close

‘समावेशी इन्टरनेटका लागि नेपाली भाषामै डोमेन प्रणाली आवश्यक’

टेकपाना टेकपाना

चैत १६, २०७९ १५:२४

‘समावेशी इन्टरनेटका लागि नेपाली भाषामै डोमेन प्रणाली आवश्यक’

काठमाडौं । डिजिटल समावेशिताका लागि स्थानीय भाषामा डोमेन प्रणालीको व्यवस्थापन गर्न सरोकारवालाले जोड दिएका छन् । मंगलबार राजधानीमा 'युनिभर्सल एसप्टेन्स (यूए) डे' काे अवसरमा आयोजित एक कार्यक्रममा सरोकारवालाले नेपालका स्थानीय भाषा सपाेर्ट गर्नेगरी प्रणालीकाे निर्माण तथा व्यवस्थापन गर्न जाेड दिए ।

धेरै भाषा तथा लिपीमा डोमेन सपोर्ट गराउने उद्देश्यले विश्वभर नै इन्टरनेटको सार्वभौमिक स्वीकृति अर्थात् 'युनिभर्सल एसप्टेन्स डे' मनाउने गरिन्छ ।

नेपालमा कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासघ) र युथ आईजीएफ नेपालको संयुक्त आयोजना तथा इन्टरनेट करपोरेसन फर असाइन्ड नेम्स एन्ड नम्बर्स (आईक्यान) सँगको समन्वयमा भएकाे कार्यक्रममा नीति निर्माता, सरकारी अधिकारीहरू, इन्टरनेट सेवाप्रदायक, कानून व्यवसायी, नागरिक समाज, इन्टरनेट गभर्नेन्स तथा सूचना प्रविधि क्षेत्रका व्यक्तिहरूकाे उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरूले सबै वैध डोमेन नेम तथा ईमेल एड्रेस सबै खालका इन्टरनेट एप्लिकेसन, डिभाइस तथा सिस्टमले उपयोग गर्नसक्ने कुराको सुनिश्चितता गराउन आवश्यक रहेकाे भनाइ राखे ।

कार्यक्रममा सबडोमेनको महत्त्व के छ, यसबाट वेबसाइट होस्ट गर्दा के-के फाइदा हुन्छन्, यसले स्थानीय भाषा र संस्कृतिको प्रवर्द्धन कसरी गर्न सक्छ, विदेशमा कस्तो अभ्यास भइरहेको छ र नेपालमा कसरी प्रयोगमा ल्याउन सकिन्छ भन्ने विषयमा सरोकारवालाले आफ्नो राय दिएका थिए ।

सो अवसरमा विद्युतीय सुशासन आयोगमन प्रमुख कार्यकारी अधिकृत दिपेश विष्टले नेपालमा सम्बन्धित निकायहरूबीच उचित सहकार्य हुन नसकिरहेको चर्चा गर्दै यससम्बन्धी उपयुक्त नीतिगत व्यवस्था गर्न आवश्यक रहेको धारणा राखे । उनले देवनागरीसहित ग्रामीण क्षेत्रका समुदायको स्थानीय भाषालाई सपोर्ट गर्नेगरी डोमेन प्रणालीको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा ‘डोमेन नेम र ईमेल एड्रेसको युनिभर्सल एसप्टेन्स’ विषयमा युथ आईजीएफ नेपालका सदस्य विवेक सिलवालले कार्यपत्र प्रस्तुत गरेका थिए । त्यस्तै तीन फरक विषयमा प्यानल छलफल समेत गराइएको थियो ।

पहिलो छलफलमा सहभागी क्यान महासघका सदस्य तथा फाेस नेपाल कम्युनिटीका सह-संस्थापक हेमपाल श्रेष्ठ, काठमाडौं विश्वविद्यालयका सहप्राध्यापक डा. बालकृष्ण बल, सुबिसु केबलनेटका उपाध्यक्ष रामकृष्ण परियार, इन्टरनेट एक्सचेन्ज नेपालका प्रमुख कार्यकारी अधिकृत रुपेश श्रेष्ठ, एपिरालो पोलेसी फोरमका अध्यक्ष श्रीदिप रायमाझी लगायत विभिन्न क्षेत्रका विज्ञ वक्ताहरू सहभागी भएका थिए ।

सो अवसरमा वक्ताहरूले नेपालमा युनिभर्सल एसप्टेन्सको सचेतना फैलाउन, सबडोमेनहरूको व्यवस्थापन तथा नियमन गर्न स्पष्ट योजना आवश्यक रहेको धारणा राखे ।

त्यस्तै अर्को प्यानल छलफलमा सहभागी वक्ताहरू अधिवक्ता बाबुराम अर्याल, नेपाल सरकारका उपसचिव सुवास ढकाल, डट एनपी सीसीटीएलडीका पूर्व व्यवस्थापक सुरज अधिकारी, नेपाल इन्टरनेट फाउन्डेसनका अध्यक्ष विक्रम श्रेष्ठ र अनुसन्धानकर्मी कृति भुजुले डन एनपी डोमेनलाई ग्लोबल स्ट्यान्डर्डको बनाई भाषिक अवरोधहरू हटाउन पहल गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै अर्को प्यानल छलफलमा सहभागी वक्ताहरू युथ आईजीएफ नेपालका भाइस चेयर आनन्द गौतम, आईक्यान नेक्स्टजेनकी फ्यो थिरी ल्विन, आईक्यान फेलो नम्र नासिर अवान, एप्रिजीएफका भाइस चेयर आशिर्वाद त्रिपाठी र क्यान महासंघका प्रबन्धक उदिप बरालले युनिभर्सल एसप्टेन्स प्रवर्द्धन गर्न युवाको भूमिका तथा आईक्यान र इन्टरनेट गभर्नेन्सको क्षेत्रमा रहेका अवसरबारे आफ्ना धारणा राखेका थिए ।

क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले नेपाल जस्तो विभिन्न भाषिक समुदाय भएको देशमा इन्टरडोमेन प्रणालीकाे आवश्यकता बढी रहेकाले सरोकारवाला र जनमानसमा वृहत् छलफल र सचेतना अभिवृद्धि गर्न कार्यक्रम गरिएकाे बताए ।

पछिल्लो अध्यावधिक: चैत १६, २०७९ १५:५०