close

मेडिकल टेक्नोलोजिस्ट बन्न चाहनेका लागि उपयुक्त कोर्ष, क-कसले पाउँछन् पढ्न ?

सञ्जीवन राई सञ्जीवन राई

असार २८, २०८० १७:५४

मेडिकल टेक्नोलोजिस्ट बन्न चाहनेका लागि उपयुक्त कोर्ष, क-कसले पाउँछन् पढ्न ?

काठमाडौं । नेपालमा पहिलो पटक ब्याचलर अफ साइन्स मेडिकल ल्याब्रोटरी टेक्नोलोजी (बीएससी एमएलटी) सन् १९८७ देखि पढाउन थालियो । त्यसबेला महाराजगञ्ज चिकित्सा क्याम्पस (एमएमसी) मा यो विषय सञ्चालन गरिएको थियो । एमएमसी त्रिभुवन विश्वविद्यालय (त्रिवि) को एक आंगिक क्याम्पस  हो ।

त्यसको निकै वर्षपछि यही कोर्ष पोखरा विश्वविद्यालयले पनि सुरु गर्‍याे  । यस विश्वविद्यालयले भने सन् २००३ बाट यो कोर्ष पढाउन सुरु गरेको हो । यसरी नेपालमा सुरु भएको यो कोर्ष अहिले थप तीन विश्वविद्यालयहरू (काठमाडौं, पूर्वाञ्चल र राजर्षि जनक) र तीन स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू (मदन भण्डारी, मधेश संस्थान र बीपी कोइराला) ले सञ्चालन गरिरहेका छन् ।

आज हामी पोखरा विश्वविद्यालयले सञ्चालन गर्ने कोर्षबारे चर्चा गर्दै छौँ । 

कस्तो कोर्ष हाे याे ?

स्वास्थ्य क्षेत्रको यो एक प्राविधिक विषय हो । यसमा स्वास्थ्यका कोरा ज्ञानभन्दा पनि अन्य विषयकाे पढाइ हुन्छ । यो १३५ क्रेडिट आवरको चार वर्षे (आठ सेमेस्टर) को कोर्ष हो । यसलाई पारामेडिकल (अन्य विषयसँग स्वास्थ्य मिसाइएको) कोर्षका रुपमा समेत लिने गरिन्छ । 

यस कोर्षको मुख्य उद्देश्य सक्षम जनशक्ति उत्पादन गर्नु हो, जो अस्पतालमा हुने विभिन्न प्रयोगशालामा काम गर्न सकून् । कोर्ष अध्ययन गरेकाहरू विभिन्न डायग्नोसिस, थेराप्युटिक (therapeutic), रिह्याबिलिटेटिभ (rehabilitative) लगायत विभिन्न स्वास्थ्य सम्बन्धी अनुसन्धानका काममा सामेल हुन सक्छन् ।

यसका लागि उनीहरूले विभिन्न क्लिनिकमा काम गर्न सक्छन्, जसलाई ‘मेडिकल टेक्नोलोजिस्ट’ भनिन्छ । एसईईपछि तीन वर्षे डिप्लोमा उत्तीर्ण गरेकालाई भने ‘मेडिकल टेक्निसियन’ भनिन्छ । 

पाठ्यक्रम

पाठ्यक्रममा भएका विषयलाई साधारण, मुख्य र सहयोगी गरी तीन भागमा वर्गीकरण गरिएको छ । साधारण विषयहरू एमबीबीएस, नर्सिङ लगायतका विभिन्न स्वास्थ्य सम्बन्धी कोर्षमा समेत पढाइ हुन्छ ।

यस कोर्षको मुख्य विषयमा भने माइक्रोबायोलोजी, बायो केमेस्ट्री र प्याथोलोजी छन् । त्यस्तै विद्यार्थीले भविष्यमा काम गर्दा सहयोगी हुने विषयहरू समेत पाठ्यक्रममा राखिएको छ । 

