close

सञ्चार मन्त्रीको रोजाइमा टेलिकमको रिङब्याक टोनः “गाउँ गाउँबाट…”

टेकपाना टेकपाना

जेठ १५, २०८० १३:१२

सञ्चार मन्त्रीको रोजाइमा टेलिकमको रिङब्याक टोनः “गाउँ गाउँबाट…”

काठमाडौं । विशेषतः नेपालमा भएका ठूला ठूला आन्दोलनहरूमा बज्ने रामेश श्रेष्ठको गीत “गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ…” बोलको गीत अहिले नेपाल टेलिकमको रिङब्याक टोनमा घन्किन थालेको छ । सोमबार परेको गणतन्त्र दिवसको अवसरमा टेलिकमले उक्त रिङ ब्याक टोन राखेको हो ।

आइतबारदेखि नेपाल टेलिकमका मोबाइल नम्बरहरूमा कल गर्दा तपाईंले पनि यो गीत सुन्नु भएकै होला । टेलिकमले यस्तै राष्ट्रिय दिवस, चाडपर्व, रोगब्याधी, निर्वाचनजस्ता सन्दर्भमा आफ्नो रिङब्याक टोनमा विभिन्न सन्देशमूलक सामग्री तथा गीतका अंश राख्दै आएको छ ।

यसपटकको गणतन्त्र दिवसको रिङ ब्याक टोन सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको रोजाईमा परिवर्तनकारीहरूको गीत छनाेट गरिएको हो । गणतन्त्र ल्याउन गरिएका विभिन्न आन्दोलनमा निकै बजेको यो गीत माओवादी नेतृसमेत रहेकी शर्माले नै रोजेको मन्त्रालयका एक अधिकारीले बताए । 

विशेष अवसरमा राष्ट्रव्यापी जनचेतना जगाउने सन्देशमूलक रिङब्याक टोन नेपाल टेलिकमसँगै एनसेलका नम्बरमा समेत सुनिन्छ । वास्तवमा यस्ता रिङब्याक टोन सबै मोबाइलमा बज्ने गरी प्रसारण गर्न सञ्चार मन्त्रालयले प्राधिकरण मार्फत सेवाप्रदायकलाई पत्राचार  गर्छ । 

 तर अहिलेको नेपाल टेलिकमका नम्बरमा बजिरहेको ‘गाउँ गाउँबाट उठ’ बोलको गीत एनसेलका नम्बरहरूमा भने बजेको सुनिँदैन । प्राधिकरणका अनुसार उक्त रिङ ब्याक टोन बजाउन नेपाल टेलिकमलाई सञ्चार मन्त्रालयको पत्राचार अनुसार नै बजाउन अनुरोध गरिएको थियो । 

“रिङ ब्याक टोन बजाउन अनुरोध गर्ने कुरा सामान्य हो,” प्राधिकरणका एक अधिकारीले भने, “त्यसरी गरिएको अनुरोध अनिवार्य रूपमा मान्नैपर्छ भन्ने पनि छैन ।”

गणतन्त्र दिवसमा टेलिकम नम्बरमा बजिरहेको गीत जनचेतनामूलक भन्दा पनि उत्सवको रूपमा बजाइएको हो ।

नेपाल टेलिकम सरकारी स्वामित्वको कम्पनी भएकाले मन्त्रालयले राष्ट्रिय दिवस सुहाउँदो रिङब्याक टोन राख्न सोझै पत्राचार गर्न पनि सक्छ । गणतन्त्र दिवसको रिङब्याक टोन पनि त्यसै अनुरूप बजाइएको हो ।

पछिल्लो अध्यावधिक: जेठ १५, २०८० १३:३७