close

कोरोना विरुद्ध लड्न नेपाललाई ज्याक माको सहयोग

टेकपाना टेकपाना

चैत ८, २०७६ ११:५७

कोरोना विरुद्ध लड्न नेपाललाई ज्याक माको सहयोग

काठमाडौं । चिनियाँ अर्ब पति तथा अलिबाबाका सहसंस्थापक ज्याकमाले नेपाल सहितका एसियाली मुलुकहरुलाई सहयोग घोषणा गरेका छन् । शनिबार ट्वीट मार्फत माले ‘गो एसिया’ भन्दै कोरोनााभाइरस (कोभिड-१९) सँग जुध्न आपतकालिन सामग्री सहयोगको घोषणा गरेका हुन् ।

केही दिन अघि अमेरिकालाई टेस्ट किट सहितका सामग्री सहयोग गरेका माले एसियाली मुलुकहरुलाई १८ लाख मास्क, २ लाख १० हजार टेस्ट किट, ३६ हजार रक्षात्मक सुटसँगै भेन्टिलेटर र थर्मोमिटर उपलब्ध गराउने उल्लेख गरेका छन् ।

यो सहयोग नेपाल सहित, भारत, बंग्लादेश, अफगानिस्तान, कम्बोडिया, लाओस, माल्दिभ्स, मंगोलिया, म्यानमार, पाकिस्तान र श्रीलंकालाई दिइनेछ । सकेसम्म छिटो रुपमा सहयोग हस्तान्तरण गर्ने कार्य सहज नभए पनि आफूले उपलब्ध गराउने बचन उनको छ ।

केही दिन अघि मात्र वरिष्ठ डाक्टर शुन्दरमणि दिक्षितले नेपालमा कोरोना भाइरस परीक्षणका लागि आवश्यक टेस्ट किट नै नरहेको बताएका थिए । चीनको हुवान प्रान्तबाट सुरु भएको कोरोना भाइरसले अहिले विश्वभर महामारीको रुप लिइसकेको छ ।

पछिल्लो समयसम्म विश्वभर २ लाख ७६ हजार ४९६ जनामा कोरोना संक्रमण देखिएकोमा त्यसमध्ये ११ हजार ४०६ जनाको ज्यान गइसकेको छ । ९१ हजार ९९४ जना भने उपचार पछि निको भएका छन् ।

कोभिड-१९ बाट संक्रमित हुनेहरुको संख्या सबैभन्दा बढी चीनमा देखिए पनि त्यसबाट मृत्यु हुनेहरुको संख्या भने सबैभन्दा बढी इटालीमा छ । हालसम्म चीनमा यसबाट ३ हजार २५५ जनाको मृत्यु भएको छ भने इटालीमा ४ हजार ३२ जनाले ज्यान गुमाइसकेका छन् ।

नेपालमा कोरोना भाइरस संक्रमण भित्रिन नदिन सरकारले उच्च सतर्कता अपनाउन सुरु गरेको छ । जसअनुसार ९ चैतदेखि आपतकालिन सेवा बाहेकका सम्पुर्ण गतिविधि लक डाउन गर्ने घोषणा प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारको विशेष सम्बोधनमार्फत गरिसकेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६