close

कोर बैंकिङ सिस्टम दुरूपयोग गरी बैंककै कर्मचारीले चोरे ग्राहकको डेढ करोड बढी रकम

टेकपाना टेकपाना

जेठ ६, २०८० ११:२७

कोर बैंकिङ सिस्टम दुरूपयोग गरी बैंककै कर्मचारीले चोरे ग्राहकको डेढ करोड बढी रकम

काठमाडौं । ग्राहकको खाताबाट डेढ करोड रुपैयाँ बढी चोरी गरेको आरोपमा एभरेष्ट बैंकका सात कर्मचारीसहित नाै जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बैंकका कर्मचारीहरू सिन्धुपाल्चोक घर भएका बैंकको इटहरी शाखा प्रबन्धक ४२ वर्षीय विश्वराज शाक्य, बैंकको उदयपुर गाइघाट शाखाका अपरेसन इन्चार्ज विराटनगरका ३४ वर्षीय निरज प्रधान, एभरेष्ट बैंक इटहरी शाखाका सुपरभाइजर ३७ वर्षीय धावा लामा, बैंकका कनिष्ठ सहायकहरू २७ वर्षीय मनोज घिमिरे, २७ वर्षीय देवराज शर्मा, २७ वर्षकै रञ्जित पण्डित र बैंकको इटहरी शाखाकी टेलर ३० वर्षीया पवित्रा कटुवाल रहेका छन् ।

कर्मचारीबाहेक दुई जना बाह्य व्यक्ति धनुषाका ३४ वर्षीय शंकर भुजेल र भक्तपुरका २७ वर्षीय अजय खिउजु समेत पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार यस घटनाका मुख्य नाइके प्रधान गत चैतमा पक्राउ परेका थिए । बाँकी भने विभिन्न ठाउँबाट शुक्रबार पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार गत चैत २२ गते बैंकका कर्मचारी निरज प्रधानले अवैध रूपमा कनेक्ट आईपीएस र नक्कली चेकमार्फत रकम चोरी गरेको उजुरी परेको थियो ।

टेकपानासँग कुरा गर्दै जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राजकुमार राईले भने, "चैतको महिनातिर एक जना पीडित आएर बैंकको कर्मचारीले रकम चोरी गरेको भनेर उजुरी दिनुभएको थियो । त्यसपछि हामीले आरोपित प्रधानलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएका थियौं ।"

अनुसन्धान गर्ने क्रममा बैंकको इटहरी शाखामा कार्यरत अन्य कर्मचारीहरूले प्रयोग गर्ने कम्प्युटर युजर आइडी र पासवर्ड दुरुपयोग गरी कनेक्ट आईपीएसमार्फत चोरी गरेको राईले बताए ।

उनका अनुसार कात्तिक २८ गतेदेखि चैत १७ गतेसम्म ५९ पटकमा कनेक्ट आईपीएसमार्फत बैंकका विभिन्न ग्राहकको उपस्थिति र स्वीकृति बिना एक करोड १४ लाख ७५ हजार २८४ रुपैयाँ निकालेर ग्राहकहरुको रकम हिनामिना गरेको देखिएको छ ।

त्यस्तै ग्राहकहरूको उपस्थिति तथा स्वीकृतिबिना बैंकको कोर बैंकिङ (Core Banking System (C.B.S)) दुरुपयोग गरी निस्क्रिय खाता सक्रिय गराई, चेकबुक प्रिन्ट गरी, चेक तथा ट्रान्सफर भौचर मार्फत खातावालाहरूको दस्तखत किर्ते गरी विभिन्न मितिमा ३५ लाख ४८ हजार १५० रुपैयाँ अनधिकृत रूपले निकाली हिनामिना भएको प्रहरीको अनुसन्धानले देखाएको छ ।

पक्राउ पर्नुअघि २८ फागुनमा प्रधान सरुवा भई गाईघाट शाखा गएका थिए । उनले सोही शाखामा समेत बैंकका ग्राहकको खाताबाट अन्य विभिन्न बैंकमा खाता रहेका व्यक्तिहरूको खातामा रकम ट्रान्सफर गरेको प्रहरीले जनाएको छ ।

यसरी विभिन्न समयमा ३३ जना ग्राहकको खाताबाट एक करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ चोरी भएको प्रहरीले विज्ञप्तिमा उल्लेख गरेको छ ।

पक्राउ परेकाहरूलाई बैंकिङ कसूर र सङ्गठित अपराध निवारण ऐन २०७० अन्तर्गतको कसूर मुद्दामा अनुसन्धान सुरु गरिएको राईले बताए ।

"बैंकबाट रकम हिनामिना भए तुरुन्त बैंकलाई सम्पर्क गर्नुपर्छ," सेवाग्राहीलाई सुझाव दिँदै राईले भने, "बैंकबाट सहयोग नभएको खण्डमा प्रहरी कार्यालयमा उजुरी दिन सक्नुहुन्छ । सबैभन्दा मुख्य कुरा सेवाग्राही आफैं सचेत र चनाखो हुनुपर्छ, जसले गर्दा बैंकबाट रकम हिनामिना हुने बित्तिकै थाहा पाउन सकियोस् ।"

पछिल्लो अध्यावधिक: जेठ ६, २०८० ११:२७