close

नयाँ फोन किन्दै हुनुहुन्छ ? ब्लक हुनबाट जोगिन यी कुरामा ध्यान दिनुहोस्

टेकपाना टेकपाना

कात्तिक २१, २०८० १६:४१

नयाँ फोन किन्दै हुनुहुन्छ ? ब्लक हुनबाट जोगिन यी कुरामा ध्यान दिनुहोस्

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सोमवारदेखि मोबाइल डिभाइस मेनेजमेन्ट सिस्टम (एमडीएमएस) मा दर्ता नभएका फोन ब्लक गर्न सुरु गरेको छ । यसअन्तर्गत सुरुवाती चरणमा ८०४ ओटा आईफोन १५ सिरिजका फाेन ब्लक गरिएको प्राधिकरणले जनाएको छ । ​हाई-इन्ड मोबाइल सेट मात्र नभई एमडीएमएसमा दर्ता नभएका सबै किसिमका फोन बन्द गर्ने प्राधिकरणको तयारी छ ।

एमडीएमएसको कुरा आउँदा अधिकांशले विदेशबाट ल्याएकाे फोनमात्रै दर्ता गर्नुपर्ने हो भन्ने साेचिरहेका हुन्छन् । यसो त नेपालमा उपलब्ध जति पनि नयाँ डिभाइसहरू छन्, ती सम्बन्धित वितरकले नै दर्ता गरेर बिक्री गर्नुपर्ने हुन्छ । तर, पछिल्लो समय केही उपभाेक्ताले आफूले नेपालबाटै खरिद गरेको आधिकारिक फोन पनि दर्ता नभएको गुनासो गरिरहेका छन् ।

हामीले यसबारे बुझ्न सामसङको आधिकारिक स्टोरसँग जिज्ञासा राखेका थियौं । कम्पनीका प्रतिनिधिका अनुसार पछिल्लो समय बिक्री भएका अधिकांश सामसङ फोन एमडीएमएसमा दर्ता भएका छैनन् । "हामीले हाम्रोतर्फबाट सम्पूर्ण कागजात पठाएर दर्ता अनुरोध गरेका छौं," कम्पनीका एक प्रतिनिधिले भने, "फोन छिट्टै दर्ता हुन्छ । ब्लक चाहिं हुँदैन । ढुक्क हुनुहोला ।"

यो त भयो स्मार्टफाेनका आधिकारिक वितरकका कुरा । त्यसबाहेक केही मोबाइल पसलबाट खरिद गरेको फोन पनि एमडीएमएसमा दर्ता नभएका हुन सक्छन् । त्यसैले प्रयोगकर्ताले फोन खरिद गर्नुअघि उक्त फोन एमएडीएमएसमा दर्ता भएको छ वा छैन जाँच गर्नुपर्ने हुन्छ ।

यहाँ क्लिक गरेर बक्सबाहिर देखिएको आईएमईआई नम्बर जाँच गर्दा प्राधिकरणको वेबसाइटले नै फोन खरिद नगर्न सुझाव दिन्छ । कतिपय व्यवसायीले कर छली गरेर फोन बिक्री गरिरहेका हुन सक्छन् । त्यस्तोमा ग्राहकले फोन खरिद गर्दा भ्याट बिल अनिवार्य माग्नुपर्छ ।

ग्राहकसँग भ्याट बिल हुँदा प्राधिकरणले फोनमा सिम नचल्ने बनाए उक्त व्यवसायी नै सो फोनका लागि जिम्मेवार हुन्छन् । त्यसैले फोन खरिद गरिसकेपछि आधिकारिक भ्याट बिल लिन नभुल्नुहाेला ।

पछिल्लो अध्यावधिक: कात्तिक २१, २०८० १६:४७