close

फेसबुकमा साथी नै नभएको व्यक्तिले तपाईँलाई अश्लील पोस्टमा ट्याग गरिरहेको त छैन ?

टेकपाना टेकपाना

असार ३०, २०८० ८:५४

फेसबुकमा साथी नै नभएको व्यक्तिले तपाईँलाई अश्लील पोस्टमा ट्याग गरिरहेको त छैन ?

काठमाडौं । पछिल्लो समय नेपालमा फेसबुक प्रयोगकर्तालाई अश्लील जस्तो देखिने पोस्टमा ट्याग गर्ने घटना बढेका छन् । ह्याकरले स्टिलर मालवेयर फैलाउनका लागि यस्तो किसिमको लिङ्क भएको पोस्ट ह्याक गरेको अकाउन्टबाट ट्याग गरेर पोस्ट गरिरहेका छन् । यस्तोमा सबैभन्दा पहिले ह्याकरले कुनै प्रयोगकर्तालाई स्टिलर मालवेयरको लिङ्क पठाएर यस्तो किसिमको स्क्याम सुरु गरेको देखिन्छ ।

सबैभन्दा पहिले स्टिलर मालवेयरमा क्लिक गर्ने व्यक्तिको अकाउन्ट ह्याक भएपछि उसैको अकाउन्टमा त्यस्तो पोस्ट गरी त्यसलाई पुनः फेसबुकमा भएका व्यक्तिलाई ट्याग गरी शेयर गरेको पाइएको छ । यसरी आफ्नो साथी ट्याग भएको वा आफ्नो फिडमा देखिएको त्यस्तो लिङ्क क्लिक गर्नेहरूको अकाउन्ट पनि त्यसरी नै ह्याकरको कब्जामा गएको र सोही अकाउन्टबाट त्यसरी नै पोस्ट गरी पुनः ट्याग गरेको देखिन्छ ।

यसरी स्टिलर मालवेयर फैलिरहेको छ । आफूसँग फेसबुकमा एड भएको साथी ट्याग भएर उसको पोस्ट फिडमा देखिने घटना एउटा कुरा भयो । तर, जो व्यक्ति तपाईंसँग एड नै छैन उसले तपाईंलाई कसरी ट्याग गरिरहेको छ ? यसको जवाफ हामी एकछिनमा दिन्छौं पहिले तपाईं ट्याग हुनुभएको पो छ कि ?

आफूलाई कसले कस्तो पोस्टमा ट्याग गरेको छ कसरी हेर्ने ? 

तपाईंलाई कसले कस्तो पोस्टमा ट्याग गरेको छ भन्ने कुरा थाहा पाउने दुई ओटा तरिका छन् । यदि तपाईंको अकाउन्टमा ट्याग भएपछि एप्रुभ गर्ने सेटिङ अन छ भने रिभ्यु एन्ड ट्यागिङमा हेर्न सकिन्छ ।

यदि एसेप्ट गर्नुपर्ने अवस्था छैन भने आफ्नो टाइमलाइनमा गएर हेर्न सक्नुहुन्छ । 

भ्यु पोस्ट एन्ड ट्यागमा कसरी हेर्ने ?

- सबैभन्दा पहिले आफ्नो डिभाइसमा फेसबुक खोल्नुहोस् । 

- अनि होमपेजमा होमको आइकन तल रहेको आफ्नो फोटोमा ट्याप गर्नुहोस् । त्यसलाई स्क्रोल गर्दै गए तपाईंले पोस्ट गरेका कुराहरू देखिन्छन् । यदि ट्याग भएको पोस्ट एप्रुभ गर्नुपर्ने छैन भने टाइमलाइनमै ती पोस्ट देखिन्छन् । 

- यदि रिभ्यु पोस्ट एन्ड ट्याग हेर्नुपर्‍यो भने प्रोफाइलको तल देखिएको तीन ओटा डटमा थिच्नुहोस् । 

- त्यसपछि ‘रिभ्यु पोस्ट्स एन्ड ट्याग’ (Review Posts and Tags) को अप्सनमा थिच्नुहोस् । 

- यसरी तपाईंले आफू ट्याग भएको पोस्ट देख्न सक्नुहुन्छ । 

यो त भयो ट्याग भए नभएको हेर्ने तरिका । अब बुझौं तपाईंसँग साथी नै नभएको व्यक्तिले तपाईंलाई ट्याग गर्न कसरी सम्भव भयो ? तपाईंले के सेटिङ अन नगर्दा त्यस्तो भएको होला ? 

