close

भारतबाट फर्किने श्रमिक र यात्रुले साथमा ल्याउने मोबाइल पैसा नतिरी एमडीएमएसमा दर्ता नहुने !

टेकपाना टेकपाना

असार १, २०८० १३:३४

भारतबाट फर्किने श्रमिक र यात्रुले साथमा ल्याउने मोबाइल पैसा नतिरी एमडीएमएसमा दर्ता नहुने !

काठमाडौं ।मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) मा भारतबाट फर्किने नेपाली श्रमिक र यात्रुहरूले साथमा ल्याउने मोबाइल दर्ता गर्ने विषयलाई सरकारले बेवास्ता गरेको पाइएको छ । काम गर्न भारत जाने नेपाली कामदारसँग श्रम स्वीकृति नहुने र स्थल मार्गबाट फर्किंदा बोर्डिङ पास समेत नहुने भएकाले भारतबाट फर्किंनेहरूको मोबाइल एमडीएमएसमा दर्ता नै नहुने अवस्था आएको हो । 

नेपाल दूरसञ्चार प्राधिकरणले १ जेठ २०८० देखि एमडीएमएस पूर्ण रूपमा सञ्चालनमा ल्याइएको बताइएको छ । ​मन्त्रिपरिषद्‌को २६ वैशाख २०८० को निर्णयअनुसार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई कम्तीमा लगातार छ महिना काम गरी फर्केका नेपाली नागरिकले दुई थानसम्म मोबाइल फोन साथमा ल्याएमा कुनै पनि महसुल लाग्दैन ।

साथै यात्रुहरूले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका मालवस्तु सम्बन्धी आदेश २०७७ बमोजिम विदेशबाट फर्कने यात्रुहरूले आफूले प्रयोग गरिरहेको एक थान मोबाइल फोन महसुल नतिरी ल्याउन पाउने व्यवस्था छ ।

यही व्यवस्था अनुसार हाल श्रमिक आफूले प्रयोग गरिरहेको सहित दुई थान र अन्य यात्रुले प्रयोग गरिरहेको एक थान मोबाइल फोन बिना भन्सार दस्तुर एमडीएमएसमा दर्ता गर्न सकिन्छ । यसका लागि श्रमिकहरूले फर्किने क्रममा आफ्नो श्रम स्टिकर सहित भन्सारमा आफूले साथमा ल्याएको थप एक थान मोबाइल फोनको घोषणा गरी भन्सार प्रक्रिया पूरा गरेपछि मात्रै एमडीएमएसमा दर्ता गराउन सकिन्छ । 

त्यस बाहेक यात्रुहरूले विदेशबाट फर्केर आउँदा आफूले प्रयोग गरिरहेको एउटा फोन भन्सार दस्तुर नतिरी ल्याउन पाउँछन् र त्यसलाई अनलाइन मार्फत आफैंले एमडीएमएसमा दर्ता गराउनु पर्ने हुन्छ । त्यसका लागि अराइभल तथा डिपार्चर स्ट्याम्प सहितको राहदानी वा बोर्डिङ पास पनि समावेश गर्नुपर्ने हुन्छ । 

तर काम गर्न भारत जाने श्रमिकहरूसँग श्रम स्टिकर नहुने र स्थलमार्ग भएर फर्किने यात्रुहरूलाई बोर्डिङ पास समेत चाहिंदैन । यस्तो अवस्थामा श्रमिकले साथमा  ल्याउने थप एक थान मोबाइल फोन र यात्रुको रूपमा आफूले प्रयोग गरिरहेको एक थान मोबाइल फोन एमडीएमएसमा दर्ता हुन्छन् कि हुँदैनन् भनेर हामीले प्राधिकरणका सहप्रवक्ता अच्युतानन्द मिश्रलाई सोधेका छौं । 

उनले विदेशबाट साथमा मोबाइल ल्याउँदा दर्ता गर्ने सम्बन्धी व्यवस्था प्राधिकरणले नभई मन्त्रिपरिषद्ले गरेको बताए । “कुन मोबाइलमा कति भन्सार शुल्क लाग्ने वा लाग्दैन भन्ने विषय भन्सार विभागको हो,” उनले भने, “हामीले भन्सारले वैधानिक भनेर स्वीकृति दिएका मोबाइल आवश्यक कागजात सहित एमडीएमएसमा दर्ता गर्दै आएका छौं ।”

तर श्रम स्टिकर नभएका भारतबाट फर्किने श्रमिक र स्थलमार्ग भएर आउने यात्रुहरूको हकमा हालसम्म छुट्टै व्यवस्था नरहेको सहप्रवक्ता मिश्रले बताए । 

भारतबाट फर्किने नेपाली श्रमिक र यात्रुहरूले आफ्नो साथमा ल्याउने मोबाइल दर्ता सम्बन्धी विषयमा नेपाल सरकार मौन देखिएको छ । यसबाट निर्धारित भन्सार शुल्क बुझाएर मात्रै एमडीएमएसमा मोबाइल दर्ता गर्नुपर्ने अवस्था सिर्जना भएको छ । 

भन्सार विभागका सूचना अधिकारी पुण्यबिक्रम अधिकारीले भारत र नेपालको विशेष सम्बन्ध भएको र खुला सीमा भएका कारण काम गर्न श्रम स्वीकृति आवश्यक नपर्ने बताए ।

“श्रमिकले ल्याएको थप एक थान मोबाइल फोनमा भन्सार दस्तुर नलाग्ने व्यवस्था प्रस्ट छ,” उनले भने, “तर भारतबाट फर्किने श्रमिकसँग श्रम स्टिकर नहुने भएकाले उनीहरूले उक्त सुविधा पाउँदैनन् ।”

त्यस्तै यात्रुहरूले प्रयोग गरिरहेको मोबाइलको हकमा बोर्डिङ पासका साथै अन्य प्रमाणपत्रलाई समेत आधार बनाउन सकिने दाबी गरे । बिहान गएर बेलुका फर्किने किसिमको सम्बन्ध दुई देशबीच रहेको भन्दै अधिकारीले अन्य देशबाट फर्किने श्रमिक र यात्रु सरहको व्यवहार भारतबाट फर्किनेको हकमा गर्न नसकिने बताए । 

दर्ता नभएका फोन नेपालभित्र चलाउन नसकिने व्यवस्था गर्ने उद्देश्यका साथ प्राधिकरणले एमडीएमएस कार्यान्वयनमा ल्याएको छ । दर्ता नभएका मोबाइल नेपालमा नचल्ने अवस्था आए त्यसले विकराल समस्या ल्याउनसक्ने जोखिम बढाएको छ ।   

 

पछिल्लो अध्यावधिक: असार १, २०८० १३:४७