close

२७ वर्षीय युवाले बनाए ८० हजारमै कृत्रिम बायोनिक हात (भिडियो सहित)

टेकपाना टेकपाना

पुस ९, २०७७ १५:३६

२७ वर्षीय युवाले बनाए ८० हजारमै कृत्रिम बायोनिक हात (भिडियो सहित)

काठमाडौं । अमेरिकास्थित टेक्सासका एक युवा इन्जिनियरले आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरी आफ्नै बायोनिक (कृत्रिम विद्युतीय मेकानिकल) हात बनाएका छन् । लगातार तीन वर्षको अनुसन्धानपछि यस्ताे बायाेनिक हात बनाउन उनी सफल भएका हुन् ।

अमेरिकामा अधिकांश बायोनिक हातहरुको मूल्य डेढ लाख डलरसम्म पर्ने गरेको छ । तर २७ वर्षीय र्‍यान साभेद्राले सात सय डलरभन्दा कम अर्थात् ८० हजार नेपाली रूपैयाँकाे हारहारीमा आफैंले बायोनिक हात बनाएका छन् । 

उक्त प्रोस्थेसिस (कृत्रिम हात) विश्वभर उपलब्ध हुने एउटा रोबोटिक आर्म अर्थात् ‘जीएआरए’ हो । यसले मांसपेशीका तन्तुहरुको विद्युतीय क्रियाकलापलाई मापन गर्दछ, जुन विधिलाई इलेक्ट्रोम्योग्राफी अर्थात् ‘ईएमजी’ भनिन्छ । र्‍यानले हातको हलचललाई आँकलन गर्न एआईको प्रयोग यसमा गरेका छन् । 

जब यो शरीरका भागसँग जोडिन्छ, तब औंलाहरुमा वास्तविक हलचल उत्पन्न हुन्छ । यसले कपजस्ता वस्तुहरु पनि पकड्न सक्छ । 

साभेद्राको कम्पनी अल्ट बायोनिकले सात सय डलरभन्दा कम मूल्यको एउटा प्रोटोटाइप तयार गरी व्यवसायिक उत्पादनमा लागिसकेको छ । 

यही वर्षकाे जून महिनामा स्थापना भएको कम्पनी अल्ट बायोनिकले कुइनामुनिको भागको बायोनिक हातहरु बनाउने गरेको छ । कम्पनीले यस किसिमको कृत्रिम हातलाई पनि विभिन्न भागमा निर्माण गर्ने योजना बनाएको छ । 

सान एन्टोनियोस्थित टेक्सास विश्वविद्यायबाट इन्जिनियरिङ सकाएका अल्ट बायोनिकका संस्थापक तथा सीईओ साभेद्रा महङ्गा बायोनिक प्रोस्थेसिसलाई सुलभ मूल्यमा उपलब्ध गराउन आफूले काम थालेको बताउँछन् । 

बजारमा १० हजार डलरदेखि डेढ लाख डलरसम्मको रेन्जमा उपलब्ध हुने यी उपकरणहरु अल्ट बायोनिककले धेरै कम मूल्यमा उपलब्ध गराउने उनले विश्वसामु वाचा गरेका छन् । 

कम्पनीका अनुसार मशिन लर्निङले ईएमजीको प्रिडिक्सन एल्गोरिदमलाई थप आधुनिक बनाएको छ । यसले गर्दा प्रयोगर्कता व्यक्तिले यी डिभाइसमा ‘इन्टेन्सनल र इन्ट्युटिभ नियन्त्रण’ जमाउन सक्छन् । 

सो बायोनिक हातको एआईले शरीरको अर्धकट्टी भागबाट नर्भ सिग्नल लिन्छ र हातले चाहेको हलचलको आँकलन गरी डिभाइसलाई नियन्त्रण गर्दछ । 

साथै इसमा धेरैवटा प्रि-प्रोग्राम्ड ग्रिप प्याटर्न्स पनि छन्, जसले कप वा पेन्सिल समात्ने जस्ता दैनिक काम सम्पन्न गर्न सहयोग गर्दछ । 

‘जब तपाईं शरीरको कुनै भाग हलचल गर्ने निर्णय गर्नुहुन्छ, तब तपाईंको मस्तिष्कले सम्बन्धित मांसपेशी समूहलाई विद्युतीय सिग्नल पठाउँछ,’ साभेद्रा भन्छन्, ‘हामी ती सिग्नल प्रयोग गरी प्रयोगकर्ताले चाहेको मोसनलाई निर्धारण गर्छौं र त्यसलाई हातको मेकानिकल मोसनमा अनुवाद गर्छौं ।’

यसरी प्रयोगकर्ताले सम्बन्धित मांसपेशी समूहको प्रयोग गरी बायोनिक हातलाई नियन्त्रण गर्न सक्छ ।

यसमा भएको जीएआरएले कुनै पनि वस्तुलाई सजिलै पकड्न तथा उठाउन मद्दत गर्छ भने यसमा भएको ब्युल्ट इन फिड ब्याक सिस्टमले कुनै पनि कुरा पकड्दा कत्तिको नरम वा कडा अनुभूति भएको छ, त्यो कुरा मस्तिष्कसम्म पुर्‍याउँछ ।

डेलीमेलबाट

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०