लुडोले चिनाएको यार्सा, यसरी बन्दैछ नेपाली अनलाइन गेमको बादशाह

काठमाडौं । सानोमा गुच्चा खेल्दा हुने रमाइलो । फुटबल, क्रिकेट खेल्दा मिल्ने खुशी । लुडो खेल्दा एक अर्कालाई पछि धकेल्दा स्वस्फूर्त रुपमा निस्किने आवाज ।

क्यारेम बोर्डमा बितेका दिन र लुकेर तास खेल्दाको त्यो डर । खेलका यी अनेक प्रशंगले धेरैलाई बाल्यकालको स्मृतिमा पुर्‍याउँछ ।

अहिलेकोभन्दा पनि अघिल्लो पुस्तामा यो सन्दर्भ अझ बढी मेल खान्छ । सानै उमेरमा स्मार्टफोनमा पहुँच पाएको अहिलेको पुस्ताले त्यस्तो अनुभव सायदै गर्न पाउँछन् ।

पब्जी, फ्रिफायर, कल अफ ड्युटी (सीओडी), क्लास अफ क्ल्यास (सीओसी), क्यान्डिक्रस, एंग्रीबर्ड, टेम्पल रन लगायतका गेम नै अहिलेको पुस्ता रमाइरहेको छ । यसैबीच लुडो, म्यारिज, कलब्रेक, रम्मी, जुटपत्ती, स्नेक एण्ड ल्याडर, धुम्बल लगायतका परम्परागत खेलहरु पनि अहिले अनलाइन गेमको रुपमा विकास भएका छन् ।

नयाँ किसिमको अनुभव दिलाउने यी गेमहरु पनि अहिलेको पुस्ताले राम्रै मन पराएका छन् । मोबाइलमा एप डाउनलोड गरेर हिँड्ने र चिया पसलमा साथीभाई भेट हुँदा चारतिर बसेर लुडोमा खेल्नेहरुको संख्या निकै ठूलो भइसकेको छ ।

हो यस्तै गेमहरु नेपाली युवाहरुले नै बनाइरहेका छन् । जसले आफ्नै देशमा बसेर अनलाइन गेमलाई राम्रै आम्दानीको स्रोत बनाएका छन् । आजभन्दा चार वर्ष अघि जन्मिएको ‘यार्सा’ अर्थात यार्सा गेम्सले यही बाटो पहिल्याएको थियो ।

तर, सन् २०१६ मा ‘यार्सा ल्याबस्’ सुरु गर्दा कम्पनीसँग गेम बनाउने कुनै योजना नै थिएन । तर, आजको समयसम्म आइपुग्दा यार्सा ल्याबलाई गेमले नै नेपाली परिवेशमा चिनाएको छ ।

‘गेम बनाउने भनेर यसको सुरुवात नै भएको थिएन,’ कम्पनीका सह-संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत एनजे सुवेदी सुनाउँछन्, ‘काठमाडौं विश्वविद्यालमा आईटी पढ्दै गर्दा कलेजको परियोजनामा गेम भने बनाएका थियौं ।

सायद त्यसबेला गेममा बढी आकर्षण भएर पनि होला । गेमबाटै आम्दानी गर्न सकिन्छ भन्ने कुरा चाहिँ त्यतिखेरै लागेको थियो । तर, कलेज सकेर सन् २०१६ मा कम्पनी खोल्दा भने मोबाइलका लागि विभिन्न एप बनाउने उद्देश्य थियो ।’

यार्सा ल्याबले बनाएका पासपोर्ट फोटो मेकर, रिचार्ज कार्ड स्क्यानर जस्ता विभिन्न यूटिलिटी एपहरु विस्तारै मनिटाइज हुँदै गएका थिए । पासपोर्ट साइज फोटो मेकर एप अहिलेसम्म ८० लाख भन्दा धेरै पटक डाउनलोड भइसकेको छ ।

एनजेका भाइ राहुल सुवेदी यार्साका अर्का सह–संस्थापक हुन् । उनी पोखराकै गण्डकी कलेजमा आईटी विषय अध्ययनरत थिए । राहुलको स्नातक पढाई सन् २०१८ मा सकियो ।

