close

एलन मस्क चीन भ्रमणमा, टेस्लालाई चिनियाँ बजारमा थप विस्तार गर्ने रणनीति

टेकपाना टेकपाना

जेठ १८, २०८० १३:१६

एलन मस्क चीन भ्रमणमा, टेस्लालाई चिनियाँ बजारमा थप विस्तार गर्ने रणनीति

काठमाडौं । टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्क चीनको साङ्घाई राज्य पुगेका छन् । दुई दिने चीन भ्रमणमा क्रममा मस्क बिहीबार सांघाई पुगेका हुन् ।

सांघाई राज्यमा टेस्लाको गिगाफ्याक्ट्री रहेको छ । जसले कूल उत्पादनको एक तिहाइ कार उत्पादन गर्ने गर्छ । बुधबार मस्कले चिनियाँ उद्योगमन्त्री जिन जुआङलाेङसँग भेट गरी विद्युतीय सवारी विकासका बारेमा छलफल गरेका थिए ।

त्यस्तै उनले वाणिज्य र उद्योगमन्त्रीलाई समेत भेटेको बताइएको छ । त्यसबाहेक पनि मस्कले ब्याट्री आपूर्तिकर्ता कन्टेमपोररी एम्पेरेक्स टेक्नोलोजी कम्पनी लिमिटेडका अध्यक्षसँग समेत भेटवार्ता गरेका छन् ।  

चिनियाँ विदेशमन्त्रीको सचिवालयले मंगलबार जारी गरेको विज्ञप्तिमा मस्क चीनमा टेस्लाको व्यापार विस्तार गर्नमा उत्साहित भएको उल्लेख गरेको छ । विज्ञप्तिमा मस्कले चीनलाई टेस्लाका लागि अमेरिकापछिको ठूलो बजार बनाउने चाहेको उल्लेख छ । 

मंगलबार निजी जेट विमानमा चीन भ्रमणमा निस्किएका मस्कको चौतर्फी प्रशंसा भइरहेको छ । तर, यता मस्क र उनको कम्पनी टेस्ला भने यस विषयमा मौन छन् ।

दैनिक ट्वीट गरिरहेने मस्कको ट्वीट फिड यतिबेला शान्त छ । यसो त चीनमा ट्वीटरलाई प्रतिबन्ध लगाइएको छ । तर, पनि एपलाई भीपीएनमार्फत प्रयोग गर्न भने सकिन्छ । 

पछिल्लो समय व्यवसायमा विश्व अर्थतन्त्रमै तहल्का मच्चाउने चर्चित कम्पनीका अधिकारीहरू चीन भ्रमण गर्ने क्रम बढेको छ । गत मार्चमा एप्पलका सीईओ टिम कुकले चीनको भ्रमण गरेका थिए ।

यही हप्ता जेपी मोर्गानका प्रमुख कार्यकारी जेमी डाइमनले पनि चीन भ्रमण गरेको बीबीसीले उल्लेख गरेको छ । अहिले भने अमेरिकाका हाई-प्रोफाइल बिजनेस म्यान एलन मस्क चीन भ्रमणमा छन् । 

जनवरी २०१९ मा टेस्लाले चीनको सांघाई राज्यमा गिगाफ्याक्ट्री निर्माण गर्न सुरु गरेको थियो । अमेरिका बाहिर टेस्लाको यो नै पहिलो उत्पादन प्लान्ट हो । सोही वर्षको अन्तिममा कम्पनीले चीनमा निर्माण भएको टेस्ला गाडी बजारमा ल्याएको थियो । 

तर त्यसलगत्तै कोभिड भाइरसको आतङ्क विश्वभर फैलियो, जसको प्रभाव आर्थिक पक्षमा पर्‍यो । यसले उक्त फ्याक्ट्रीलाई सञ्चालन गर्नै गाह्रो परिस्थितिको सिर्जना गरेको थियो । 

आर्थिक पक्ष कमजोर भएर कम्पनीको फ्याक्ट्रीमा ताला लागेपछि मस्कले त्यो बेला गाह्रो परिस्थितिको सामना गर्नुपरेको थियो । मस्कले उक्त गिगाफ्याक्ट्रीले उत्पादन बन्द गरेको प्रतिक्रिया दिएका थिए । 

गत महिना कम्पनीले मेगाप्याक ब्याट्रीका लागि नयाँ फ्याक्ट्री बनाउने योजना भएको उल्लेख गरिएको थियो । कम्पनीले उत्पादन गरेका ९४ हजार युनिट मोडेल वाई कार चीनमा बिक्री भएका थिए । यसले पनि सन् २०२३ को पहिलो त्रैमासिकमा सबैभन्दा बढी बिक्री हुने कारको सूचीमा टेस्लाको मोडेल वाई पहिलो स्थानमा परेको थियो । 

मस्क चीन भ्रमणमा रहेर टेस्लाबारे बहस गरिरहँदा यता टेस्लाको शेयर मूल्य बढेको छ । ब्लमबर्ग रिपोर्टका अनुसार मस्कले लुई भितनका संस्थापक बर्नार्ड अर्नल्टलाई पछि पार्दै पुनः सर्वाधिक धनी व्यक्ति बनेका छन् । 

पछिल्लो अध्यावधिक: जेठ १८, २०८० १३:१६