close

बालबालिकाका लागि नयाँ ई-लर्निङ प्लेटफर्म आउँदै

टेकपाना टेकपाना

चैत ११, २०७९ ९:१५

बालबालिकाका लागि नयाँ ई-लर्निङ प्लेटफर्म आउँदै

काठमाडौं । शैक्षिक प्रविधि कम्पनी चिम्पभाइनले ई-लर्निङ प्लेटफर्म ल्याउने तयारी गरेको छ । कम्पनीले आउँदो साता गेमिफाइड ई-लर्निङ प्लेटफर्म ल्याउन लागेकाे हाे ।

देशभरका ग्राहकका लागि उपलब्ध हुने यो प्लेटफर्ममा ग्राहकले सहज युजर इन्टरफेसमार्फत 'प्रि-के' देखि कक्षा ८ सम्म नेपाली पाठ्यक्रममा आधारित  मुख्य विषयहरू नेभिगेट गर्न र पाठ्यक्रम चयन गर्नसक्ने जनाइएकाे छ ।

''प्लेटफर्ममा भएका गेमहरू नेपाली पाठ्यक्रममा आधारित छन् र ती गेमरुले अंग्रेजी, गणित, सामाजिक अध्ययन, विज्ञानजस्ता प्रमुख विषयलाई समेट्छन्,'' कम्पनीकी कार्यकारी निर्देशक साश्या पौडेलले भनिन्, ''यसले कक्षा ८ सम्मका विद्यार्थीहरूलाई आफ्नो ज्ञान र सीप सिक्न र सुधार गर्न एक आकर्षक र नवीनतम माध्यम उपलब्ध गराउँछ ।''

सिकाइलाई अझै उपलब्धिमूलक बनाउन प्लेटफर्ममा गेमसँगै क्विज र फ्ल्याशकार्डहरु पनि समावेश गरिएको उनले उल्लेख गरिन् ।

“हाम्रो लक्ष्य सिकाइलाई रमाइलो र सबैका लागि पहुँचयुक्त बनाउनु हो । विद्यार्थीहरूको सिकाइ उपलब्धि गेमिफाई लर्निङमार्फत् अझ उपलब्धिमूलक बनाउन सक्छौँ भन्ने कुरामा  हामी विश्वस्त छौँ,'' पौडेलले भनिन् ।

चिम्पभाइनकी सेल्स हेड सृष्टि श्रेष्ठले यो प्लेटफर्ममार्फत् बालबालिकाले आफ्नो स्क्रिन समयलाई उपलब्धिमूलक बनाउनसक्ने विचार राखिन् ।  

''आधुनिकता बढेसँगै हालका बालबालिकालाई मोबाइल फोन र ग्याजेट प्रयोग गर्नबाट रोक्न असम्भव छ । त्यही समयलाई उपलब्धिमूलक भने अवश्य बनाउन सकिन्छ । त्यसैले हामीले एउटा प्लेटफर्म सिर्जना गरेका छौँ, जहाँ बालबालिकाहरूले आफ्नो स्क्रिन समयलाई उपलब्धिमूलक बनाउन सक्छन्,” उनले भनिन् ।

पछिल्लो अध्यावधिक: चैत ११, २०७९ १०:५