close

स्मार्ट टेलिकमको कार्यालयमा रिचार्ज कार्ड पीडित समूहको तालाबन्दी

टेकपाना टेकपाना

बैशाख २१, २०८० १५:१६

स्मार्ट टेलिकमको कार्यालयमा रिचार्ज कार्ड पीडित समूहको तालाबन्दी

काठमाडौं । निर्धारित समयभित्र नवीकरण नगरेपछि स्वतः लाइसेन्स खारेज भएको स्मार्ट टेलिकमको कार्यालयमा स्मार्ट कार्ड पीडित समूहले धर्ना कार्यक्रम गर्दै ताला लगाएकाे छ ।

कम्पनीलाई नेपाल दूरसञ्चार प्राधिकरणले बुधबार आफ्नो नियन्त्रणमा लिएपछि सोही दिन रिचार्ज कार्ड पीडित समूहले ललितपुरस्थित कुमारीपाटीमा रहेकाे स्मार्टकाे कार्यालयकाे गेटमा ताला लगाएकाे हाे ।

आफूहरूको लाखौं रकम रिचार्ज कार्डका कारण फसेको र त्यसको कारण स्मार्ट टेलिकम भएको भन्दै कार्यालयमा ताला लगाइएको पीडित समूहका गोविन्द घिमिरेले बताए ।

मुनाफा धेरै हुने लोभ देखाएर आफूहरूलाई स्मार्ट टेलिकमले लाइसेन्स खारेज हुनु केही समयअगाडि मात्र लाखौं रकमको रिचार्ज कार्ड किन्न लगाएको उनले गुनासाे गरे ।

तर लाइसेन्स खारेज भएर प्राधिकरणको मातहतमा स्मार्ट टेलिकम पुगेपछि पीडित व्यक्तिहरू न यताको, न उताको भएको उनले सुनाए ।

“स्मार्ट टेलिकमका मान्छेले प्राधिकरणले आफ्नो कम्पनी नियन्त्रणमा लिइसकेको छ, उहाँहरूसँग नै कुरा गर्नुस् भन्छ । प्राधिकरण जाँदा स्मार्ट र तपाईँहरूको व्यावसायिक साझेदारीको कुरा हो, स्मार्टसँगै कुरा गर्नु भन्छ,” उनले भने ।

उनले अगाडि भने, ''सबै व्यवसायीहरूसँग स्मार्टको आधा अर्ब जतिको कार्ड छ । पसल-पसलमा हेर्नुहाेस्, सबै आमजनताको लगानी हो । हामीलाई स्मार्ट जसले चलाओस्, जसले जे गरोस् मतलब छैन । तर हाम्रो कार्डको पैसा फिर्ता चाइयो ।''

'याे विषयलाई गम्भीरताका साथ हेरिनुपर्छ । नत्र देशभर हामी लगभग ५०० थोक बिक्रेताहरू र १५ हजार पसलमा भएको कार्ड र सिमको पैसा सबै गुम्ने अवस्था छ,'' उनले भने ।

यदि यो काम समयमा नगरे ग्राहकले सिम फालिदिने र आफ्नो लाखौं डुब्ने उनकाे भनाइ थियाे । मागको सुनवाई नभए धर्नाका थप कार्यक्रम गर्ने पनि उनले चेतावनी दिए ।

पछिल्लो अध्यावधिक: बैशाख २१, २०८० १५:३१