तपाईंसँग एड नभएको व्यक्तिले कसरी तपाईंलाई फेसबुकमा ट्याग गर्‍यो होला ? 

डिफल्ट रूपमा फेसबुकमा एड नभए पनि जोसुकै तपाईंलाई ट्याग गर्न सक्छन् ।  फेसबुकले डिफल्ट रूपमा प्रयोगकर्ताको अकाउन्ट पब्लिक बनाएको हुन्छ । त्यसैले पब्लिक अकाउन्ट भएकाले तपाईंलाई साथी नै नभएका व्यक्तिले ट्याग गरिरहेका हुन सक्छन् । 

त्यसबाहेक पनि तपाईंले सेटिङमा साथीको साथीले ट्याग गर्न मिल्ने सेटिङ अन गर्नु भएको हुनसक्छ । त्यसैले पनि तपाईंसँग एड नभएका, तर तपाईंसँग एड भइसकेको अर्को कुनै अकाउन्टमा एड भएको व्यक्तिले तपाईंलाई ट्याग गर्छ । यसबाट जोगिन तलको प्रक्रिया अपनाउनुहोस् । 

फेसबुक प्रोफाइल लक गर्नुहोस्

प्रयोगकर्ताको गोपनीयता सुरक्षित राख्नका लागि फेसबुकले हालै प्रोफाइल लक गर्ने सुविधा नेपालमा उपलब्ध गराएको छ । तपाईंले आफ्नो प्रोफाइल लक गर्नुभएको छैन भने यहाँ क्लिक गरी कसरी लक गर्ने भन्ने थाहा पाउन सक्नुहुन्छ । 

यदि प्रोफाइल लक नगरी ट्याग भइने समस्याबाट मुक्ति चाहनु हुन्छ भने तलको प्रक्रिया अपनाउनुहोस्:

- सबैभन्दा पहिले फेसबुक खोल्नुहोस् । 

- अनि माथि दायाँपट्टि रहेको प्रोफाइलको आइकनमा ट्याप गर्नुहोस् । त्यसपछि प्रोफाइलको आइकन तल सेटिङको अप्सनमा जानुहोस् ।

- स्क्रोल गर्दै तल गएर ‘प्रोफाइल एन्ड ट्यागिङ’को अप्सनमा जानुहोस् । 

- त्यसपछि ट्यागिङको सेक्सनमा जानुहोस् र स्क्रोल गर्दै अन्तिममा गएर रिभ्युइङको सेक्सनमा जानुहोस् । त्यसपछि त्यहाँ देखाइएको दुई ओटै अप्सन अन गर्नुहोस् । 

यति गर्नुभयो भने कसैले ट्याग गर्दा तपाईंको फेसबुकमा नोटिफिकेसन आउँछ । त्यसपछि ट्याग भएको पोस्ट आफ्नो टाइमलाइनमा देखाउन चाहनु हुन्छ भने एड टु टाइमलाइनको अप्सन छान्नुहोस् । यदि चाहनुहुन्न भने हाइड गरिदिन सक्नुहुन्छ ।

त्यस्तै आफ्नो तपाईंको प्रोफाइलमा कसैले केही नलेखोस् भन्ने चाहनुहुन्छ भने प्रोफाइल र ट्यागिङभित्र गइसकेपछि सबैभन्दा माथि देखिने ‘हु क्यान पोस्ट अन योर प्रोफाइल’को अप्सन अफ गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असार ३०, २०८० ९:३४