्षित गर्दै सामाजिक सञ्जालमा लाइक, थम्ब्सअप, कमेन्ट गर्ने विकल्प दिइएको हुन्छ । जब पनि हामी सामाजिक सञ्जालमा आफ्नो फोटो वा कन्टेन्ट अपलोड गर्छौँ ।

त्यसपछि हामीलाई अरूले दिएको प्रतिक्रिया हेर्ने चाह हुन्छ । यसरी हामी सामाजिक सञ्जालमा बारम्बार फर्किरहेका हुन्छौँ । यदि आफूले अपलोड गरेको कन्टेन्टबारे वास्ता भएन भने पनि नोटिफिकेसन पठाएर हामीलाई मानिसहरूको प्रतिक्रिया हेर्न वाध्य पारिन्छ । यसको अर्थ जब पनि हामी आफ्नो फोनबाट टाढा जान खोज्छौँ, सामाजिक सञ्जालले हामीलाई आफूतर्फ तानिरहेको हुन्छ ।

हामीलाई एउटा प्रोग्रामसरह तालिम दिइएको हुन्छ, जसले बारम्बार सामाजिक सञ्जालमा फर्काउन बाध्य पार्छ ।

एउटा कुरा ख्याल गर्नुहोस् त, हाम्रो बारेमा कसैले नराम्रो भन्दा हामीलाई चित्त बुझ्छ ? पक्कै पनि बुझ्दैन । हो, सामाजिक सञ्जालमा संकेतका माध्यमबाट नराम्रो भन्ने अप्सन नै हुँदैन ।

जब हामी सामाजिक सञ्जाल चलाइरहेका हुन्छौँ, त्यो बेला हामीलाई योजनावद्ध रूपमा प्रोग्राम गरिएको हुन्छ भन्ने कुराको ख्याल हुँदैन । हामीले नचाहँदा पनि हाम्रो चाहना अनुसारको भिडिओ, फोटो वा घटना देखाइन्छ । सामाजिक सञ्जाल यसरी तयार पारिएको हुन्छ, जसलाई स्क्रोल गरेर कहिल्यै सकिँदैन । हरेक पटक नयाँ कुरा आउने भएपछि हामीलाई उक्त प्लेटफर्म झन्झटिलो कहिल्यै लाग्दैन ।

अर्को कुरा मानिस आफूलाई अर्को मानिससँग हरेक पक्षमा तुलना गरिरहन्छ । त्यसैले सामाजिक सञ्जालमा आफूलाई राम्रो देखाउन हामी अधिकतम प्रयास गर्छौँ । आफूलाई वास्तविक जीवनभन्दा राम्रो देखाउन सामाजिक सञ्जालमा फोटो फिल्टरको विकल्प राखिएको हुन्छ ।

यसको अर्थ, वास्तविक संसारमा मानिस जस्तो भए पनि सामाजिक सञ्जालमा धेरै नै खुसी देखिन्छ । वा आकर्षक देखिन्छ ।

जब हाम्रा साथीहरू हाम्रो जीवनको त्यो भाग देख्छन् जसलाई हामीले फिल्टर प्रयोग गरेर आकर्षक बनाएका हुन्छौँ, उनीहरू पनि हामीभन्दा पनि आकर्षक देखिने प्रयास गर्छन् । यसरी सामाजिक सञ्जालमा प्रयोगकर्ता दिनानुदिन प्रयोग गर्छन् ।

सामाजिक सञ्जालमा लाइक वा प्रशंसा पाउनका लागि हामी त्यो काम गर्न बाध्य हुन्छौँ जो हामी अन्य अवस्थामा प्रयाससम्म गर्दैनौँ । यो सबै लतका पछाडि हाम्रो स्वभावले भन्दा पनि कम्पनीको योजनावद्ध प्रोग्रामले ठूलो भूमिका खेलेको हुन्छ ।

