close

न्युक्लियर फ्युजन ऊर्जा उत्पादनमा वैज्ञानिकलाई ठूलो सफलता

टेकपाना टेकपाना

मंसिर २९, २०७९ ८:४३

न्युक्लियर फ्युजन ऊर्जा उत्पादनमा वैज्ञानिकलाई ठूलो सफलता

काठमाडौं । संसारमा जीवाष्म इन्धन ऊर्जा दिनानुदिन घट्दै गइरहेको छ । यही अनुपातमा इन्धन उपयोग हुँदै जाने हो भने सन् २०५२ सम्म सञ्चित तेल, २०६० सम्म प्राकृतिक ग्यास र सन् २०९० सम्म कोइला समाप्त हुने अनुमान छ । यही संकटलाई आउन नदिन आउँदा पुस्तालाई वैकल्पिक ऊर्जामा स्थानान्तरण गर्न निकै आवश्यक छ ।

अहिले भने न्युक्लियर फ्युजन ऊर्जा निर्माण गर्ने दौडमा अमेरिकी वैज्ञानिकले ठूलो सफलता हात पारेका छन्, जसले इन्धन ऊर्जालाई विस्थापित गर्दै स्वच्छ ऊर्जा नयाँ आयाम ल्याउने अपेक्षा गरिएको छ । असीमित ऊर्जाका लागि निकै भरपर्दो स्रोतका रूपमा विश्लेषण गरिएको न्युक्लियर फ्युजनमा वैज्ञानिकहरू दशकौंसम्म खोज तथा अनुसन्धानमा लागेका थिए ।

तर, लामो समयसम्म वैज्ञानिकहरूले खोज तथा अनुसन्धान गर्दा पनि सफलता पाइरहेका थिएनन् । मंगलबार अमेरिकाका न्युक्लियर वैज्ञानिकले एक प्रेस सम्मेलन गर्दै न्युक्लियर फ्युजन ऊर्जामा नयाँ सफलता मिलेको खुलासा गरे । उनीहरू यस्तो प्रविधिमा दशकौँदेखि काम गरिरहेका थिए, जसले न्युक्लियर फ्युजन ऊर्जालाई स्वच्छ उर्जामा परिणत गर्न सघाओस् ।

वैज्ञानिकले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा न्युक्लियर फ्युजनको सहयोगले स्वच्छ ऊर्जा बनाउन सकिने कुरामा सफलता पाएको बताएका छन् ।

न्युक्लियर ऊर्जालाई स्वच्छ ऊर्जामा कसरी प्ररिणत गर्न सकिन्छ ? वैज्ञानिकहरूले प्राप्त गरेको यो सफलता कस्तो सफलता हो ? यहाँ कसरी स्वच्छ ऊर्जा तयार हुन्छ ? न्युक्लियर रियक्टरबाट जसरी आज ऊर्जा तयार पारिन्छ, त्यो भन्दा यो प्रक्रिया के कति फरक छ ? यस्ता विषयमा धेरैलाई जिज्ञासा हुनसक्छ ।

सबैभन्दा पहिले अहिलेसम्म न्युक्लियर रियाक्टरबाट कसरी न्युक्लियर ऊर्जा उत्पादन भइरहेको छ भन्ने विषयमा बुझ्न आवश्यक छ । न्यक्लियर फिजन प्रक्रियामा युरेनियम (यू-२३५) नामक तत्व प्रयोग गरिन्छ । यस धातुमा रहेको कण (एटम) टुक्र्याएर ऊर्जा उत्पादन गरिन्छ । अहिले न्युक्लियर रियाक्टरबाट यसरी ऊर्जा उत्पादन गर्दा थुप्रै बेफाइदा हुन थाले ।

विशेषगरी तत्वका अणु ब्रेक गर्दा त्यसको खेर गएका अणुको भाग फोहोरका रूपमा निस्किन थाल्यो, जसलाई न्युक्लियर फोहोर (वेस्ट) भनिन्छ । यस्ता फोहोरलाई रेडियसन वा विकिरण भनिन्छ । यो रेडियसन भएको न्युक्लियर फोहोर वातावरणका लागि त खराब छँदै छ, साथै त्यसलाई व्यवस्थापन गर्न पनि समस्या हुन थाल्यो ।

यस्ता न्युक्लियर पावर प्लान्टमा ऊर्जा उत्पादनका काम गर्दा त्यसको रेडियन तथा त्यहाँ हुने अन्य दुर्घटनाले मानिसहरूको ज्यान गइरहेको हुन्छ । साथै माटो वा त्यहाँको वातावरण नै बस्न जोखिम हुने बनाइदिन्छ । अहिले पत्ता लगाइएको न्यक्लियर फ्युजन विधिले भने यस्ता जोखिम निकै कम सिर्जना गर्छ । साथै यस प्रविधिबाट तयार पारिएको ऊर्जा वैकल्पिक ऊर्जाका रूपमा प्रयोग गर्न सकिने वैज्ञानिकहरूले बताएका छन् । यसले कार्बन उत्सर्जन पनि कम गर्दै जान्छ ।

