close

एक्सले ल्यायो आईडीको ब्लु टिक लुकाउन सकिने फिचर, त्यसैका लागि अब पैसा किन तिर्ने ?

टेकपाना टेकपाना

साउन १८, २०८० १४:१६

एक्सले ल्यायो आईडीको ब्लु टिक लुकाउन सकिने फिचर, त्यसैका लागि अब पैसा किन तिर्ने ?

काठमाडौं । शुल्क तिरेर एक्सको ब्लु चेकमार्क लिएका प्रयोगकर्ताले अब आफ्नो अकाउन्टबाट उक्त चेकमार्क लुकाउन पाउने भएका छन् । एक्सले हालै ब्लु चेक लुकाउन चाहने प्रयोगकर्तालाई लक्षित गर्दै यस्तो फिचर ल्याएको हो ।

त्यसो त ट्वीटरबाट भर्खरै रिब्रान्डिङ भएको एक्सको यो फिचरबारे यसअघि नै विभिन्न अड्कलबाजी भइरहेका थिए । कम्पनीले एक्स ब्लु सेवा लिने, तर आफ्नो अकाउन्टमा ब्लु चेकमार्क देखाउन नचाहने प्रयोगकर्ताका लागि यस्तो फिचर ल्याएको बताएको हो ।

“एक्स ब्लुको ग्राहक भएकाले अब आफ्नो अकाउन्टबाट ब्लु चेकमार्क लुकाउन सक्नुहुन्छ,” एक्सको हेल्प सेन्टर पेजमा लेखिएको छ, “उक्त चेकमार्क प्रयोगकर्ताको प्रोफाइल र पोस्टबाट हट्नेछ ।”

तर, केही अवस्थामा भने ब्लु चेकमार्क देखिने कम्पनीले बताएको छ । कस्तो अवस्थामा देखिन्छ भन्ने कुरा भने कम्पनीले स्पष्ट रूपमा खुलाएको छैन । त्यस्तै एक्सका केही फिचरहरूले पनि प्रयोगकर्ता एक्स ब्लुको ग्राहक हो भन्ने कुरा जनाउने कम्पनीको भनाई छ ।

त्य​सबाहेक ब्लु चेकमार्क लुकाएको अवस्थामा प्रयोगकर्ताले केही फिचरहरू प्रयोग गर्न पाउने छैनन् । ब्लु चेकमार्क लुकाएको अवस्थामा केही फिचरहरू प्रयोग गर्न नपाउनु भन्नु ब्लु चेकमार्क नलिनु जस्तै हो ।

त्यसैले प्रयोगकर्ताले आठ डलर केका लागि तिर्ने भन्ने प्रश्न उठेको छ । त्यसकारण यो फिचरको औचित्य के भन्ने कुरा पुष्ट भने हुन सकेको छैन ।

पछिल्लो अध्यावधिक: साउन १८, २०८० १४:१६