close

एलन मस्कका कारण ट्वीटर दयनीय अवस्थामा

टेकपाना टेकपाना

चैत १६, २०७९ ९:३६

एलन मस्कका कारण ट्वीटर दयनीय अवस्थामा

काठमाडौं । एलन मस्कको हातमा ट्वीटर पुगेको करिब पाँच महिना पुगेको छ । मस्कको हातमा परेदेखि नै ट्वीटरको दयनीय अवस्था सुरु भएको छ ।

सुरुवाती दिनमा अधिकांश विज्ञहरूको सहभागिता हुने भएकाले ट्वीटरप्रति प्रयोगकर्ताको मोह बढ्दो थियो । अन्य सामाजिक सञ्जाललाई जुन ढङ्गले हेरिएको थियो, ट्वीटरप्रति मानिसहरूको धारणा विल्कुलै फरक थियो ।

आधिकारिक सूचनाका स्रोत पाइने, विज्ञ तथा जानकारमाझ आफ्ना विचार शेयर गर्न पाउने उद्देश्यले सर्वसाधारणले पनि ट्वीटरको प्रयोग गर्ने गर्थे । औसत इन्टरनेट प्रयोगकर्ता पनि ट्वीटरको विशेषताले प्रभावित थिए ।

मानिसहरूलाई नयाँ सूचना दिने, रोचक तथा जिज्ञासा बढाउने किसिमका सूचना हुनुले पत्रकार वा अन्य व्यक्तिका लागि पनि ट्वीटर उत्तिकै महत्त्वपूर्ण प्लेटफर्म थियो । पत्रकारहरूका लागि ट्वीटरले एक विशेष माध्यमका रूपमा काम गरेको थियो ।

विशेषगरी विशेषज्ञहरू वा सेलिब्रेटीहरू बीचको कुराकानीमा निर्भर भई समाचार लेख्ने पत्रकारका लागि ट्वीटर एक अभिन्न स्रोत नै बनेको थियो । आफ्ना विचार वा विशेषज्ञतामा अडियन्सको रुचि देखेपछि विज्ञहरू पनि खुलेर आफ्ना धारणाहरू राख्न थालेका थिए ।

एक पटक राखिसकेका ट्वीट पुनः एडिट गर्न नमिल्ने भएकाले पनि त्यहाँ राखिएका विज्ञहरूका भनाइलाई आधिकारिक मानेर प्रयोग गर्न सकिन्थ्यो । कोही मध्यस्थकर्ताको सहयोगबिनै विज्ञहरूका कुरा सर्वसाधारणले पाउने भएपछि ट्वीटरको महत्त्व अन्य प्लेटफर्मको तुलनामा धेरै थियो ।

ट्वीट रिप्लाइमा उनीहरूले दिएका प्रतिक्रियाले पनि ट्वीटरको लोकप्रियतामाथि इट्टा थप्ने काम गरेको थियो । हरेक प्रकारका प्रयोगकर्ताको आकर्षण ट्वीटरमा बढ्न थालेपछि इन्स्टाग्राम र फेसबुकजस्ता प्लेटफर्मभन्दा ट्वीटरलाई बढी महत्त्व दिन थालिएको थियो ।

यसलाई मानिसहरूले छलफल गर्ने उपयुक्त माध्यम बनाएका थिए । यी सबैभन्दा पनि विशिष्ट ट्वीटर एउटा सूचनाको नेटवर्कका रूपमा स्थापित भएको थियो । त्यसपछि मात्र यो प्लेटफर्म सामाजिक सञ्जालका रूपमा देखिएको थियो ।

सुरुवाती दिनमा ट्वीटरमा कमजोरी नै नभएको भन्ने चाहिँ होइन । तर, यसका राम्रा पक्षका अघि ट्वीटरका कमजोर पक्षहरू छायामा परेका थिए । अहिले यी राम्रा पक्षबारे बहस गर्दा मजाक जस्तो लाग्न सक्छ । किनभने ट्वीटर जुन स्वरूपमा विकास भएको थियो, अहिले यसको स्वरूप फरक भएको छ । यसले प्रभाव कमजोर भएको छ । समग्रमा भन्नुपर्दा ट्वीटर ट्वीटजस्तो नै रहेन ।

ट्वीटर एलन मस्कको हातमा परेपछि यसको अस्तित्व नै तहस नहस भएको छ । यसका जति पनि महत्त्वपूर्ण तथा मूल्यवान फिचर थिए, सबै धरापमा परिसके भन्दा फरक नपर्ला । प्लेटफर्म जो विज्ञ तथा सेलिब्रेटीका कारण लोकप्रिय बनेको थियो, सबै यस प्लेटफर्मबाट टाढिने क्रम बढेको छ ।

