close

विश्वकप फुटबल अन्तर्गत सँगसँगै हुने समूह चरणका अन्तिम २ खेलको लाइभ कहाँ हेर्ने ?

टेकपाना टेकपाना

मंसिर १३, २०७९ १४:५१

विश्वकप फुटबल अन्तर्गत सँगसँगै हुने समूह चरणका अन्तिम २ खेलको लाइभ कहाँ हेर्ने ?

काठमाडौं । फिफा विश्वकप २०२२ मा अहिले समूह चरणका खेल भइरहेका छन् । आजबाट एकै समयमा समूह चरणका अन्तिम दुई खेल हुनेछन् । 

समूह चरणको अन्तिम तथा निर्णायक खेल एकै समयमा हुँदा त्यसको प्रसारण हेर्न समेत दुई च्यानल आवश्यक पर्छ । तर नेपालमा हिमालय प्रिमियम नामक च्यानलमा शुल्क लिएर फुटबल लाइभको प्रसारण हुँदै आएको छ । यस्तोमा सँगसँगै हुने अर्को खेलको लाइभ कुन च्यानलमा आउँछ भन्ने अन्यौलता नेपाली दर्शकमा परेको छ ।

नेपाली समय अनुसार मङ्गलबार राति ८:४५ मा पहिलो खेल इक्वेडर र सेनेगलबीच तथा सोही समयमा कतार र नेदरल्याण्डबीचको अर्को खेल हुँदैछ । त्यस्तै राति १२:४५ बजे इरान र अमेरिका तथा वेल्स र इङ्ल्याण्डबीच हुने खेल पनि एउटै समयमा छ । 

मिडिया हबका सञ्चालक सोम धितालले हिमालय प्रिमियमको सब्स्क्रिप्सन लिने ग्राहकले मात्रै हिमालय एचडीमा अर्को खेल हेर्न पाउने बताए । “तर शुल्क नतिर्ने ग्राहकले भने खेल हुने समयमा हिमालय एचडी च्यानल हेर्न पाउने छैनन् । त्यसका लागि सिस्टममा आवश्यक व्यवस्था मिलाउने काम भइरहेको छ,” उनले भने ।

यसको अर्थ विश्वकप लाइभ हेर्न शुल्क तिर्ने ग्राहकले एउटा खेल हिमालय प्रिमियम च्यानलबाट हेर्न पाउनेछन् भने अर्को खेल नियमित टिभी च्यानल हिमालय एचडीमा आउनेछ । तर शुल्क नतिरेका दर्शकको टिभीमा भने खेल अवधिभर हिमालय एचडी टिभी च्यानल खुल्ने छैन । "शुल्क नतिर्ने उपभोक्तालाई हामी निःशुल्क खेल देखाउन बाध्य छैनौँ," उनले भने ।

पछिल्लो अध्यावधिक: मंसिर १३, २०७९ १४:५१