close

छ महिनामै अनलाइनबाट ठगिए ६९८ जना, गुम्यो १३ करोड रुपैयाँ

टेकपाना टेकपाना

माघ २७, २०७९ ७:५७

छ महिनामै अनलाइनबाट ठगिए ६९८ जना, गुम्यो १३ करोड रुपैयाँ

काठमाडौं । आर्थिक वर्ष २०७९/०८० को सुरु छ महिनामा करिब साढे १३ करोड रुपैयाँ बराबरको अनलाइन ठगी भएको पाइएको छ । नेपाल प्रहरीका अनुसार १३ करोड ४२ लाख ३० हजार रुपैयाँभन्दा बढीको बिगो दाबी गर्दै विभिन्न शीर्षकमा शीर्षकमा ६९८ निवेदन परेका हुन् ।

सबैभन्दा धेरै १६६ ओटा सामान पार्सल सम्बन्धी उजुरी छन् । जसबाट कूल छ करोड ४४ लाख ९८ हजार १५४ रुपैयाँ ठगी भएको छ ।

त्यसपछि धेरै उजुरी पर्नेमा अनलाइन शपिङ सम्बन्धी ठगीका घटना छन् । जसमा ९२ ओटा उजुरी दर्ता भएकोमा मोबाइल, ल्यापटप र क्यामेरा खरिद बिक्रीको नाममा कूल ८९ लाख ५१ हजार ३०५ रुपैयाँ ठगी भएको छ ।

त्यसपछि क्रमशः वालेट प्रयोग गरी कूल ६८ लाख १९ हजार २५७ रुपैयाँ ठगी भएका ६४, इन्भेस्टमेन्ट (लगानी) को नाममा कूल ५२ लाख ६४ हजार २५७ रुपैयाँ ठगी भएका ६३ उजुरी र चिठ्ठा परेको भन्दै ९९ लाख ४६ हजार ३२४ रुपैयाँ ठगिएका ५९ उजुरी दर्ता भएको प्रहरीले जनाएको छ ।

यस बाहेक ओटीपी कोड प्रयोग गरी ५२ जनाबाट ४० लाख २८ हजार ६२० रुपैयाँ, फेसबुक आईडी ह्याक गरी ४१ जनाबाट ११ लाख आठ हजार ७६० रुपैयाँ र ३३ जनाबाट एक करोड १७ लाख ८४ हजार ५०० रुपैयाँ वैदेशिक ठगी भएको छ ।

यस्तै चर्चित नेपाली गर्ल नामक एप प्रयोग गरी १७ जनाबाट २८ लाख सात हजार ७७ रुपैयाँ ठगी भएको छ भने अनलाइनमा रोजगारीको विज्ञापन राखी १३ जनाबाट २७ लाख १८ हजार ३९७ रुपैयाँ ठगी भएको छ ।

यस बाहेक सिम डुप्लिकेसनबाट नौ जनाको १७ लाख ९५ हजार २१५ रुपैयाँ र स्टक ट्रेडिङ नेपालको नाममा दुई जनाको पाँच लाख ९६ हजार ३७७ रुपैयाँ ठगीमा परेको छ । प्रहरीका अनुसार दर्ता भएका उजुरी मध्ये १४० ओटा निवेदनको एक करोड ९५ लाख आठ हजार ५९७ रुपैयाँ बराबरको असुल उपर भइसकेको छ ।

बाँकी १३ ओटा कसुरमा ६४ लाख २२ हजार १३३ रुपैयाँ बराबरको बिगो रहेकोमा १८ जना पक्राउ गरी मुद्दा चलाइएको छ भने अन्य निवेदनमा थप अनुसन्धान जारी रहेको छ । 

पछिल्लो अध्यावधिक: माघ २७, २०७९ ७:५७