close

के साँच्चिकै स्मार्टफोनमा एन्टिभाइरस जरुरी छ ?

टेकपाना टेकपाना

भदौ २४, २०७७ १८:९

के साँच्चिकै स्मार्टफोनमा एन्टिभाइरस जरुरी छ ?

काठमाडौं । सुरक्षाको विषय एन्ड्रोइडका लागि सधैं विवादको विषय बन्दै आइरहेको छ । कतिपयले भन्ने गर्छन्, यदि प्रयोगकर्ता आफूले डाउनलोड गर्ने सामग्रीप्रति होसियार छन् भने एन्टीभाइरस सफ्टवेयरको आवश्यकता नै पर्दैन ।

तर अर्कोतिर जुनसुकै एन्ड्रोइड डिभाइसमा सुरक्षित एन्टिभाइरस नहुँदा माल्वेयरको खतरा धेरै रहेका रिपोर्ट समेत बाहिर आइरहेका छन् । साइबर सुरक्षा विज्ञहरु हरेक प्लेटफर्मका लागि एन्टिभाइरस महत्वपूर्ण हुने बताउँछन् ।

एन्ड्रोइड प्रोटेक्सन प्याकेजमा एन्टिभाइरस एउटा मात्र तत्व हो । यस्तो एन्टीभाइरस फिचर मात्र भएको सेक्युरिटी एप भने अहिलेको समयमा असान्दर्भिक भइसकेका छन् ।

तर धेरै फिचर भएका ठूला सुरक्षा प्याकेज भने सधैं नै सान्दर्भिक र उपयोगी हुन्छन् । एन्ड्रोइडका लागि भाइरस त्यति ठूलो खतराको विषय नभए पनि मोबाइल हराउँदा वा चोरी हुँदा त्यो कसको हातमा पर्छ र कसरी प्रयोग हुन्छ भन्ने कुराले विशेष भूमिका खेल्छ ।

अहिलेका सेक्युरिटी प्याकेजमा एन्टिभाइरस बाहेक एन्टी थेप्ट फिचर पनि राखिएको हुन्छ । तर के हामीलाई एन्ड्राेइडका लागि साँच्चै एन्टिभाइरस आवश्यक छ त भन्ने प्रश्न सधैं सबैको मनमा उठिरहेको हुन्छ ।

तर निश्चिन्त हुनुहोस्, तपाईंले फोनलाई सुरक्षित रुपमा चलाउन जान्नुभयो भने एन्ड्रोइडका लागि मात्र होइन, कुनै पनि प्लेटफर्मका लागि तपाईलाई एन्टिभाइरस आवश्यक पर्दैन । यसका लागि तपाईंले एउटा कुरा बुझ्नुपर्छ ।

भाइरस पनि मानव निर्मित हुन्छन् । किनभने भाइरस निर्माणकर्ताले यसबाट राम्रो कमाई गर्न सक्छन् ।

जति मानिसहरुले धेरै एन्टिभाइरस एप डाउनलोड वा खरिद गरेर प्रयोग गर्छन्, त्यति नै धेरै मात्रामा त्यस्ता कम्पनीले पैसा कमाउन सक्छन् । तपाईंले कहिल्यै याद गर्नु भएको छ, कुनै कुनै प्लेटफर्ममा अरुमा भन्दा धेरै भाइरस हुन्छन् ।

कुन प्लेटफर्ममा कति भाइरस हुन्छ भन्ने कुरा त्यसका प्रयोगकर्ताको संख्याले निर्धारण गर्छ । उदाहरणका लागि म्याक र लिनक्सका प्रयोगकर्ताको संख्या कम भएको कारण यी दुईको अपरेटिङ सिस्टममा एकदमै कम प्रयोगकर्ताहरु हुन्छन् ।

तर विण्डोजका प्रयोगकर्ता धेरै भएको कारण विण्डोजमा भाइरस धेरै हुन्छन् । एन्ड्रोइड पनि सर्वाधिक प्रयोग हुने प्लेटफर्म हो । त्यसैले हामी एन्ड्रोइड फोनलाई सुरक्षित राख्न विभिन्न किसिमका एन्टिभाइरस एपहरु प्रयोग गर्छौं ।

एन्टिभाइरस एप इन्स्टल गरिसकेपछि हाम्रो फोनमा विभिन्न प्रकारका नोटिफिकेसन छिनछिनमा आइरहन्छन् । कति फाइलहरु स्क्यान भए, कति भाइरसहरु डिटेक्ट भए र डिफेन्ड भए यी सबै कुराको हिसाब किताब त्यस्ता एपले नोटिफिकेसन मार्फत पठाइरहेका हुन्छन् ।

एन्टिभाइरस बिना स्मार्टफोन सुरक्षित राख्न के गर्ने ?

