काठमाडौं । सडकमा हिँडिरहेको कुनै व्यक्ति आफ्नो यौनिक तथा लैङ्गिक पहिचानकै कारण दुव्यर्वहार भोग्न पुग्छ । यस्तो दुव्यर्वहारकाे सामना गर्दा पीडकलाई लखेट्ने प्रयास त हुन्छ । तर पटकपटक तुच्छ र अपाच्य शब्दका साथ मजाक उडाउँदै दुई युवक बाइकमा कुद्छन् । मंगलबारदेखि यस्तै घृणा फैलाउने एउटा भिडियो भाइरल बनिरहेको छ ।
भिडियो हेर्दा सामाजिक सञ्जाल टिकटकमा चर्चामा रहेकी ‘निकिशा’ श्रेष्ठले राजधानीको कुनै सडकमा हिँडिरहँदा भोग्नुपरेको दुव्यर्वहार थाहा पाउन सकिन्छ । ‘निकिशा’ लाई सार्वजनिक ठाउँमा दुव्यर्वहार गर्ने व्यक्तिहरुले नै सो भिडियो खिच्दै छाडा शब्द बोलेका छन् ।
भिडियोमा दुव्यर्वहार गर्ने भक्तपुर निवासी लिटिल एन्जेल्स स्कुलमा पढ्ने युवक रहेको पाइएको छ । सामाजिक सञ्जालमा यो भिडियो भाइरल भएपछि धेरैले दुव्यर्वहार गर्ने व्यक्तिहरू विरुद्ध कानूनी कारबाहीका लागि आवाज उठाएका छन् ।
यसैबीच प्रहरी प्रधान कार्यालयले यस सम्बन्धमा साइबर व्यूरोबाट थप छानबिन तथा अनुसन्धान अघि बढाइएको बताएकाे छ । प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक कुवेर कडायतले उक्त भिडियाेबारे छानबिन गरी दोषीलाई कारबाही गर्न साइबर ब्यूरोलाई पत्राचार गरिएको जानकारी दिए ।
‘सार्वजनिक ठाउँमा हिड्दा कोही व्यक्तिलाई अपशब्द बोल्नु, होच्याउनु गलत हो’, उनले भने, ‘हामीले अनुसन्धान गरेर दोषीलाई कारबाही गर्छौं।’
याे घटना सार्वजनिक भएसँगै ट्वीटर प्रयोगकर्ताले ट्वीटरमा ‘निकिशा’ ह्यासट्याग राखी उनको पक्षमा आवाज उठाएका छन् । नेपाली ट्वीटर ट्रेन्डिङमा अहिले नम्बर एकमा ‘निकिशा’ परेकाे छ ।
भिडियोमा देखिएको दृश्यले नैतिक रुपमा मात्रै नभई कानूनी प्रावधान समेत उल्लंघन गरेकाले ट्वीटर प्रयाेगकर्ताले दाेषीलाई कारबाहीको दायरमा ल्याउन आग्रह गरेका छन् ।
In response to the video of Nikisha being harassed on the road that's been surfacing on the internet, #NOTANYMORE Campaign and Political Literacy for Women condemns such acts. It crosses not just ethical and moral grounds but also LEGAL grounds. pic.twitter.com/C1THlzAAV4
— #NOTANYMORE (@NOTANYMORE_team) November 18, 2020
यसअघि पनि एक युटुवरले ‘निकिशा’ श्रेष्ठको टिकटक लगायत व्यक्तिगत सोसल मिडिया अकाउन्टमा भएको भिडियोहरुलाई लिएर व्यक्तिगत अनुभव र कथालाई उपेक्षा गरी मजाक गरिएको भिडियो आफ्नो युट्युब च्यानलमा प्रकाशन गरेका थिए । यसपछि नेपाली ट्वीटरमा #SupportForNikisha अभियानको थालनी भएको थियाे ।
यस्ता घटनाले अनलाइनमा लैंगिक तथा यौनिक विविधता भएका व्यक्तिहरुमाथि हुने घनिभूत अपमान र घृणाका बारेमा मात्रै छताछुल्ल मात्रै पारेकाे छैन, मानवअधिकार कै उपहास गरिरहेकाे छ बडी इन डाटा नामक सामाजिक संस्थाकी कार्यकारी निर्देशक शुभा कायस्थाले बताइन् ।
शारीरिक बनोट -लवाइ-खुवाइ अनि आफ्नो रुचिको काम गर्दा यो हदमा ओर्लनेलाई सबक सिकाउन जति बिलम्ब हुन्छ, त्यति नै क्षति हुन्छ! bullying लाई साधारण गल्ती मान्ने/ठान्ने "गल्ती"नगरम न है!@hello_sarkar @NepalPoliceHQ
— सुदन अधिकारी (@ApuroSudan) November 18, 2020
‘निकिशा’का टिकटक भिडियाेमा पनि प्राय घृणायुक्त, गाली गलौज र मजाकका कमेन्टहरू बढी हुने गरेका छन् । पहिले निकेश नाम भएकी ‘निकिशा’ अहिले आफूलाई केटी भनेर चिनाउन चाहन्छिन्। सामाजिक सञ्जालमा उनका विभिन्न भिडियाे चर्चामा छन्।
लैंगिक तथा यौनिक विविधता भएका व्यक्तिहरुले अनलाइनमा आफ्नो उपस्थिति जनाउँदै आफूलाई अभिव्यक्त गर्ने प्रयास गरिरहँदा यस्ता विक्षिप्त र घृणापूर्ण कार्यले उनीहरुमाथि हुने अनलाइन हिंसा र विभेद कति बलियो र कहालीलाग्दो छ भन्ने स्पष्ट पारेको कायस्थाले बताइन् ।
उनका अनुसार समाजमा रहेको कि महिला कि पुरुष भन्ने द्वयसांखिक लैङ्गिक मापदण्डभन्दा भिन्न लैंगिक प्रस्तुतिकरण गर्ने व्यक्तिहरुमाथि सामाजिक आक्रमण, उत्पीडन र उपहासपूर्ण व्यवहार गरिन्छ। अनलाइन र इन्टरनेटमा यस्ता खालका हिंसाहरु सामना गर्नुपर्दा, कत्तिले त्यो स्थान नै छाड्ने वा आफैलाई प्रतिबन्धित गर्ने गरेकाे उनले उल्लेख गरिन् ।
मार्केटको ट्रेन्डिङ् अनुसार आफ्नो सिद्धान्त फेर्ने व्यक्तित्वहरुको लागि यो TWEET । #Nikisha #Nepal https://t.co/NFgvf77Uk5
— KUSHअल (@kusalkadel) November 18, 2020
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०
