close

५२ लाख पुरस्कार राशिको ह्याकाथन हुँदै, यसरी दिनुहोस् आवेदन

टेकपाना टेकपाना

चैत १६, २०७९ ०:७

५२ लाख पुरस्कार राशिको ह्याकाथन हुँदै, यसरी दिनुहोस् आवेदन

काठमाडौं । सरसफाइकर्मीहरूको स्वास्थ्य सुरक्षासम्बन्धी प्रविधि विकास गर्ने उद्देश्यसहित हुन लागेको ह्याकाथनका लागि आवेदन खुला गरिएको छ । खानेपानी मन्त्रालय अन्तर्गतको खानेपानी तथा ढल व्यवस्थापन विभागको मुख्य आयोजना, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) सहआयोजना तथा एसियाली विकास बैंक (एडीबी) काे सहयाेगमा आउँदो अप्रिल २७ देखि २९ गतेसम्म हुने ह्याकाथनका लागि आवेदन खुला गरिएकाे हाे ।

सरसफाइकर्मीले भोगिरहेका समस्या प्रविधिबाट सम्बन्धन गर्नका लागि यस्ताे ह्याकाथन हुन लागेकाे हाे । यसअन्तर्गत विजयी हुने स्टार्टअप/समूहले ४० हजार डलर (५२ लाख रुपैयाँ बढी) पाउनेछ ।

कसरी दिने आवेदन ?

सबै भन्दा सुरुमा यहाँ क्लिक गरी वेबसाइटमा जानुहोस् । अब तपाईं वेबसाइटको मुख्य पेजमा पुग्नुहुन्छ । त्यहाँ निलो पृष्ठभूमिमा ‘रजिष्टर’ लेखिएको देख्नुहुन्छ । तपाईंले सिधै त्यसमा क्लिक गरेर ह्याकाथनमा सहभागी हुन सक्नुहुन्छ ।

यदि यस परियोजनाबारे बुझ्नुभएको छैन भने वेबसाइटको माथिल्लो भागमा रहेको ‘होम’ मा क्लिक गर्नुहाेस् । अथवा, होम पेजलाई स्क्रोल गर्दै जानुहाेस् । यसरी वेबसाइटलाई तलतिर स्क्रोल गर्दै जाँदा आयोजकको भनाइ, थिम, टाइमलाइन, कार्यतालिका जस्ता कुरा देख्न सक्नुहुन्छ ।

अब कार्यक्रममा सहभागी हुन ‘रजिष्टर’ अप्सनमा क्लिक गर्नुहोस् । त्यहाँ तपाईंको ‘अन्डरग्र्याजुएट इनोभेटर्स’ र ‘स्टार्टअप्स’ का लागि छुट्टाछुट्टै विकल्प देख्नुहुन्छ ।

यदि तपाईंले स्टार्टअप व्यवसाय गरिरहनु भएको छ भने ‘स्टार्टअप्स’ मा फारम गर्नुहोस् । तपाईंले फारम भर्दा कम्पनी र परियोजनाको विवरण भने राम्रोसँग भर्नुपर्ने हुन्छ ।

त्यस्तै यदि तपाईं विद्यालय, डिप्लोमा, स्नातक तहमा अध्ययन गरिरहनु भएको छ भने  ‘अन्डरग्र्याजुएट​’ मा फारम भर्नुपर्ने हुन्छ ।

कार्यक्रममा कहिले के-के हुन्छ ?

इच्छुक स्टार्टअप कम्पनी, समूहले माथि उल्लेख गरिएको वेबसाइटमार्फत अप्रिल ८ सम्म आफ्नो आइडियासहित आवेदन दिनुपर्नेछ ।

यसबीचमा आयोजकले आवेदन दिएकाहरूसँग अप्रिल ५ मा कार्यक्रमबारे ‘प्री-एप्लिकेसन मिटिङ’ गर्नेछ । जहाँ आवेदन दिएका स्टार्टअप कम्पनी वा समूहलाई कार्यक्रमबारे जानकारी दिइने छ ।

अप्रिल ८ मा आयोजकले प्राप्त आवेदनहरूलाई वर्गीकरण, शर्टलिस्टिङ जस्ता काम गरी उत्कृष्ट १० स्टार्टअप वा समूहलाई छनाेट गर्नेछ । 

आयोजकले मुख्य ह्याकाथन भने अप्रिल २७ देखि अप्रिल २९ सम्म नास्टको प्राङ्गणमा गर्नेछ । यो तीन दिनमा उत्कृष्ट १० स्टार्टअप वा समूहले आफ्नो योजना अनुसारको परियोजना विकास गर्नुपर्नेछ ।

