काठमाडौं । सरकारले सार्वजनिक सेवावापत बुझाउनुपर्ने सबै दस्तुर क्यूआर कोडबाट बुझाउनुपर्ने व्यवस्था ल्याउने भएको छ ।
सोमबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो याेजना अघि सारेका हुन् ।
“सार्वजनिक सेवा वापत बुझाउनुपर्ने सबै दस्तुर र सेवा शुल्क क्यूआर कोड लगायतका विद्युतीय माध्यमबाट राजस्व खातामा जम्मा गर्न सकिने व्यवस्था मिलाइनेछ,” उनले भने, “कागजरहित सरकारको अवधारणालाई मूर्तरूप दिन नेपाल सरकारका सबै संघीय केन्द्रीय निकायमा क्रमश: एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याइनेछ ।”