close

त्रिविमा कस्तो छ बौद्धिक चोरी परीक्षणको अवस्था ?

सञ्जीवन राई सञ्जीवन राई

चैत १५, २०७९ १८:३९

त्रिविमा कस्तो छ बौद्धिक चोरी परीक्षणको अवस्था ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले दुई वर्षअघि थेसिस (शोध प्रतिवेदन) मा हुने बौद्धिक चोरीका घटना नियन्त्रण गर्न 'प्लेजरिजम डिटेक्टर सफ्टवेयर' सञ्चालनमा ल्यायो । त्यतिबेला त्रिविले एमफिल र विद्यावारिधि (पीएचडी) तहमा बौद्धिक चोरी परीक्षण अनिवार्य गरेको थियो ।

स्नातकोत्तर तहमा भने सम्बन्धित डीन कार्यलयले प्लेजरिजम परीक्षणसम्बन्धी निर्णय गर्नसक्ने व्यवस्था थियो । हाल अधिकांश डीन कार्यालयले बौद्धिक चोरी परीक्षण अनिवार्य गर्न थालेका छन् ।

त्यस्तै पछिल्लो समय स्नातक तहमा समेत यसको अभ्यास हुन थालेको छ । विश्वविद्यालयले विभिन्न शैक्षिक कार्यक्रमहरूका थेसिस, प्रोजेक्ट वर्क, फिल्ड रिपोर्ट, इन्टर्नशिप रिपोर्ट, टर्म पेपर लगायतका अनुसन्धान ग्रन्थमा प्लेजरिजम परीक्षण गर्ने गरेको त्रिवि केन्द्रीय पुस्तकालयका सूचना अधिकारी विजय शर्माले बताउँछन् ।

साथै विदेशमा अध्ययन गरेर त्रिभुवन विश्वविद्यालयमा समकक्षता गर्न आउनेहरूलाई समेत प्लेजरिजम परीक्षणपछि मात्र समकक्षता दिन सुरुवात गरेको उनले जानकारी दिए । 

विद्यार्थीले बौद्धिक चोरी परीक्षण कसरी गर्ने ?

त्रिभुवन विश्वविद्यालयले बौद्धिक चोरी परीक्षणका लागि आईथेन्टिकेट (iThenticate) सफ्टवेयर प्रयोग गरिरहेको छ । तर विश्वविद्यालयले विद्यार्थीलाई बौद्धिक चोरी परीक्षणका लागि उक्त सफ्टवेयरको अकाउन्ट भने दिएको छैन ।

केन्द्रीय पुस्तकालयले प्रत्येक आङ्गिक क्याम्पसका लागि पाँच र सम्बन्धनप्राप्त कलेजका लागि दुई ओटा युजर आईडी उपलब्ध गराई विद्यार्थीलाई सम्बन्धित क्याम्पसबाट नै परीक्षण गर्न व्यवस्था गरेको छ । त्यसैगरी अन्य विश्वविद्यालय तथा शैक्षिक संस्थाका विद्यार्थीले केन्द्रीय पुस्तकालयबाट नै प्लेजरिजम परीक्षण गर्नुपर्ने हुन्छ ।

प्लेजरिजम परीक्षणको शुल्क कति लाग्छ ?

त्रिवि कार्यकारी परिषद्ले विभिन्न तह अनुसार प्लेजरिजमको शुल्क निर्धारण गरेको छ ।

कार्यकारी परिषद्ले पीएचडी तहको एउटा थेसिसका लागि २५०० रूपैयाँ, एमफिल तहको एउटा थेसिसका लागि २००० रूपैयाँ, स्नातकोत्तर र स्नातक तहको एउटा थेसिसका लागि १००० रूपैयाँ शुल्क तोकेको छ ।

त्यस्तै त्रिविबाट अनुदान लिएर गरिएका मिनि रिसर्चका लागि २००० रूपैयाँ र टर्मपेपर/आर्टिकल/प्रपोजल जस्ता अन्य अनुसन्धान ग्रन्थहरूका लागि ५०० रूपैयाँ शुल्क निर्धारण गरिएको छ ।

अन्य सफ्टवेयर मान्य छ कि छैन ?