राहुलको अध्ययन पुरा हुँदै गर्दा कम्पनी विस्तारै आम्दानी गर्दै गइरहेको थियो । त्यो एउटा राम्रो समय थियो । एनजे भन्छन, ‘भाइलाई पनि रोजगारी खोज्नुपर्ने अवस्था भएन । जसले हामीलाई अझ सहज बनायो । अनी हामीले कम्पनीलाई विस्तार गर्ने योजना बनायौं ।

त्यतिबेलासम्म कम्पनी स्थापनको दुई वर्ष बितिसकेको थियो । नयाँ योजना बुन्दै गर्दा मोबाइल एपलाई नै निरन्तरता दिने वा नयाँ केही गर्ने भन्ने खालको छलफल भयो । मोबाइल एप नै बनाउँदा गेमहरु पनि बनाउने र त्यसका लागि टिम विस्तार गर्नुपर्छ भन्ने निर्णय लियौं ।’

व्यक्तिगत रुपमा एनजेले कलेजमा गेमकै प्रोजेक्ट गरेको हुँदा उनीसँग त्यसको अनुभव पनि थियो । राहुलको झन् ध्यान नै गेममा थियो । अब त्यसका लागि टिमको आवश्यकता पर्दै गयो ।

कर्मचारीको रुपमा धेरै जनालाई ल्याउनुभन्दा आईटी कलेजमा पढ्दै गरेका विद्यार्थीलाई इन्टर्नको रुपमा ल्याएर सिकाउने योजना उनीहरुले बनाए । सोही अनुरुप पहिलो चरणमा पोखरा इञ्जिनियरिङ कलेजमा अध्ययनरत १० जना विद्यार्थीलाई इन्टर्नको रुपमा हायर गरे ।

‘हामीले उनीहरुलाई सानैदेखि खेल्दै आएका गेम बनाउन सिकायौं ।,’ एनजे भन्छन, ‘इन्टर्नमा आएका १० जना मध्ये जसले राम्रो काम गर्छ, उसलाई राख्ने र राम्रो गर्न नसक्नेलाई विदा गर्ने सिस्टम कम्पनीमा बनाएका थियौं ।’

यही क्रममा ड्राइभिङ स्कूल नामक गेम तयार भयो । यो सन् २०१८ कै कुरो हो । उनी अगाडि सुनाउँछन्, ‘नेपालको ड्राइभिङ क्षेत्र सधैं हाम्रो लागि खड्किएको विषय थियो । त्यसैले ड्राइभिङ स्कूललाई समेटेर एप विकास गर्‍यौं ।’

ड्राइभिङ स्कुल

यो एप नेपालका साथै विश्वमा सडकको बायाँतर्फबाट सवारीसाधन चलाउने देशमा एकदमै रुचाइएको छ । एपमा ड्राइभिङ लाइसेन्सका लागि लिखित, ट्रायल, सिग्नल लगायतका सम्पूर्ण विषयवस्तु समेटिएका छन् ।

जब यो एप विदेशमा समेत राम्रोसँग चल्न थाल्यो, उनीहरुले यसमा अंग्रेजीका साथै हिन्दी भाषा समेत थप गरे । त्यसपछि यसका प्रयोगकर्ता अझ बढ्दै गए । जसले कम्पनीको आम्दानी पनि राम्रै हुन थाल्यो ।

यो गेमले कम्पनीको व्यवसायको मोडलमै परिवर्तन गरिदिएको एनजेको अनुभव छ । उनी भन्छन्, ‘ड्राइभिङ स्कूलले हाम्रो व्यवसायलाई पूर्ण रुपमा खेलतर्फ मोडिदियो । हामीले विस्तारै पोखराका अन्य आईटी कलेजबाट समेत विद्यार्थीहरुलाई इन्टर्नको रुपमा ल्याएर काम गराउन थाल्यौं ।’

पोखरामा अनुभवी मान्छे पाउन समस्या भएपछि यार्साले विद्यार्थीलाई इन्टर्नमा राख्ने र काम सिकाउँदै त्यहीँबाट उत्कृष्टलाई छान्ने कामलाई निरन्तरता दिँदै गयो । यसरी कम्पनीले यो छोटो अवधिमै झण्डै ४५ जना विद्यार्थीलाई इन्टर्नको रुपमा ल्याएर काममा लगाइसकेको छ ।