यो योजनावद्ध प्रोग्राम कम्पनीले हामीबाटै गराएको हुन्छ ।

अर्को प्रश्न, त्यसो भए हामीलाई यसले के असर गर्छ त ? आखिर हामीले समय बिताउन पाएकै छौँ क्यारे । हो, सामाजिक सञ्जाल समय बिताउनका लागि उपयुक्त ठाउँ हो । सामाजिक सञ्जालले चाहेको पनि यही नै हो । हाम्रो महत्त्वपूर्ण समय कसरी आफ्नो बनाउन सकिन्छ भन्ने कुरामा सामाजिक सञ्जाल केन्द्रित हुन्छ । यो समय बिताउने कुरालाई लिएर औषधि विज्ञानले अनौठो तथ्य बाहिर ल्याएको हुन्छ ।

विज्ञहरू भन्छन्, जब कुनै पनि फोटो वा अन्य कन्टेन्ट अपलोड गर्छौँ, तब हाम्रो दिमाग आफ्नो तारिफ सुन्न प्रतीक्षा गरिरहेको हुन्छ । यसैले हामीलाई बारम्बार फोन प्रयोग गर्न वाध्य पार्छ । सामाजिक सञ्जालमा आफूले खोजेका कुरा जब भेटिन्छ तब हाम्रो दिमागमा विशेष किसिमको रसायन उत्पन्न हुन्छ, जसलाई 'डोपामिन' भनिन्छ ।

मस्तिष्कमा डोपामिन उत्पन्न हुँदा हामीलाई आनन्द आउँछ । सामाजिक सञ्जाल प्रयोग गर्दा जुन डोपामिन रिलिज हुन्छ, त्यसको क्षमता कोकिन ड्रग्सको जत्तिकै हुन्छ । मस्तिष्कमा डोपामिनको असर केही समयसम्मका लागि मात्र हुन्छ ।

केही समयपछि डोपामिनको असर कम हुन थालेपछि हामी पुनः उक्त असरको खोजी गर्छौँ । हामीलाई डोपामिन उपलब्ध गराउने साधन हामीसँग नभई सामाजिक सञ्जालको रोबर्टसँग हुन्छ । हाम्रो फोटो कतिबेलासम्म साथीको फिडमा देखाउने भन्ने निर्णय उक्त रोबोर्टले गर्छ ।

हामीले अपलोड गरेको फोटो जबसम्म हाम्रो साथीको फिडमा हुन्छ तब हाम्रो पोस्टमा लाइक वा कमेन्ट आइरहन्छ । यसरी लाइक कमेन्ट आउँदा हामीलाई डोपामिनको असर परिरहन्छ ।

तर, फोटो साथीको फिडमा जान छाडेपछि हाम्रो फोटो वा भिडिओमा लाइक, कमेन्ट आउन छोड्छ । त्यसपछि हामी त्यही लाइक कमेन्ट पाउनका लागि अर्को कन्टेन्ट अपलोड गर्छौँ । यसरी हामी सामाजिक सञ्जालमा बारम्बार फोटो अपलोड गरिरहन्छौँ । 

सामाजिक सञ्जालमा हामी त्यही काम गरिरहेका हुन्छौँ, जुन काम सामाजिक सञ्जाल हामीबाट गराउन चाहन्छन् ।

सामाजिक सञ्जालले यस्तो किन गर्छन् होला ? हाम्रो समयले उनीहरूलाई कसरी फाइदा हुन्छ ?

भनिन्छ, जुन उत्पादन हामीले निःशुल्क प्रयोग गरिरहेका हुन्छौँ, त्यसका लागि हामी नै एक किसिमको उत्पादन हुन्छौँ । अर्थात् हामीलाई नै ती कम्पनीले बेचिरहेका हुन्छन् । यसरी सामाजिक सञ्जाल निःशुल्क प्रयोग गर्न दिँदा कम्पनीलाई दुई किसिमको फाइदा हुन्छ । एउटा कुरा निःशुल्क पाउने उत्पादन वा सेवामा सबै आकर्षित हुन्छन्, जसले गर्दा ती कम्पनीको सेवा बिक्री हुने सम्भावना धेरै हुन्छ ।

