close

एन्टीभाइरस सफ्टवेयर खरिद गर्नुअघि ध्यान दिनुपर्ने ५ कुरा

टेकपाना टेकपाना

माघ ६, २०७७ २०:५८

एन्टीभाइरस सफ्टवेयर खरिद गर्नुअघि ध्यान दिनुपर्ने ५ कुरा

काठमाडाैं । एन्टीभाइरस सफ्टवेयरले कम्प्युटर तथा मोबाइल डिभाइसलाई भाइरस, कम्प्युटर वर्म, ट्रोजनलगायतका माल्वेरबाट सुरक्षा गर्दछ ।

यसरी तपाईंले प्रयोग गर्ने कम्प्युटर तथा मोबाइल डिभासहरुलाई खतरनाक स्पाइवेयर तथा एडवेयरजस्ता हानिकारक प्रोग्रामहरुबाट बचाउन वा आक्रमणबाट बँच्न एन्टीभाइरस सफ्टवेयरको आवश्यकता पर्दछ ।

तपाईंका बैंकिङ विवरण, ब्राउजिङ हिस्ट्री, अनलाइन वार्तालाप लगायतका परिचयलाई खतरनाक ह्याकरबाट चोरी हुन नदिन पनि यस्ता एन्टीभाइरस सफ्टवेयरको प्रयोग गर्नु आवश्यक छ ।

एन्टीभाइरस सफ्टवेयरले तपाईंको कम्प्युटर तथा मोबाइल डिभाइसहरुलाई पूर्ण क्षमतामा चल्ने कार्यमा पनि सहयोग गर्दछ ।

यसर्थ बजारमा धेरै थरीका एन्टीभाइरस सफ्टवेयर उपलब्ध छन्, जसको उद्देश्य माथि उल्लेख गरेजस्तै सुरक्षा जोखिमलाई नियन्त्रण गर्नु नै हो ।

तर आफ्ना लागि कुन एन्टीभाइरस उपयुक्त छ भनेर पहिचान गर्ने काम सजिलो छैन । यसर्थ यस्तो सफ्टवेयर खरिद गर्नुअघि निम्न कुराको ख्याल गर्न जरुरी छ ।

१. माल्वेयरको पहिचान

सबैभन्दा खतरनाक माल्वेयरहरुमा भाइरस र वर्महरु पर्दछन् । यसैगरी, लुकेर बस्ने माल्वेयरहरुमा रुटकिट, ट्राेजन हर्स लगायत रहेका छन् । यिनीहरु लुकेर बस्ने भएकाले कम्प्युटर प्रयाेगकर्ताले पत्ता लगाउन नसक्ने किसिमका हुन्छन् ।

दिनहुँ नयाँ-नयाँ भाइरसहरू आइरहने हुनाले एउटा राम्रो एन्टीभाइरसले समेत यस्ता माल्वेयर पत्ता लगाउन असक्षम पनि हुन सक्छ ।

यसर्थ राम्रो माल्वेयर पहिचान गर्न सक्ने एन्टीभाइरस खरिद गर्नुपर्दछ । विटडिफेन्डर, कास्परस्की, के सेभेन, बुलगार्ड, नोर्टोन, म्याकएफी, अभिरा, पान्डा, ई–स्क्यान, अभास्ट, एभिजे, नोड३२, क्विकहिल लगायतका एन्टीभाइरसहरु माल्वेयर डिटेक्सनका लागि अग्रपंक्तिमा रहेका छन् ।

२. कम्प्याटिबिलिटी र पर्फर्मेन्स

तपाईंको कम्प्युटरको हार्डवेयर कन्फिगरेशनले पनि कस्तो एन्टीभाइरस छान्ने भन्ने कुराको निर्धारण गर्दछ । यदि तपाईंको कम्प्युटर पुरानो हो र र्‍याम मेमोरी २ जीबीभन्दा कम छ भने कम र्‍याम मेमोरीमा पनि चल्ने एन्टीभाइरस छान्नुहाेस् । यस्तो अवस्थामा गलत एन्टीभाइरसको छनोटले कम्प्युटरको पर्फमेन्सलाई ढिलो बनाउँछ ।

३. सेक्युरिटी फिचर

एन्टीभाइरस सफ्टवेयरमा सबैभन्दा महत्वपूर्ण कुरा भनेको सेक्युरिटी फिचरहरु नै हुन् । एन्टीभाइरसका सामान्य र सबैले उपलब्ध गराउने फिचरहरुमा सेड्युल स्क्यान, एन्टी स्पाइवेयर टुल्स, ईमेल सेक्युरिटी, यूएसबी स्क्यानर लगायत रहेका छन् । तपाईंले खरिद गर्नुअघि निम्न सेक्युरिटी फिचरहरुमा ध्यान दिनुहाेस् :

थ्रेट डिटेक्सन फिचर
थ्रेट डिटेक्सन फिचरअन्तर्गत एन्टीमाल्वेर, एन्टीभाइरस, एन्टीट्राेजन, एन्टीस्पाईवेर, एन्टीवर्म र एन्टीरुटकिट लगायत ।

-ईमेल र आईएम प्रेटेक्सन फिचर
एन्टीफिसिङ, ईमेल स्क्याम र इन्स्ट्यान्ट मेसेजिङ प्रोटेक्सन लगायत ।