विद्यार्थी नै आउने भएकाले उनीहरुले सधैं साधारण गेम नै बनाए । इन्टर्नमा आउने विद्यार्थीलाई ठूलो गेम सिकाउन नसकिने भएपछि कम्पनी अन्तर्गत म्यारिज, कलव्रेक, लुडो, सोलिटायर जस्ता गेमहरुको संख्या झन्डै ४० वटा पुग्यो ।

तर, विस्तारै कम्पनीलाई ब्राण्डको रुपमा लैजानुपर्छ भन्ने भएपछि दैनिक पाँच सय भन्दा कम डाउनलोड हुने एप प्ले स्टोर र एप स्टोरबाट हटाए । हाल साइडमा ८–९ वटा गेममात्रै बाँकी रहेका छन् ।

त्यसमध्ये सबैभन्दा बढी डाउनलोड भएका गेम भने लुडो नै हो । अहिले उक्त एप चार करोडको हाराहारीमा डाउनलोड भइसकेको छ । कम्पनीको गेमिङ एप विकासको यात्रा भने तासबाटै सुरु भएको थियो ।

‘हामीले तासको गेम बनाउँदा नेपालमा तास वैधानिक नभएको भन्दै तासको एप बनाएको विषयमा अनेक प्रश्न आउन थाले,’ उनी भन्छन्, ‘तर सरकारी कार्यालयमा कर्मचारीले खल्ने भनेको तासको गेम सोलिटायर नै हो भन्ने कुरा हामीलाई थाहा थियो ।

कम्प्युटरमा हुने उक्त खेल खेल्न हुने, अनी मोबाइल एपको रुपमा विकास गरेको तासका गेम चाहिँ खेल्न नहुने कस्तो प्रश्न ?’ यार्साले दुई जनाले खेल्न मिल्ने मल्टी प्लेयर गेम बनाएको पनि होइन । उनीहरुले म्यारिज, कलव्रेक, रम्मी, धुम्मल लगायतका तासका गेम बनाएका छन् ।

यसबाट पैसाको कारोबार गर्न पनि मिल्दैन । सोलिटायर जस्तै गेम हो भनेर कम्पनीले अहिले पनि ती गेमलाई निरन्तरता दिइरहेको छ ।

अब कुरा लुडोको । उनी सम्झिन्छन्, ‘लुडो जम्मा दुई दिनमा तयार भएको प्रोजेक्ट थियो । हामीलाई एउटा मल्टी प्लेयर गेम बनाउने रहर थियो । त्यसका लागि हामीले एउटा फ्रेमवर्क बनायौं । उक्त फ्रेमवर्क राहुलले दुई दिनमा तयार पारिदिए ।

मैले लुडोको लागि बोर्डको डिजाइनको काम गरिदिएँ । यसरी जम्मा दुई दिनमा लुडो तयार भयो ।दुई दिनमा तयार भएको उक्त लुडो साइटमा राख्ने वा नराख्ने भन्ने दोधारमै थिए एनजे । दोधारकै बीच साइटमा राखियो । तर अहिले त्यही लुडो नै यार्साको सबैभन्दा बढी डाउनलोड हुने गेम बनेको छ ।

चार करोडको हाराहारीमा यो एप डाउनलोड भइसकेको छ । लुडोको क्रेज अझैं बढ्दो छ । यो एप एक दिनमै चार देखि पाँच लाख पटकसम्म डाउनलोड भएको थियो ।

‘यसले हामीलाई साना गेम पनि सफलताका आधार हुनसक्छन् भन्ने पाठ सिकाएको छ,’ उनी भन्छन्, ‘सधैं ठूला ठूला गेम किन नबनाएको भन्ने खालका प्रश्न पनि आउँथे । पब्जी किन नबनाएको, फ्री फायर जस्ता गेम किन नबनाएको भन्ने प्रश्न पनि नआएका होइनन् ।

तर लुडोबाट हामीले साना गेम पनि मान्छेले मन पराउँछन् भन्ने बुझ्यौं । त्यसपछिका दिनमा हामीले भइरहेका गेमलाई अझ परिस्कृत गर्ने काम गर्दै आएका छौं ।’