अर्को भनेको जब हामी ती निःशुल्क उपलब्ध भएका सेवा प्रयोग गर्छौँ त्यो बेला हामीले हाम्रो डेटा दिइरहेका हुन्छौँ । हाम्रो डेटामा पनि विशेषगरी हाम्रो चाहना, रुचि, हामी घुमेको ठाउँ, हामीलाई मन पर्ने खाना सबैको डेटा सामाजिक सञ्जालसँग हुन्छ । मनोरञ्जनका नाममा हामीबाट हाम्रो डेटा लिन्छन् । र त्यसलाई विज्ञापनका रूपमा प्रयोग गर्छन् ।

यी सामाजिक सञ्जाल पछाडि रहेका सयौँ सुपर कम्प्युटरले हरेक सेकेन्ड रियल टाइममा हामीलाई कुन कन्टेन्ट देखाउने भन्ने कुराको निर्णय गरिरहेका हुन्छन् । यदि गल्तीले पनि हामीले कुनै फोटो लाइक गर्‍यौँ भने सामाजिक सञ्जालको एआईले हामीलाई सुझावका रूपमा त्यससँग सम्बन्धित फोटो देखाउने गर्छ ।

यसरी नयाँ तथा आफूलाई रुचि भएका सामग्री पाउ थालेपछि सामाजिक सञ्जालमा हामी सक्रिय हुन्छौँ । जति धेरै समय यी सामाजिक सञ्जालका अकाउन्टमा बिताइन्छ, ती कम्पनीलाई त्यति नै धेरै फाइदा हुन्छ ।

सामाजिक सञ्जालले निम्त्याएको नयाँ रोग

विज्ञहरूले पछिल्ला केही वर्षदेखि अनौठो रोग भएको पत्ता लगाएका छन् । जसलाई सोसल मिडिया डिप्रेसनको नाम दिइएको छ । अमेरिकामा लाखौँ युवामा गरिएको सर्वेक्षणमा कैयौँ व्यक्ति यस रोगबाट ग्रसित भएको पाइएको छ । डाक्टरका अनुसार जब हामी अरूको जिन्दगीको राम्रो पक्ष देख्छौँ, तब हामी आफूलाई उनीहरूसँग तुलना गर्न थाल्छौँ ।

हामी आफूलाई त्यस्तो मानिससँग तुलना गरिरहेका हुन्छौँ जसले ९९ प्रतिशत नक्कली स्वरूप सामाजिक सञ्जालमा देखाएको हुन्छ । सामाजिक सञ्जालमा अरूको प्रगति मात्र देख्दा मानिस तनावपूर्ण अवस्थाको सामना गर्छ । यसबाट उनीहरूलाई एन्जाइटी डिसअर्डर वा भनौँ डिप्रेसन हुन्छ । सानै उमेरमा सामाजिक सञ्जालमा सक्रिय भइरहँदा त्यस्ता युवावर्गलाई डिप्रेसन हुने गरेको अध्यनले दखाएको छ । यही डिप्रेसनका कारण कैयौँ युवा युवतीले आत्महत्या गर्न वाध्य हुन्छन् ।

एक अध्ययनका अनुसार सामाजिक सञ्जालको आगमनपछि अमेरिकामा आत्महत्या गर्नेको सङ्ख्या १५१ प्रतिशतले बढेको छ । जो दिनानुदिन बढिरहेको छ ।

जो इन्जिनियरले सामाजिक सञ्जालमा दिनरात काम गरेर यी एआई रोबोट बनाएका थिए उनीहरू नै यसको असरबारे अनविज्ञ छन् । सामाजिक सञ्जालको एआईले यस्तो स्वरूप लिन्छ भन्ने कुरा पहिले नै जानेको भए सायद उनीहरू यसलाई पहिलेबाट नियन्त्रण गर्दै अघि बढ्थे होला । अब यी एआई नियन्त्रणभन्दा यति बाहिर गइसकेका छन् कि चाहेर पनि नियन्त्रण गर्न गाह्रो छ ।

सामाजिक सञ्जालको नकारात्मक पक्ष मात्र छन् भन्ने हुँदैन । हामीले कसरी प्रयोग गरिरहेका छौँ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । सामाजिक सञ्जाल समय बिताउनभन्दा पनि सूचना पाउन, मानिसहरूसँग अन्तरक्रिया गर्न प्रयोग गर्नुपर्छ ।