यसका लागि प्रत्येक स्टार्टअप वा समूहलाई आयोजकले ४०० डलर (करिब ६५ हजार रूपैयाँ) बराबरको आर्थिक सहयोग प्रदान उपलब्ध गराउँछ । 

त्यस्तै ह्याकाथनको अन्तिम दिन अर्थात् अप्रिल २९ गते आयोजकले सहभागीहरूले तयार पार्ने परियोजनाका आधारमा एक स्टार्टअप/समूहलाई विजेता चयन गर्नेछ ।

यसरी विजेता बनेका टोलीले अक्टोबर महिनासम्म नेपालगञ्ज र भरतपूर सहरमा परियोजना कार्यान्वयन गरेर देखाउनुपर्ने छ । यसका लागि सो स्टार्टअप वा समूहलाई ४०,००० डलर उपलब्ध गराउँछ ।

विजेताबाहेक उत्कृष्ट १० मा परेका अन्य स्टार्टअप वा समूहलाई अन्य नवप्रवर्तनका कार्यक्रममा समेट्नसक्ने आयोजकले बताएको छ । 

कस्तो ह्याकाथन हो यो ?

एसियाली विकास बैंकको आर्थिक सहयोगमा खानेपानी तथा ढल व्यवस्थापन विभागको मुख्य आयोजना रहेको यस कार्यक्रमबाट सरसफाइकर्मीले भोगिरहेका समस्या प्रविधिको प्रयोग गरी सम्बन्धन गर्न प्रयास गरिने बताइएकाे छ । 

नेपालसहित एसियाली प्यासिफिक क्षेत्रका समेत कार्यक्रम विस्तार गर्ने सरसफाइकर्मीहरूको स्वास्थ्यलाई प्रविधिको सहयोगबाट सम्बन्धन गर्ने उद्देश्यसहित हुन लागेको यस ह्याकाथनमा सहआयोजकका रूपमा नास्ट र इभेन्ट म्यानेजरका रूपमा रोबोटिक्स एसाेसियन अफ नेपाल (र्‍यान) जोडिएको छ ।

सरसफाइकर्मीहरूको पेशा मर्यादित नहुनुका साथै धेरै जोखिम भएकाले त्यसको न्यूनीकरण गर्न प्रविधि विकास गर्नु आवश्यक भएकाले ह्याकाथनको आयोजना गरिएको यस परियोजनाका उप निर्देशक टीका चौधरीले बताए । यस ह्याकाथनबाट उत्पादन हुने प्रविधिको प्रयोगबाट उनीहरूले राम्रो जीवन पाउने उनले आशा व्यक्त गरे ।

सरसफाइकर्मीहरूको स्वास्थ्य अवस्थालाई प्रविधिको सहयोगबाट सम्बन्धन गर्न यस्ताे कार्यक्रम गर्न लागिएकाे साे परियोजनाका सम्पर्क व्यक्ति ई.डा. शंकर ढकालले सुनाए । साथै सरसफाइकर्मीहरूको काममा सहज बनाउने खालका प्रविधिहरू विकास गर्न ह्याकाथनबाट ‘उत्कृष्ट इनोभेटिभ टेक स्टार्टटप कम्पनी’ को खोजी गरिने उनकाे भनाइ छ ।

त्यस्तै नवप्रवर्तनमा रुचि भएकाहरूलाई वास्तविक समस्याको समाधानस्वरुप प्रविधि विकासमा सहयोग गर्न यो ह्याकाथन आयोजना गरिएको नास्टका प्रविधि सङ्काय प्रमुख डा. रविन्द्र ढकालले  उल्लेख गरे । नास्टले विगतमा ३१ ओटा नवप्रवर्तनहरूलाई आर्थिक सहयोग गरिसकेको बताउँदै उनले यस परियोजनाबाट पनि उत्कृष्ट स्टार्टअप जन्मने उनले विश्वास व्यक्त गरे । 

यस परियोजनामा सहभागीहरूले रोबोटिक्स, इन्टरनेट अफ थिङ्स (आईओटी), आर्टिफिसियल इन्टेलिजेन्स जस्ता क्षेत्रहरूमा काम गर्न सक्ने र्‍यानका अध्यक्ष ई. विकास गुरूङले जनाए । उनका अनुसार यस कार्यक्रमको विषयवस्तुहरू (थिम) ढल व्यवस्थापन, ठोस फोहोर व्यवस्थापन, शौचालय सफाई र सुरक्षात्मक उपकरण रहेका छन् । सहभागी स्टार्टअप तथा समूहहरूले यिनै चार ओटा विषयवस्तुमा आधारित प्रविधि विकास गर्नुपर्ने उनले जानकारी दिए ।

पछिल्लो अध्यावधिक: चैत १७, २०७९ १२:४४