close

इच्छुक सबैले नेपालमै पढ्न पाउने गरी तयार भयो एआईको पाठ्यक्रम

टेकपाना टेकपाना

साउन १८, २०८० १६:१६

इच्छुक सबैले नेपालमै पढ्न पाउने गरी तयार भयो एआईको पाठ्यक्रम

काठमाडौं । किङ्ग्स कलेज र नेपाल अप्लाइड म्याथम्याटिक्स एण्ड इन्फरमेटिक्स इन्स्टिच्युट फर रिसर्च (नामी) ले संयुक्त रूपमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को शैक्षिक कार्यक्रम सञ्चालन गर्ने भएका छन् ।

एआई शिक्षालाई सबैमाझ पु‍र्‍याउने लक्ष्य राखेर बिहीबार यी दुई संस्थाबीच कोर्ष सञ्चालन गर्ने सम्झौता सम्पन्न भएको हो । यससँगै अबको दुई महिना भित्रमा किङ्ग्स कलेजले ६ महिने तथा ९० क्रेडिट आवरको एआई कोर्षको पढाइ सुरु गर्नेछ । 

कलेजका अध्यक्ष नरोत्तम अर्यालले एआई पाठ्यक्रम तयार भइसकेको र इच्छुक विद्यार्थीका लागि अनलाइन आवेदनको व्यवस्था सुरु गरिएको जानकारी दिए ।

कोर्षमा कलेज र नामी दुवैका जनशक्तिले अध्यापन गराउनेछन् । महिनामा चार पटक कक्षा सञ्चालन हुने उक्त कोर्षमा ‍सूचना प्रविधि तथा इञ्जिनियरिङ विधामा काम गरिरहेका व्यक्तिहरू भर्ना हुन पाउनेछन् । तर उनीहरूलाई पाइथन प्रोग्रामिङ भने अनिवार्य रुपमा आएको हुनुपर्छ ।

यस कोर्षले विद्यार्थीहरूलाई एआईको उपभोक्ता मात्र नभई यस क्षेत्रमा रोजगारी तथा व्यवसायमा गर्न सहयोग गर्ने कलेजको भनाइ छ । साथै विद्यार्थीले एआईमा आधारित सफ्टवेयरहरू बनाउन सक्ने जनशक्ति देशभित्रै तयार पार्नु कोर्षको उद्देश्य भएको बताइएको छ ।

यसका लागि एआई विज्ञहरूको प्रत्यक्ष संलग्नतामा शिक्षा प्रदान गरिने जनाइएको छ । यद्यपि कोर्ष अध्ययन गर्न लाग्ने शुल्क भने अहिले निश्चित भइनसकेको कलेजले बताएको छ ।

कोर्ष सञ्चालन गर्न सहकार्य गरेको नामीले एआई लगायत सम्बन्धी क्षेत्रहरूमा वैज्ञानिक अनुसन्धान गर्दै आएको छ भने किङ्ग्स कलेजले सूचना प्रविधि, व्यवस्थापन लगायतका विषयहरू अध्यापन गराउँदै आएको छ । इच्छुक विद्यार्थीले यहाँ क्लिक गरी वेटलिस्टमा बस्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: साउन १८, २०८० १६:२६