close

किन्ने होइन त ब्याट्री धेरै टिक्ने स्मार्टफोन ?

टेकपाना टेकपाना

फागुन ३०, २०७९ ९:२०

काठमाडाैं । फोनमा टिकाउ ब्याट्री होस् भन्ने त हर कोहीको चाहना हुन्छ। त्यसैले फोन किन्नुअघि त्यसको ब्याट्री क्षमताबारे हामी सोधखोज गर्छौं । अधिकांश स्मार्टफोनमा सामान्य प्रयोग गर्दा एकदेखि दुई दिन टिक्ने खालकै ब्याट्री राखिएको हुन्छ ।

एउटै क्षमताको ब्याट्री भएपनि कुनै फोन धेरै समयसम्म चलाउन सकिन्छ भने कतिपयमा छिट्टै ब्याट्री सकिन्छ। कतिपय मिडरेन्ज वा फ्ल्यागशिप फोनहरुमा ४००० देखि ५००० एमएएच क्षमताका ब्याट्री राखिएको हुन्छ ।

त्यस्तै बजेट फोनहरूमा ५००० देखि ६००० एमएएच क्षमताका ब्याट्री हुन्छन्। तर ब्याट्री टिकाउको हिसाबले त्यति धेरै फरक भने हुँदैन । कारण, बजेट फोनमा सफ्टवेयर अप्टिमाइजेन त्यति राम्रो नहुन सक्छ । त्योसँगै स्क्रिन, ब्राइटनेस, प्रोसेसर, क्यामेरा, स्पिकरजस्ता पार्टससमेत बढी ब्याट्री खाने खालका हुन्छन् ।

त्यसैले बजेट फोन किन्दा ब्याट्री क्षमता धेरै भएकोसँगै सफ्टवेयर अप्टिमाइजेसन पनि राम्रो भएको फोन छान्नु बुद्धिमानी हुन्छ । आज हामी ब्याट्री धेरै टिक्ने पछिल्ला बजेट फोनहरुको चर्चा गर्दैछौँ ।

टेक्नाे पाेभा थ्री (Techno Pova 3) 

यो फोनमा ७००० एमएएच क्षमताको ब्याट्री छ, जसलाई पूरा चार्ज गरेपछि ५० घण्टासम्म म्युजिक बजाउन सकिन्छ । होइन युट्युब भिडियोहरु नै हेर्छु भन्नुभयो भने पनि २० घण्टासम्म निरन्तर हेर्न सकिन्छ । त्यस्तै गेमका पारखीले एक फुल चार्जमा ८ घण्टासम्म निरन्तर गेम खेल्नका लागि ब्याट्री ब्याकअप पाउन सक्छन् । भनिसकेपछि सामान्य प्रयोग गर्नेहरुका लागि त यो फोनले चारदेखि पाँच दिन मज्जासँग ब्या्ट्री ब्याकअप दिनसक्छ। यसलाई चार्ज गर्न चाहिँ झण्डै दुई घण्टा लाग्छ ।

किन कि यसले २५ वाटको मात्र चार्जिङ सपोर्ट गर्छ । यद्यपि ठूलो ब्याट्री क्षमताको भएको बजेट फोनमा २५ वाटको चार्जिङ उपलब्ध हुनु भनेको राम्रो नै हो । यसको अलवा यो फोनलाई पावर बैंकको रुपमा उपयोग पनि गर्न सकिन्छ । कतै लामो यात्रामा हुनुहुन्छ भने यस्तो फोन त्यसै पनि उपयोगी हुने भइहाल्यो ।

साथमा अर्को फोन चार्ज गर्नु परेको खण्डमा १० वाटको रिभर्स चार्जिङसेवा पनि यसमा उपलब्ध छ । यदि ब्याट्री टिक्ने फोन नै तपाईँको मुख्य टार्गेट  हो भने यो फाेन तपाईँको लागि उत्तम विकल्प बन्नसक्छ । यो फाेनको मूल्य नेपाली बजारमा लगभग २४ हजार रुपैँया पर्छ । 

अनर एक्स सेभेन ए (Honor x7a)

२२ हजार ९०० रुपैँया मूल्य रहेको याे फाेन पनि ब्याट्री धेरै टिक्ने बजेट फोनमै पर्छ । यो फोनमा ६००० एमएएच क्षमताको ब्याट्री छ, जुन Techno Pova 3 भन्दा कम हो । तर ६००० एमएएच भनेको स्मार्टफोनका लागि पावरफुल ब्याट्री नै हो ।

फोन सिंगल चार्जमा सामान्य प्रयोग गर्दा तीन दिन मजासँग चल्छ । भिडिओहरू धेरै हर्नुहुन्छ भने २२ घण्टासम्म यसले ब्याट्री ब्याकअप दिनसक्छ, जुन हाम्रो आवश्यकता भन्दा बढी नै हो। फोनमा २२.५ वाटको चार्जिङ दिइएको छ। जसबाट यो फोन फुल चार्ज हुन दुई घण्टा १० मिनेट जति लाग्छ । यसमा पनि ५ वाटको रिभर्ज चार्जिङ उपलब्ध छ । 

सामसङ ग्यालेक्सी एफ१३ (Samsung Galaxy F13)

६००० एमएएच ब्याट्री क्षमता भएको सामसङ ग्यालेक्सी एफ१३ टिकाउ ब्याट्री भएको अर्को स्मार्टफोन हो । फोनमा १५ वाटको वायर्ड चार्जिङ छ । ब्याट्री क्षमता अनुसार यसमा चार्जिङ सपाेर्ट भने कम छ । त्यसैले यो फोनलाई फुल चार्ज हुन झन्डै दुई घण्टा लाग्छ ।

सामान्य प्रयोग गर्दा फोन दुई दिनसम्म टिक्ने बताइएको छ । ब्याट्रीसँगै क्यामेरा र प्रोसेर पनि यो फोनमा ठिकठाक नै छ । यो फाेनको मूल्य पनि २४ हजार रुपैँया पर्न आउँछ । 

तपाईँले अझै कम बजेटमा टिकाउ ब्याट्री क्षमता भएको सामसङको अर्को फोन ​Samsung A03s किन्न सक्नुहुन्छ । यसमा ५००० एमएएच ब्याट्री क्षमता र १५ वाटको चार्जिङ पाउन सकिन्छ। यो फाेनको मूल्य १६ हजार रुपैँया पर्न आउँछ ।

Infinix hot 20 play पनि ६००० एमएएच क्षमताको ब्याट्री भएको बजेट फोन हो । १५ हजार ८०० मूल्य पर्ने यो फोन सामान्य प्रयोग गर्दा दुई देखि तीन दिन मज्जासँग चल्छ । फोनमा १८ वाटको चार्जिङ दिइएको छ र याे  फाेनले ५ वाटको रिभर्स चार्जिङ पनि सपार्ट गर्छ । यस फाेनमा ब्याट्रीलाई ० देखी १०० प्रतिशत चार्ज गर्न साढे दुई घण्टाभन्दा बढी समय लाग्छ ।

पछिल्लो अध्यावधिक: फागुन ३०, २०७९ १०:१०