पत्रकारहरू ट्वीटरलाई आफ्नो प्राथमिकतामा राख्न चाहँदैनन् । यो राम्रा मान्छेभन्दा पनि नराम्रा मान्छे तथा स्क्यामरको अड्डामा परिणत भइरहेको छ ।

ट्वीटरको यो अवस्थालाई मस्कले जे जस्तो रूपमा हेरेपछि, समग्रमा ट्वीटर विलय हुने बाटोमा छ भन्ने अनुमान लगाउन गाह्रो छैन । ट्वीटरको स्वामित्व आफूले लिने बित्तिकै मस्कले महत्त्वपूर्ण पदमा रहेका कर्मचारीलाई बर्खास्त गरेका थिए ।

ट्वीटरले प्रतिबन्ध लगाएका अधिकांश ट्वीटर अकाउन्टको प्रतिबन्ध फुकुवा गरेका थिए । अनि बिना कारण पत्रकार तथा अन्य सेलिब्रेटीको अकाउन्टमाथि प्रतिबन्ध लगाएका  थिए ।

ट्वीटरले रोजेको सबैभन्दा गलत बाटो नै 'पेड भेरिफिकेसन' भएको विज्ञहरूको जिकिर छ । वास्तवमा 'भेरिफिकेसन' मार्क त्यस्ता प्रयोगकर्ताले पाउनुपर्छ, जसलाई त्यसको जरुरत छ । त्यस्तो कम्पनीले भेरिफिकेसन मार्क पाउनुपर्छ, जसको नामको दुरुपयोग हुने सम्भावना उच्च होस् । ट्वीटरले सुरुवाती दिनमा यही नीतिलाई अवलम्बन गर्दै आएको थियो ।

तर, जब ट्वीटर एलन मस्कको हातमा पर्‍यो, उनले पेड भरिफिकेसन सेवा सुचारु गरे । उनले उक्त फिचर सार्वजनिक गर्नासाथ विभिन्न प्रख्यात व्यक्ति तथा कम्पनीको नक्कली अकाउन्टहरू बन्न थाले ।

यस्ता अकाउन्टमा भेरिफिकेसन मार्क हुँदा प्रयोगकर्ता कुन आधिकारिक र कुन अनाधिकारिक अकाउन्ट भन्ने छुट्याउनै नसक्ने अवस्थामा पुगे । यसो गर्दा विभिन्न कम्पनीको शेयर मूल्यमा ठूलो गिरावट आएको विभिन्न सञ्चारमाध्यमले उल्लेख गरेका थिए ।

यस समस्यालाई न्यूनीकरण गर्न ट्वीटरले कम्पनीलाई एक किसिमको, सरकारी व्यक्ति वा कार्यालयलाई एक किसिमको र सर्वसाधारण तथा सेलिब्रेटीलाई एक किसिमको भेटिफिकेसन मार्क दिने योजना बनायो र कार्यान्वयनमा ल्यायो ।

यति गर्दा पनि ट्वीटरको विरोध कम हुन थालेको भने छैन । कम्पनी सेवामा कम र पैसामा बढी काम गर्न लागेको मस्कले पछिल्लो पटक गरेका घोषणाबाट पुस्टि हुन्छ ।

अप्रिल फुल अर्थात् अप्रिल एक गतेबाट सुरु हुने गरी ट्वीटरले भेरिफिकेसन मार्क पाउने कम्पनी तथा व्यक्तिबाट मासिक आठ अमेरिकी डलर असुल्ने योजना बनाएको छ । भन्नुको अर्थ, जो प्रयोगकर्ताले उक्त शुल्क तिर्दैनन् उनीहरूको भेरिफिकेसन मार्क खोसिने भएको छ ।

यसले पनि के सङ्केत गर्छ भने ट्वीटर आफ्ना विज्ञ प्रयोगकर्तालाई गुमाइरहेको छ । मेरो अकाउन्ट आधिकारिक हो भनेर देखाउनकै लागि मानिसहरू मासिक आठ डलर तिर्न तयार छैनन् । यसै पनि खरिद गरेको भेरिफिकेसन मार्कको महत्त्व त्यति हुँदैन जति पहिले थियो ।