प्लेजरिजम परीक्षणका लागि विभिन्न कम्पनीले सफ्टवेयर निर्माण गरेका छन् । तर विद्यार्थीले तयार पारेका अनुसन्धान ग्रन्थको बौद्धिक परीक्षणका लागि त्रिविले प्रयोग गर्ने आईथेन्टिकेट सफ्टवेयर नै प्रयोग गर्नुपर्ने प्रावधान छ ।

नि:शुल्क प्रयोग गर्न सकिने प्लेजरिजम सफ्टवेयर आधिकारिक नहुने केन्द्रीय पुस्तकालयका सूचना अधिकारी शर्माले बताए । त्यस्तै त्रिविले प्रयोग गरेको सफ्टवेयरले धेरै रेन्जमा स्क्यान गर्न सक्ने, धेरै डकुमेन्ट प्रयोग गर्ने भएकाले आईथेन्टिकेट नै प्रयोग गर्नुपर्ने उनको भनाइ छ । 

तर विद्यार्थीले आफ्नो निजी प्रयोगका लागि भने त्यस्ता नि:शुल्क प्लेजरिजम परीक्षण गर्न सक्नेछन् । त्यसरी आफूले नि:शुल्क टुलहरू प्रयोग गरेर बौद्धिक चोरी परीक्षण गर्दा समस्या देखिएन भने आईथेन्टिकेट सफ्टवेयरले पनि ‘रिजेक्ट’ गर्ने सम्भावना कम हुने उनले उल्लेख गरे । त्यसैले विद्यार्थीलाई शुरूमा नि:शुल्क टुलहरू प्रयोग गर्न उनको सुझाव छ । 

बौद्धिक चोरी परीक्षण गर्दाको सेटिङ

विश्वविद्यालयले बौद्धिक चोरी परीक्षण गर्दा विभिन्न मापदण्ड तयार पारेको छ । यसअन्तर्गत ‘सिमिलारिटी इन्डेक्स’ (similarity index) २० प्रतिशतसम्म हुनुपर्ने छ । अर्थात् २० प्रतिशतसम्मको प्लेजरिजमलाई त्रिभुवन विश्वविद्यालयले मान्यता दिने गर्छ ।

पीएचडी र एमफिलका लागि भने दुई तहको मापदण्ड तोकिएको उनले जानकारी दिए ।

“यी दुई तहका विद्यार्थीहरूले तयार पार्ने मेथोडोलोजी, लिट्रेचर रिभ्युमा २५ भन्दा कम र रिजल्ट कन्क्लुजन, फाइन्डिङ्स र डिस्कसनमा भने १० प्रतिशतभन्दा कमको प्लेजरिजम मान्य हुन्छ,” उनले भने । 

बौद्धिक चोरी परीक्षण हुँदा र नहुँदाको अन्तर

अनुसन्धान ग्रन्थहरूमा बौद्धिक चोरी नियन्त्रण गर्न सफ्टवेयरको प्रयोग पछि त्रिभुवन विश्वविद्यालयले सकारात्मक नतिजा पाएको जनाएको छ ।

अनुसन्धान ग्रन्थहरूमा धेरै चोरी हुने, किनेको थेसिस बुझाउने जस्ता समस्या पहिले भएपनि अहिले त्यस्ता गतिविधि धेरै कम भएको केन्द्रीय पुस्तकालयका सूचना अधिकारी शर्माले अनुभव सुनाए ।

त्यस्तै उनले आईथेन्टिकेट सफ्टवेयरको प्रयोगपछि थेसिस बुझाउँदा विद्यार्थीले धेरै मेहनत गर्न थालेको बताए । साथै अनुसन्धानमूलक लेखहरू, थेसिस लेखनमा धेरै सुधार भएको उनको अनुभव छ ।

अब त्रिविको प्लेजरिजम नीति कस्तो ?

त्रिविले प्लेजरिजम परीक्षण गर्न थालेको दुई वर्ष कटिसकेको छ । यो समय अवधिमा यसबारे धेरै नयाँ कुराहरू सिकेको उनले उल्लेख गरे । त्यस्तै प्लेजरिजम परीक्षण नयाँ भएका शिक्षकहरू अब यसमा अभ्यस्त भइसकेको समेत उनले सुनाए ।

यसैले अब त्रिवि ‘सिमिललारिटी इन्डेक्स’ परिमार्जन गर्ने तयारीमा रहेको उनले जानकारी दिए । छिमेकी देशहरू चीन र भारतका विश्वविद्यालयहरूले बौद्धिक परीक्षण नीतिको अध्ययन गरी अब त्रिविले यसबारे नीति परिमार्जन उनको भनाइ छ ।

पछिल्लो अध्यावधिक: चैत १७, २०७९ १३:५२