नेपालमा चलेका गेमको एउटा कलेक्सन बन्यो । त्यसमा लुडो, कलब्रेक, म्यारिज, रम्मी, किट्टी, स्नेक एण्ड ल्याडर लगायतका ८–९ वटा गेम एकै ठाउँमा थिए । त्यसलाई अलग्याएर छुट्टा छुट्टै अस्तित्व कायम गरिदिए ।

पछिल्लो समय भने यार्साको ध्यान नयाँ एप बनाउने भन्दा पनि भएका एपलाई परिमार्जन गर्दै मनिटाइज गर्नतर्फ बढी केन्द्रीत छ । एनजे भन्छन्, ‘लकडाउनले आर्थिक अवस्थालाई अझ बढी सबल बनाइदिएको छ । घरमै बस्नु पर्दा समय विताउन गेम धेरै खेलिएकाले पनि गेमको डाउनलोड धेरै भएको छ । त्यसको सकारात्मक प्रभाव हाम्रो आम्दानी पनि देखिएको हो ।’

जागिर छोडेर गेम बनाउने की ?

‘यो क्षेत्रमा भविष्यको कुरा गर्नुहुन्छ भने, म त भन्छु जागिर खानुको साटो सानो नै किन नहोस् गेम बनाएर प्ले स्टोर, एप स्टारमा राख्नुमै उचित ठान्छु,’ एनजे भन्छन्, ‘लुडा नै किन नहोस्, बबल्स, तासका गेम नै किन नहुन्, बनाएर प्ले स्टोरमा राख्ने हो भने मासिक ५० हजार कमाउनका लागि कहिँ जानु पर्दैन ।

इन्टर्नमा आउने भाइ बहिनीहरुलाई हामीले सिकाउने एउटा पाटो यो पनि हो । उनीहरुलाई अफिसमा लुडो बनाउँछौ भने घरमा डन्डिबियो बनाउ, तर साइड काम केही गर भनेर सिकाउँछौं ।’

नेपालमा कृषिलाई उत्पादनमुलक क्षेत्रको रुपमा हेरिन्छ । तर एनजे भने गेमलाई त्यो भन्दापनि उत्पादन मुलक क्षेत्र ठान्छन् । अझ डलर आम्दनी गर्ने क्षेत्र ।

यसलाई न कुनै लकडाउनले रोक्छ, न कुनै विपद्‍ले नै । आईटीमा स्नातक गरेका सबैले एउटा एउटा एप बनाउने हो भने मासिक ५० हजार सहजै आम्दानी गर्न सकिने एनजेको सुझाव छ ।

गेम बनाउँछु, प्ले स्टोरमा राख्छु भन्दा प्ले स्टोरमा अकाउण्ट बनाउनु नै सबैभन्दा ठूलो समस्याको रहेको हुन्छ । त्यसको लागि सुरुमा गूगल प्ले स्टोरमा २५ डलर र एप्पल एप स्टोरमा ९९ डलर लगानी गर्नुपर्ने हुन्छ ।

रकम धेरै नभए पनि नेपालबाट शूल्क भुक्तानि गर्न सम्भव छैन । त्यसका लागि विदेशमा बस्ने आफन्तलाई गुहार्नुको अर्को विकल्प छैन । तर, एक पटक डलर आम्दानी गर्न थालेपछि भने यो प्रक्रिया सहज हुँदै जाने एनजेको अनुभव छ ।

‘म त भन्छु, सरकारले प्रमाणपत्र राखेर विद्यार्थीलाई ऋणमा पैसा उपलब्ध गराउनुभन्दा विद्यार्थीलाई थोरै मात्रामा भए पनि विदेशमा पैसा तिर्न सकिने सुविधा दिन सक्यो भने सबैभन्दा ठूलो उपलब्धी हुनेछ,’

उनी भन्छन्, ‘यहाँ त गेम बनाउनेहरु पनि गेम बनाएर आफ्नै कम्प्युटरमा थुपारेर राख्ने धेरै छन् । त्यसलाई प्ले स्टोर र एप स्टोरमा राख्ने हो भने विस्तारै उनीहरुको घर खर्च टर्न सक्थ्यो भन्ने कुरा सरकारले कहीले बुझ्ने हो कुन्नी !’

 

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5705254
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team