कोर्षको प्रत्येक सेमेस्टरमा प्रयोगात्मक कक्षाको व्यवस्था गरिएको छ । कोर्षको पहिलो, दोस्रो र तेस्रो सेमेस्टर २० क्रेडिटको छ । त्यस्तै चौंथाे २१, पाँचौं १९्, छैटाैं १५ र सातौं सेमेस्टर १३ क्रेडिटको रहेको छ । आठौं तथा अन्तिम सेमेस्टर भने इन्टर्नशिप र प्रोजेक्ट वर्कमा केन्द्रित गरिएको छ ।

पोखरा विश्वविद्यालयले यो कोर्ष सन् २०१८ मा अपडेट गरेको थियो । अहिले त्यही पाठ्यक्रम पढाइ भइरहेको छ ।

रेडियो टेक्नोलोजिस्टसँग के छ फरक ?

रेडियो टेक्नोलोजिस्ट बन्न ब्याचलर अफ साइन्स इन मेडिकल इमेजिङ टेक्नोलोजी (बीएससी एमआईटी) मा भर्ना हुनुपर्छ । जुन मेडिकल अथवा ल्याब टेक्निसियन जस्तै एक पारामेडिकल कोर्ष हो ।

यस कोर्ष उत्तीर्ण गर्ने विद्यार्थी एउटै तहका हुन्छन् । यी दुवै कोर्ष करिब उस्तै भएपनि विषय भने फरक छन् । दुवैले चिकित्सकलाई रोग निदान गर्नमा सहयोग गर्छ ।

भर्नाका लागि योग्यता

यस कोर्षमा भर्ना हुन चिकित्सा शिक्षा आयोग (एमईसी)ले प्रवेश परीक्षामा सहभागी हुनुपर्छ । जसमा विद्यार्थीले त्यसमा उत्तीर्ण हुनेपर्छ । त्यस परीक्षा लिँदै गर्दा नै विद्यार्थीले आफूले पढ्ने विषय चयन गरेका हुन्छन् ।

यो विषय पढ्न उनीहरुले कक्षा ११/१२ मा फिजिक्स, केमेस्ट्री र बायोलोजी वा तीन वर्षे डिप्लोमा तह सर्टिफिकेट इन मेडिकल ल्याब्रोटरी टेक्नोलोजी (सीएमएलटी) अध्ययन गरेको हुनुपर्छ ।

साथै विद्यार्थीले २.४ जीपीए अथवा ५० प्रतिशत अङ्क प्राप्त गरेको हुनुपर्छ । प्रवेश परीक्षा उत्तीर्ण विद्यार्थीलाई कलेज चयन गर्न एमईसीले फाराम खुलाउँछ । विद्यार्थीले यो कोर्ष देशभरका जुनै कलेजमा पढ्न सक्छन् । त्यस्तै एमईसीले नै विद्यार्थीहरूलाई कलेज पठाउँछ ।

कहाँ कहाँ पढाइ हुन्छ ?

यो कोर्ष आङ्गिक तथा सम्बन्धन प्राप्त कलेजहरूमा पढाइ भइरहेको छ । यसअन्तर्गत विश्वविद्यालयको आङ्गिक क्याम्पस ‘स्कुल अफ हेल्थ एन्ड अलाइड साइन्स’ पढाइ हुन्छ ।

साथै यो कोर्ष सञ्चालन गर्न तीन ओटा कलेजले सम्बन्धन लिएका छन्, जसमा नोबेल कलेज काठमाडौं, मोडर्न टेक्निकल कलेज काठमाडौं र क्रिम्सन अलेज अफ टेक्नोलोजी बुटवल छन् । 

एमईसीका अनुसार यो कोर्ष चलाउन कलेजसँग आफ्नै १०० शैयाको अस्पताल हुनुपर्छ । कुन कलेजलाई यो कोर्ष पढाउन दिने भन्ने कुरा ‘स्वास्थ्य शैक्षिक संस्था सञ्चालन सम्बन्धी मापदण्ड २०७८’ ले तोकेको छ ।

