close

दुई दिनमा तयार भएको नेपाली गेम लुडोले पुरा गर्‍यो ५ करोड डाउनलोड

टेकपाना टेकपाना

चैत १७, २०७७ ११:३८

दुई दिनमा तयार भएको नेपाली गेम लुडोले पुरा गर्‍यो ५ करोड डाउनलोड

काठमाडौं । नेपाली युवाहरुले बनाएको लुडो एपले ५ करोड डाउनलोड पुरा गरेको छ । यार्सा गेमले बनाएको लुडोले भर्खरै गुगल प्ले स्टोरमा ५० मिलियन डाउनलोडको आँकडा पुरा गरेको हो ।

करिब ३ वर्षअघि बनेको यो एपमा करिब २ करोड सक्रिय तथा नियमित प्रयोगकर्ता रहेका छन् । जसमध्ये सबैभन्दा धेरै भारतमा रहेको लुडो निर्माता कम्पनी यार्सा गेमका सहसंस्थापक एनजे सुवेदीले जानकारी दिए ।

‘अहिले भारतमा मात्रै लुडोको डाउनलोड दुई करोडभन्दा बढी छ,’ उनले भने, ‘नेपालमा १० लाख र बाँकी अन्य देशका हुन् ।’ यार्साले लुडोसहित म्यारिजकलब्रेकरम्मीधुम्मल, ड्राइभिङ स्कूल, सोलिटायर गरी हालसम्म एक दर्जनभन्दा बढी गेम बनाइसकेको छ ।

पोखरामा रहेको यो गेमिङ कम्पनीले बजारमा त्यस अघि नै रहेका गेमहरुसँग प्रतिस्पर्धा गर्दै यो सफलता हात पारेको हो । एक्लै हुँदा होस् वा परिवार, साथीभाइमाझ हुँदा, लुडो एउटा लोकप्रिय गेम बनेको छ ।

गेमका प्रयोगकर्ता किशोर तथा बालबालिकाभन्दा पनि मध्यम उमेर समूहका छन् । ‘हामीले एकदमै गज्जबका फिचर राखेर यो एप बनाएका थिएनौं,’ एनजे भन्छन्, ‘लुडोमा सामान्य तथा सजिलो लाग्ने यूआई यूएक्स छ । यही सरलपन धेरैले रुचाइदिनु भएको छ ।’

यसरी तयार भएको थियो लुडो

लुडो जम्मा दुई दिनमा तयार भएको प्रोजेक्ट हो । एनजेको टिमलाई एउटा मल्टी प्लेयर गेम बनाउने रहर थियो । त्यसका लागि उनीहरुले एउटा फ्रेमवर्क बनाए । उक्त फ्रेमवर्क यार्साका अर्का सहसंस्थापक तथा एनजेका भाइ राहुलले दुई दिनमै तयार पारिदिए ।

‘मैले लुडोको लागि बोर्डको डिजाइनको काम गरिदिएँ । यसरी जम्मा दुई दिनमा लुडो तयार भयो,’ उनी भन्छन् । दुई दिनमा तयार भएको लुडो साइटमा राख्ने वा नराख्ने भन्ने दोधारमै थिए एनजे ।

दोधारकै बीच साइटमा राखियो । तर अहिले त्यही लुडो नै यार्साको सबैभन्दा बढी डाउनलोड हुने गेम बनेको छ । लुडोको क्रेज अझैं बढ्दो छ । यो एप एक दिनमै चारदेखि पाँच लाख पटकसम्म डाउनलोड भएको थियो ।

‘यसले हामीलाई साना गेम पनि सफलताका आधार हुनसक्छन् भन्ने पाठ सिकाएको छ,’ एनजे भन्छन्, ‘सधैं ठूला ठूला गेम किन नबनाएको भन्ने खालका प्रश्न पनि आउँथे । पब्जी किन नबनाएको, फ्री फायर जस्ता गेम किन नबनाएको भन्ने प्रश्न पनि नआएका होइनन् ।

तर लुडोबाट हामीले साना गेम पनि मान्छेले मन पराउँछन् भन्ने बुझ्यौं । त्यसपछिका दिनमा हामीले भइरहेका गेमलाई अझ परिस्कृत गर्ने काम गर्दै आएका छौं ।’

पछिल्लो समय भने यार्साको ध्यान नयाँ एप बनाउने भन्दा पनि भएका एपलाई परिमार्जन गर्दै मनिटाइज गर्नतर्फ बढी केन्द्रीत छ । एनजे भन्छन्, ‘लकडाउनले आर्थिक अवस्थालाई अझ बढी सबल बनाइदिएको छ । घरमै बस्नु पर्दा समय विताउन गेम धेरै खेलिएकाले पनि गेमको डाउनलोड धेरै भएको छ । त्यसको सकारात्मक प्रभाव हाम्रो आम्दानी पनि देखिएको हो ।’

लुडोले चिनाएको यार्सा, यसरी बन्दैछ नेपाली अनलाइन गेमको बादशाह

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३