close

उड्यो साढे ८ लाख लाइक भएको गोरखापत्रको फेसबुक पेज

टेकपाना टेकपाना

चैत ९, २०७९ १७:१८

उड्यो साढे ८ लाख लाइक भएको गोरखापत्रको फेसबुक पेज

काठमाडौं । सरकारी पत्रिका गोरखापत्रको फेसबुक पेज गायब भएको छ । बुधबार बेलुकादेखि साढे आठ लाख लाइक भएको ‘गोरखापत्र अनलाइन’ नामक फेसबुक पेज उडेको हो ।

त्यसो त केही महिना अघि पनि गोरखापत्रको फेसबुक पेज हराएको थियो । लामो प्रयासपछि ‘रिकभर’ भएको फेसबुक पेज पुनः गायब भएको हो । वार्षिक करोडौँको आम्दानी गर्ने र सरकारी बजेट समेत प्राप्त गर्ने उक्त सरकारी सञ्चार माध्यमका सामाजिक सञ्जाल अकाउन्ट भने भेरिफाइ हुन सकेका छैनन् ।

साइबर सुरक्षा प्रति सजग नहुँदा गोरखापत्रको फेसबुक पेज उडेको हो । पेज एड्मिन एक्सेस भएका फेसबुक अकाउन्ट अथवा डिभाइसहरू ह्याकरको पहुँचमा पुगेको अवस्थामा यस किसिमको समस्या आउने गरेको छ ।

खासगरी धेरै लाइक तथा फलोअर भएका फेसबुक पेजहरूलाई ह्याकरले निशाना बनाउँदै आएका छन् । गोरखापत्रका कार्यकारी अध्यक्ष विष्णु सुवेदीले अहिलेसम्म कारण पत्ता नलागेको बताए । "हामीले साइबर ब्यूरोलाई यस विषयमा लेखेर पठाएका छौँ," उनले भने । 

गोरखापत्र अनलाइन प्रकाशनका निमित्त सम्पादक नारदमुनि गौतमले भने आन्तरिक समस्याका कारण फेसबुक पेज हटेको दाबी गरे । "हाम्रो टिम पेज फिर्ता ल्याउने प्रयासमा छ," उनले भने, "सम्भवतः भरे भोलिसम्ममा पेज पुनः सञ्चालनमा आउँछ ।"

पछिल्लो अध्यावधिक: चैत ९, २०७९ १७:१८