विद्यार्थी क्षमता, शुल्क र छात्रवृत्ति

यस विषयमा कति विद्यार्थी भर्ना लिने भन्ने कुरा एमईसीले प्रत्येक वर्ष विद्यार्थीले तोक्ने गर्छ । भौतिक पूर्वाधार, फ्याकल्टीको अवस्था लगायत विभिन्न कुराहरूलाई आधार बनाएर विद्यार्थी निर्धारण हुने गर्छ । जुन प्रत्येक वर्ष तलमाथि हुन सक्छ ।

यो कोर्ष पढाइ हुने प्रत्येक कलेजहरूमा ४० कोटा निर्धारण गरिएको छ । यस कोर्षमा भर्ना हुने कुल विद्यार्थीको ७० प्रतिशतले छात्रवृत्ति पाउँछन् । बाँकी ३० प्रतिशत विद्यार्थी भने पूर्ण शुल्कमा अध्ययन गर्ने विद्यार्थीलाई भने करिब सात लाख रुपैयाँ रहेको छ ।

करियर

यो विषय उत्तीर्ण गर्ने विद्यार्थीहरू निजामती सेवामा अधिकृत सरह हुन्छन् । उनीहरूले सरकारी अस्पताल, फरेन्सिक ल्याब, बायोटेक कम्पनी, एकेडेमिक इन्स्टिच्युट, निजी ल्याब लगायत विभिन्न क्षेत्रमा काम गर्न सक्छन् ।

समग्रमा भन्दा स्वास्थ्यको ‘कोर’ कोर्षमा भर्ना नभएका विद्यार्थीका लागि यो राम्रो विकल्प बन्न सक्छ ।

पाठ्यक्रम हेर्नुहोस्:

सेमेस्टर

विषय

पहिलो

-मेडिकल ल्याब साइन्स

-माइक्रोबायोलोजी १

-जेनेरल केमेस्ट्री १

-बायो स्टाटिक्स

-ल्याब १, २

दोस्रो 

-बायोकेमेस्ट्री १

-एनाटोमी एन्ड साइकलोजी

-जेनेरल साइटोलोजी

-जेनेरल हिस्टोलोजी

-एनालिटिकल केमेस्ट्री

-ल्याब ३, ४, ५

-सेमिनार

तेस्रो

-माइक्रोबायोलोजी २

-बायोकेमेस्ट्री २

-एनाटोमी एन्ड फिजियोलोजी २

-मोलेकुलर सेल बायोलोजी

-इम्युनोलोजी

-ल्याब ६, ७, ८

-सेमिनार २

चौंथाे

-माइक्रोबायोलोजी २

-जेनेरल प्याथोलोजी

-साइटोप्याथोलोजी

-बायो केमेस्ट्री ३

-हेल्थ एन्ड डिजिज्

-ल्याब ९, १०, ११

पाँचौं

-माइक्रोबायोलोजी ४

-हिस्टोप्याथोलोजी १

-बायो केमेस्ट्री ४

-हेमाटोलोजी १

-अप्लाइड बायोटेक

-ल्याब १२, १३, १४

-सेमिनार ४

छैटौं

-माइक्रो बायोलोजी ५

-माइक्रो बायोलोजी ६

-हिस्टोप्याथोलोजी २

-बायोकेमेस्ट्री ५

-हेमाटोलोजी १

-ल्याब १५, १६, १७

-सेमिनार ५

सातौं

-माइक्रो बायोलोजी ७

-अटोस्पी एन्ड मेडिकल जुरिसप्रुडेन्स

-बायोकेमेस्ट्री ६

-इम्युनो हेमेटोलोजी एन्ड बल्ड ब्याङ्क १

-क्लिनिकल ल्याब रिसर्च

-ल्याब १८, १९, २०

-सेमिनार ६

आठौं

-इन्टर्नशिप

-प्रोजेक्ट वर्क

पछिल्लो अध्यावधिक: असार २८, २०८० १८:१८