ट्वीटरको यही रणनीतिका कारण पनि कैयौं व्यक्तिले ट्वीटर अकाउन्ट नै डिलिट गरेका छन् । त्यसकारण पनि यस प्लेटफर्ममा प्रयोगकर्ताको आकर्षण कम र विकर्षण बढिरहेको पछिल्ला केही घटनाले देखाएका छन् ।

शुल्क तिरेकै भरमा प्रयोगकर्ताको ट्वीट धेरैमाझ पुग्नु र राम्रै भए पनि शुल्क नतिरेको खण्डमा उक्त प्रयोगकर्ताको ट्वीट धेरै प्रयोगकर्तामाझ नपुग्नुले पनि धेरै प्रश्न खडा गरेको छ ।

पैसा तिरेरै आफ्ना ट्वीट धेरैमाझ पुर्‍याउन विज्ञापनदाता बाहेक अन्यको रोजाइमा खासै पर्दैन । त्यसैले यस प्लेटफर्मबाट भरपर्दो प्रयोगकर्ता बाहिरिरहेका छन् ।

विज्ञापनदाताले पनि ट्वीटरलाई विज्ञापनका लागि भरपर्दो माध्यम मान्न छाडिसके, जसले गर्दा कम्पनीले आफ्ना प्रमुख विज्ञापनदाता गुमाइसकेको छ । यसले पनि कम्पनी दयनीय अवस्थाको सामना गरिरहेको अड्कल लगाउन सकिन्छ ।

आफ्नै नामबाट खोलिएका नक्कली अकाउन्ट देख्दा प्रयोगकर्ता दुःखी छन् । यदि उनीहरू शुल्क तिर्न तयार भएनन् भने उनीहरूको वास्तविक अकाउन्टमा भएको भेरिफिकेसन मार्क हट्नेछ । र, उनीहरूको नाममा खोलिएको नक्कली अकाउन्ट नै आधिकारिक अकाउन्ट देखिनेछ ।

यति मात्र होइन । मस्कका अनुसार अब शुल्क तिर्ने प्रयोगकर्ताले मात्र ट्वीटरको भोटिङ पोलमा भोट गर्न सक्नेछन् । यो गर्नुको मुख्य उद्देश्य प्लेटफर्मबाट एआई बट अकाउन्ट हटाउनु भनेको भएपनि यसको प्रत्यक्ष असर सर्वसाधारण प्रयोगकर्तालाई पुग्नेछ ।

कम्पनीलाई सेवाभन्दा पनि पैसा कमाउने माध्यमका रूपमा मस्कले अगाडि बढाइरहेका छन् ।

हुन त मस्कले यसको सङ्केत कम्पनीको मूल्य निर्धारण गर्ने बेलै देखाएका थिए । कम्पनीको बजार मूल्य जति छ, त्यसको केही गुणा बढी शुल्क तिर्न तयार भएका मस्कको प्रमुख उद्देश्य भने यस्तो थिएन ।

उनी कम्पनीलाई निजीकरण गरेर त्यसलाई सर्वसाधारणको हितमा प्रयोग गर्न चाहन्थे । तर, उनी अहिले आफ्नो उद्देश्यलाई बिर्सेर पैसामा केन्द्रित हुन थालेका छन् ।

यसो त विश्वकै धनाढ्य व्यक्तिलाई पैसा कमाउन ट्वीटर नै किन रोज्नुपर्‍यो भन्ने धेरैको जिज्ञासा छ । मस्क यसरी पैसाको पछाडि पर्नुको कारण स्पष्ट छैन ।

यस्ता विविध कारण र घटनाक्रमले गर्दा ट्वीटरले मन्द विष सेवन गरेर भित्रभित्रै मरिरहेको संज्ञा दिनेहरू बढेका छन् । यसको दोष ट्वीटर बोर्ड, एलन मस्कलाई बढी जान्छ ।

हुन त ट्वीटर मस्कको हातमा परेको धेरै समय भएको छैन । उनी कम्पनीलाई बढावा दिने व्यक्तिका रूपमा परिचित छन् । उनको अनुभव, काम गर्ने शैली र जिद्दिपनाले कम्पनीलाई कस्तो अवस्थामा पुर्‍याउँछ भन्ने कुरा यकिन गरेर भन्न सकिने अवस्था छैन ।

हेरौँ मस्कले ट्वीटरलाई जीवित राख्छन् वा मृत्युवरण गरेको टुलुटुलु हेरेर बस्छन् । 

पछिल्लो अध्यावधिक: चैत १६, २०७९ ९:३६