यसमा भएको के हो भने पहिले न्युक्लियर फ्युजन रिक्याक्सन गर्न धेरै ऊर्जा आवश्यक पर्थ्यो । जति ऊर्जा न्युक्ललियर ऊर्जा बनाउन खपत हुन्थ्यो, त्यो भन्दा धेरै कम ऊर्जा मात्र पाउन सकिन्थ्यो । जसले गर्दा त्यसलाई परीक्षणका रूपमा अनुन्धान अगाडि बढाइएको थियो । अहिले न्युक्लियर वैज्ञानिकले दुई अणु मिसाएर गरिने न्युक्लियर फ्युजन रियाक्सनमा कम ऊर्जा प्रयोग गरेर धेरै ऊर्जा उत्पादन गर्न सकिने बताएका छन् ।

न्युक्लियर फ्युजनले कसरी काम गर्छ ?

कुनै पनि तत्वका दुई अणुहरू (हाइड्रोजन)लाई तताएर समायोजन गरी सिङगो तत्व (सिङ्गल इलिमेन्ट) (हेलियन) बनाउँदा उक्त रासायनिक प्रक्रियामा धेरै मात्रामा ऊर्जा उत्पादन हुन्छ । त्यही ऊर्जालाई सञ्चित गरेर अन्य कामका लागि प्रयोग गरिन्छ । तर, यी दुई अणुलाई जोडेर एउटा सिङ्गो अणु बनाउने प्रक्रिया निकै नै झन्झटिलो हुन्छ ।

किनभने यसमा एउटै चार्ज भएका दुई ओटा अणु जोड्नुपर्ने हुन्छ । उही चार्ज भएका अणु नजिक ल्याउन खोज्दा एक अर्काबाट टाढिन्छन् । त्यसैले यो प्रक्रिया सम्पन्न गर्न धेरै मात्रामा ऊर्जा आवश्यक पर्छ । वैज्ञानिकको नयाँ परीक्षणले कम ऊर्जा खपत गरेर धेरै ऊर्जा उत्पादन गर्ने विधि पत्ता लागेको छ । सूर्यमा पनि यही प्रक्रिया लागू हुन्छ ।

सूर्यमा हुने न्युक्लियर फ्युजन प्रक्रियाले गर्दा हामीले यहाँ सौर्य तथा प्रकाश ऊर्जा पाइरहेका हुन्छौँ । यो न्युक्लियर फ्युजन रियाक्सन प्रक्रियामा बाइ प्रडक्टका रूपमा हेलियम ग्यास उत्पादन हुन्छ । यसबाट पनि विकिरण निस्किन्छ ।

तर, यस्तो विकिरण छोटो समयका लागि मात्र हुने गर्छ । साथै यस्ता न्युक्लियर फ्युजन रियाक्सन पावर प्लान्टमा केही गरी दुर्घटना भयो भने पनि त्यसले त्यति क्षति नगर्ने वैज्ञानिकहरूले बताएका छन् । यहाँबाट उत्पादन भएको ऊर्जा पूर्ण रूपमा स्वच्छ ऊर्जा हुन्छ ।

त्यसैले पनि यो प्राप्तिलाई ठूलो सफलताका रूपमा लिइएको छ । यो असफलता पाउनका लागि लामो समयदेखि वैज्ञानिकहरू अनुसन्धानमा लागेका थिए । मंगलबार आयोजित पत्रकार सम्मेलनमा यो प्राप्तीका लागि पछिल्ला पाँच वर्षमा साढे तीन अर्ब डलर लगानी लागेको बताइएका छन् ।

यसले कसरी ग्लोबल वार्मिङसँग लड्न सघाउँछ ?

वैज्ञानिकका अनुसार न्युक्लियर फ्युजनका लागि फोसिल फ्युल अर्थात् तेल वा ग्यास आवश्यक पर्दैन । सोलार वा वायु ऊर्जा जस्तो यो अन्य कुनै स्रोतमा पनि निर्भर हुँदैन ।

यस प्रक्रियामा पृथ्वीमा उपलब्ध हुने लिथियम र हाइड्रोजन जस्ता पदार्थ प्रयोग हुन्छन् । न्युक्लियर फ्युजनबाट ऊर्जा उत्पादनको विचारले सन् २०५० सम्म सम्पूर्ण देशलाई शून्य कार्बन उत्सर्जन चुनौती पूरा गर्न सघाउनेछ ।

पछिल्लो अध्यावधिक: मंसिर २९, २०७९ ८:५०