close

आउँदो ६ महिनाभित्र मानिसको दिमागमा कम्प्युटर चिप परीक्षण गर्ने एलन मस्कको घोषणा

टेकपाना टेकपाना

मंसिर १५, २०७९ १६:४

आउँदो ६ महिनाभित्र मानिसको दिमागमा कम्प्युटर चिप परीक्षण गर्ने एलन मस्कको घोषणा

काठमाडौं । एलन मस्कको कम्पनी न्युरलिङ्कले अबको ६ महिनाभित्र मानव मस्तिष्कमा चिप राखेर परीक्षण गर्ने भएको छ । बुधबार आयोजित 'शो एण्ड टेल' कार्यक्रममा एक प्रस्तुति दिँदै मस्कले ६ महिनाभित्र कुनै मानिसको टाउकोमा चिप प्रत्यारोपण गरिने जानकारी दिए ।

यसको अर्थ चिपमार्फत अब व्यक्तिको दिमाग सोझै कम्प्युटरसँग जोडिनेछ । मस्कले सन् २०१६ मा ब्रेन-इन्टरफेस कम्पनी न्युरोलिङ्क स्थापना गरेका थिए,  जो अल्ट्रा हाइ ब्रेन मसिन इन्टरफेस तयार पार्ने कार्यमा जुटेको छ ।

कम्पनीले उक्त परीक्षणका लागि आवश्यक कागजी कार्यहरू संयुक्त राज्य अमेरिकामा चिकित्सा उपकरणहरू नियमन गर्ने खाद्य र औषधि प्रशासनलाई बुझाएको मस्कको भनाइ छ । यसअघि मस्कले उक्त परीक्षण २०२० मा हुने भनेका थिए ।

त्यसपछि २०२२ भित्र परीक्षण गर्ने बताइएपनि अहिले २०२३ का लागि सारिएकाे छ । ​न्युरलिङ्क कम्पनीको मुख्य उद्देश्य भनेको मानिसको मस्तिष्कमा चिप प्रत्यारोपण गर्नु हो । सोही चिपका माध्यमबाट मष्तिष्कले कम्प्युटर नियन्त्रण गर्न सक्ने कम्पनीको भनाइ छ ।

सन् २०१९ मा मस्कले बाँदरको मस्तिष्कमा चिप प्रत्यारोपण गरी परीक्षण गरेका थिए । उक्त परीक्षणपछि बाँदरले भिडिओ गेम खेलेको भिडिओ इन्टरनेटमा भाइरल भएको थियो । 

त्यस्तै सन् २०२२ मा सँगुरको मस्तिष्कमा चिप प्रत्यारोपण गरी परीक्षण गरिएको थियो । कम्पनीले सार्वजनिक गरेको भिडिओमा प्रत्यारोपणपछि बाँदरलाई कसरी तालिम दिइएको थियो भन्ने कुरा देखाइएको थियो ।

सुँगुरको मस्तिष्कमा चिप प्रत्यारोपण गरेपछि मानवमा पनि उक्त परीक्षण गर्न सकिने कुरामा न्युरलिङ्कका खोजकर्ता विश्वस्त थिए ।

न्युरलिङ्कको डिभाइस आफैंमा सानो तथा थुप्रै लचिलो 'थ्रेड्स' भएका हुन्छन् । जसले गर्दा उक्त डिभाइस मस्तिष्कमा राख्न सकिन्छ ।

"मस्तिष्कमा चिप राख्नु भनेको तपाईँको खोपडीको एउटा टुक्रा झिकेर त्यसमा स्मार्टवाच राख्नु जस्तै हो," मस्कले उक्त प्रस्तुतिमा भनेका छन् । रोबोटिक्स प्रणाली प्रयोग गरेर चिप प्रत्यारोपण गर्न सकिने न्युरलिङ्कका सहसंस्थापक डीजे सिईले बताएका छन् ।

पछिल्लो अध्यावधिक: मंसिर १५, २०७९ १७:३३