४. मल्टी प्लेटफर्म लाइसेन्स

यदि तपाईं धेरै कम्प्युटर तथा स्मार्टफाेन चलाउनुहुन्छ र एन्टीभाइरस सफ्टवेयर खोजिरहनु भएको छ भने एउटै रकमबाट विन्डोज तथा एन्ड्रोइड डिभाइस चल्ने एन्टीभाइरस सोलुशन लिन सक्नुहुनेछ ।

५. सपोर्ट

एन्टीभाइरस खरिद गर्नुअघि ध्यान दिनुपर्ने अर्को महत्वपूर्ण पक्षहरुमध्ये सपोर्ट वा सहयोग पनि हो । तपाईंले एन्टीभाइरस प्रयोग गरिरहँदा कथमकदाचित केही समस्या आइपेरमा एन्टीभाइरस कम्पनीबाट के कस्तो सहयोग पाइन्छ भन्ने कुरालाई पनि ध्यान दिनुपर्दछ ।

यस्तोमा कम्पनीबाट पाइने भिडियो ट्युटोरिअल सपोर्ट, टेक्निकल सपोर्ट, ईमेल सपोर्ट, च्याट सपोर्ट, फोन कल सपोर्टलगायत पर्दछन् ।

नेपालमा धेरै कम्पनीहरुले भोल्युम लाइसनिङ इस्यु तथा मल्टिपल डिभाइस लाइसेन्स (विन्डोज, म्याक तथा एन्ड्रोइडजस्ता मोबाइल प्लाटफर्म सपोर्ट गर्ने) को रुपमा एन्टीभाइरस तथा इन्टरनेट सेक्युरिटी उपलब्ध गराउँदछन् ।

यस्ता कम्पनीहरुले होम युजर तथा बिजनेसलाई लक्षित गरी एन्टीभाइरस तथा इन्टरनेट सेक्युरिटी बजारमा उपलब्ध गराएका छन् ।

स्मार्टफोनका लागि उपयुक्त ४ एन्टीभाइरस एप

मोबाइलमा एन्टीभाइरस कति आवश्यक हो भन्ने कुरा सधैंको चर्चाको विषय हो । तर, पनि धेरैले सुरक्षाको हिसाबले एन्टीभाइरस राख्नुलाई नै राम्रो भएका बताउँदै आएका छन् ।

त्यसमा पनि अझ तपाईंको फोन लामो समयदेखि अपडेट भएको छैन भने त एन्टीभाइरस एप तत्कालै डाउनलोड गरी प्रयोगमा ल्याउने उचित हुनेछ ।

तर, त्यसका लागि कुन एन्टीभाइरस प्रयोग गर्ने त ? किनभने एप स्टोरमा उपलब्ध सबै एन्टीभाइरस, एन्टीभाइरस हुँदैनन् । त्यसमा कतिपय फेक पनि हुनसक्छन् । जसले तपाईंको डेटा संकलन गर्ने काममात्रै गरिरहेका हुन्छन् ।

त्यसैले कुन एन्टिभाइरस मोबाइलका लागि उपयुक्त हुन्छ भन्ने विषयमा यहाँ हामी तपाईंहरुलाई केही छनोटका विकल्पहरु प्रस्तुत गर्दै छौं । जसमा केही एन्टीभाइरस प्रयोग गर्नका लागि भनी तपाईंले शुल्क बुझाउनुपर्ने हुन्छ । कतिपय नि:शुल्क पनि उपलब्ध रहेका छन् ।

१‍. सोफोस इन्टरसेप्ट एक्स

यो एन्टीभाइरस किन त ? सबैभन्दा महत्वपूर्ण कुरा सोफोस इन्टरसेप्ट एक्समा कुनै विज्ञापन आउने छैन । किनभने नि:शुल्क रुपमा उपलब्ध हुने धेर जसो एन्टीभाइरसमा विज्ञापनले हैरान पार्ने गर्छ । एन्टीभाइरस टेस्टमा पनि यो एपले राम्रो गरेर प्रमाणित भइसकेको छ । यो एप नि:शुल्क रुपमा उपलब्ध छ ।

२.क्यास्परस्काई एन्टीभाइरस : सेक्युरिटी, भाइरस क्लिनर

क्यास्परस्काई एन्टीभाइरस विश्वव्यापी रुपमै चर्चित एन्टीभाइरसको मोबाइल भसर्न हो । यो एपको प्रयोग निकै सहज छ । नि:शुल्क रुपमा उपलब्ध यो एन्टीभाइरस एपमा विज्ञापन भने आउने छ । तर, पनि उक्त विज्ञापनले कुनै असर भने गर्ने छैन ।

३. एभास्ट मोबाइल सेक्युरिटी

एभास्ट मोबाइल सेक्युरिटी पनि अर्को राम्रो विकल्प हो । यो एपमा नि:शुल्क उपलब्ध भएकाले यसमा केही विज्ञापन भने आउने छ । तर, उक्त विज्ञापनले तपाईंलाई कुनै असर गर्दैन । त्यतिमात्रै नभएर यसमा रहेको ‘बुस्ट र्‍याम’ फिचर एउटा उत्कृष्ट फिचर हो ।

४. बिटडिफेन्डर मोबाइल सेक्युरिटी एण्ड एन्टिभाइरस

बिटडिफेन्डर मोबाइल सेक्युरिटी एण्ड एन्टीभाइरसले तपाईंलाई विभिन्न माल्वेयरबाट बचाएर तपाईंको डिभाइसमा हुनसक्ने समस्या कम गर्न मद्दत गर्नेछ । याे एप प्रयाेगका लागि तपाईंले वार्षिक करिब १५ डलर तिर्नुपर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३