तर तपाईंले आफ्नो फोनलाई राम्रोसँग सुरक्षित रुपमा प्रयोग गर्ने टिप्सहरुको अक्षरस: पालना गर्नुभयो भने एन्टिभाइरसको झन्झट उठाउनु नपर्ने साइबर सुरक्षा विज्ञ सचिन ठकुरी बताउँछन् ।

वास्तवमा तपाईंले प्रयोग गर्ने एन्ड्रोइड अपरेटिङ सिस्टम लिनक्स कर्नल तथा अन्य ओपन सोर्स सफ्टवेयरको मोडिफाइड भर्सन हो । यस्तोमा सामान्यतयाः तपाईंलाई कुनै पनि किसिमको एन्टिभाइरस प्रयोग गर्नुपर्दैन ।

आफ्नो डिभाइसलाई सुरक्षित राख्न सबैभन्दा पहिले त तपाईंले जुन एन्टिभाइरस राख्नुभएको छ, त्यसलाई डिलिट गर्नुहोस् । त्यसपछि जति पनि एपहरु प्रयोग गर्नुहुन्छ, त्यसलाई गूगल प्लेस्टोरबाट मात्र डाउनलोड गर्नुहोस् ।

तर यदि तपाईंलाई कुनै थर्डपार्टी एप डाउनलोड गर्नु छ भने कुनै नाम चलेको प्रतिष्ठित एप स्टोरबाट मात्र डाउनलोड गर्नुहोस् । जस्तै अमेजन स्टोर, एपीके मिरर यस्ता एप स्टोरबाट डाउनलोड गर्न सक्नुहुन्छ ।

तर तपाईंले ती एप इन्स्टल गर्न पनि तपाईंको फोनको सेक्युरिटी सेटिङमा रहेको अनोन सोर्सवाला ट्याबलाई ईनेबल गर्नुपर्दछ । त्यो इनेबल गरेर काम सकेपछि त्यसलाई पुन: अफ गरिदिनुहोस् । 

जब तपाईं इन्टरनेटमा कुनै वेबसाइटमा जानुहुन्छ, तब तपाईंलाई विभिन्न किसिमका सुरक्षा थ्रेट आउँछन् । तर त्यसलाई बेवास्ता गरेर क्लिक नगर्नुहोस् । 

फोनमा आउने कुनै ईमेल वा अट्याचमेन्टलाई नखोल्नुहोस् । कुनै वेबसाइट खोल्दा कुनै लिंक झुक्किएर क्लिक गर्नु भएको छ भने त्यसलाई इन्स्टल नगर्नुहोस् । त्यसभित्र माल्वेयर हुनसक्छ ।

यसबाहेक रुटिङको विषय पनि यहाँ एकदमै महत्वपूर्ण छ । जबसम्म तपाईलाई रुटिङको अत्यावश्यक पर्दैन, तबसम्म रुटिङ नगर्नुहोस् ।

रुटिङ गर्दा भाइरस त आउँदैन । तर उदाहरणको लागि यदि तपाईं आफ्नो फोनलाई एडमिनिस्ट्रेटिभ मोडमा चलाइरहनु भएको छ भने यस्तो बेला डाउनलोड वा इन्स्टल भएका एपहरुले धेरै जोखिम निम्त्याउने सम्भावना हुन्छ । 

कुनै पनि एप डाउनलोड गर्दा त्यसको टर्म्स एण्ड कन्डिसनलाई गहिरोसँग ध्यान दिनुहोस् । आफ्नो एन्ड्रोइड फोनको लेटेस्ट अपडेट र सेक्युरिटी प्याच ती सबैलाई इन्स्टल गर्नुहोस् । यदि त्यसो गर्नुभयो भने तपाईं आफ्नो फोनका लागि स्वयम् एन्टिभाइरस बन्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०