close

इटालीमा च्याटजीपीटीमाथि प्रतिबन्ध

टेकपाना टेकपाना

चैत १८, २०७९ १७:१४

इटालीमा च्याटजीपीटीमाथि प्रतिबन्ध

काठमाडौं । इटालीमा च्याटजीपीटीमाथि प्रतिबन्ध लागेको छ । च्याटजीपीटीको निर्माता कम्पनी ओपन एआईले 'व्यक्तिगत डाटाको गैरकानुनी संग्रह' बनाएको आरोप लगाउँदै राष्ट्रिय गोपनीयता नियामकले प्लेटफर्ममाथि प्रतिबन्ध लगाएको हो ।

इटालीको डेटा संरक्षण प्राधिकरण, जीपीडीपी (Garante per la protezione dei deti personali) ले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उक्त प्लेटफर्ममाथि प्रतिबन्ध लगाउने निर्देशन दिएको हो । विज्ञप्तिमा  ओपन एआईले प्रयोगकर्ताको व्यक्तिगत जानकारीको सङ्कलनका लागि कुनै कानूनी औचित्य नभएको उल्लेख गरिएको छ ।

यति मात्र नभइ ओपनएआईमा नाबालिग प्रयोगकर्तालाई सेवा पहुँच रोक्नका लागि त्यस्तो कुनै संयन्त्र नभएको प्राधिकरणको आरोप छ । यस्तो संयन्त्र नहुँदा बालबालिकाले आफ्नो बुझाइ बाहेकका सामग्रीमा पहुँच पाउने र यस्ता कन्टेन्ट उनीहरूका लागि नराम्रो हुने प्राधिकरणको तर्क छ ।

इटाली नियामकले एआई च्याटबटमाथि यस्तो कदम चालेको यो पहिलो घटना भने होइन । नियामकले यसअघि पनि फ्रेबुअरीमा रेप्लिका डट एआईमाथि प्रतिबन्ध लगाएको रोयटर्सले उल्लेख गरेको छ ।

रेप्लिकाको च्याटबोटले प्रयोगकर्तासँग व्यक्तिगत सम्बन्ध बनाएको भन्दै कुख्यात भएको थियो । यस्तो आरोप लागेपछि प्राधिकरणले एआई टुलमाथि प्रतिबन्ध लगाएको थियो ।

नियामकले च्याटजीपीटीमाथि प्रतिबन्ध लगाएको भए पनि केही प्रयोगकर्ताले भने उक्त प्लेटफर्म प्रयोग गरिरहेको बताएका छन् ।

ओपनएआईलाई इटालियन प्रयोगकर्ताको डेटा प्रोसेसिङ रोक्न दिइएको आदेश पालना गर्न भने केही समय लाग्नेछ । त्यसपछि मात्र प्लेटफर्म पूर्ण रूपमा इटालीमा ब्लक हुनेछ ।

जीपीडीपीले कम्पनीलाई २० दिनभित्र नियामक निकायको आवश्यकताहरू पूरा गर्न के कस्ता काम भइरहेका छन् भन्ने कुराको जानकारी दिनुपर्ने बताएको छ । यदि त्यसो गर्न नसके ओपन एआईलाई दुई करोड युरो जरिबाना तिर्नुपर्ने चेतावनी दिएको छ ।

पछिल्लो अध्यावधिक: चैत १८, २०७९ १७:१४