close

सबैले पढ्न मिल्ने लुम्बिनी प्राविधिक विश्वविद्यालयको आईटी कोर्ष

टेकपाना टेकपाना

भदौ १६, २०८० १७:७

सबैले पढ्न मिल्ने लुम्बिनी प्राविधिक विश्वविद्यालयको आईटी कोर्ष

काठमाडौं । कक्षा १२ उत्तीर्णपछि विश्वविद्यालयमा भर्ना हुने बाटो खुल्छ । तर विकल्प धेरै हुनाले विद्यार्थीहरूले आफ्नो इच्छा र योग्यता अनुसारको विषयमा भर्ना हुन पाउँछन् ।

पछिल्लो समय नेपालमा नयाँ विश्वविद्यालय खुल्नुका साथ नयाँ शैक्षिक कार्यक्रमहरू सञ्चालनमा आएका छन् । यसरी सञ्चालन भएका नयाँ कार्यक्रमहरूमा सूचना प्रविधि (आईटी)सँग सम्बन्धित विषयहरू पनि छन् ।

‍गत वर्ष (२०७९) मा लुम्बिनी प्रदेश सरकारको स्वामित्व रहने गरी स्थापना भएको लुम्बिनी प्राविधिक विश्वविद्यालय त्यस्तै एक हाे, जसले हालै स्नातक तहमा भर्ना खुलाएको छ । अन्य विश्वविद्यालयमा भएका शैक्षिक कार्यक्रममा भन्दा भिन्न र नयाँ कोर्ष सञ्चालन गर्ने बताएको लुम्बिनी प्राविधिक विश्वविद्यालयले स्नातक तहमा बी टेक ईन सीएस एन्ड एआई र बी टेक ईन आईटीमा भर्ना खुलाएको छ ।

आज हामी यही विश्वविद्यालयको नयाँ कोर्ष बी टेक ईन आईटीबारे चर्चा गर्दैछौं:

कस्तो छ कोर्ष ?

ब्याचलर अफ टेक्नोलोजी ईन इन्फर्मेसन टेक्नोलोजी (बी टेक ईन आईटी) कोर्ष चार वर्षे (आठ सेमेस्टर) हो । विद्यार्थीलाई आईटी प्रिन्सिपल, कम्प्युटर सिस्टम, प्रोग्रामिङ ल्याङ्ग्वेज, नेटवर्किङ, डेटाबेस र सफ्टवेयर डेभलपमेन्टका विषयहरूको ज्ञान दिन कोर्ष डिजाइन गरिएको छ ।

प्रयोगात्मक कक्षा र सैद्धान्तिक ज्ञानलाई जोड्नु कोर्षको उद्देश्य रहेको छ । यसले विभिन्न आईटी उद्योगमा काम गर्न विद्यार्थीलाई तयारी गराउने विश्वविद्यालयको विश्वास छ ।

पाठ्यक्रम

कोर्ष विशुद्ध सूचना प्रविधिसँग सम्बन्धित छ । यसकारण यसमा धेरै जस्तो विषयहरू आईटीसँग सम्बन्धित छन् । पाठ्यक्रम अनुसार पाँचौ, छैँटो र आठौँ सेमेस्टरमा परियोजना रहेका छन् । त्यस्तै  छैँटो, सातौँ र आठौँ सेमेस्टरमा इन्टर्नशिपको व्यवस्था गरिएको छ । विशेषत: कोर्षमा निम्न विषय छन् । 

-कम्प्युटर प्रोग्रामिङ फन्डामेन्टल: कोर्षमा प्रोग्रामिङ ल्याङ्ग्वेज, डेटा स्ट्रकचर, एल्गोरिदम, कम्प्युटर अर्गनाइजेसन र सफ्टवेयर इन्जिनियरिङ बारे पढाइ हुन्छ । सफ्टवेयर एप्लिकेसन बनाउन र यस बारे बुझ्न यी विषय अनिवार्य जस्तै छन् । 

-इन्फर्मेसन टेक्नोलोजि कन्सेप्ट: कोर्ष अध्ययन गरेपछि विद्यार्थीले आईटी इन्फ्रास्ट्रक्चर, हार्डवेयर कम्पोनेन्ट, अपरेटिङ सिस्टम र सफ्टवेयर एप्लिकेशनहरू बारे ज्ञान हाँसिल गर्छन् । आईटी सिस्टमले कसरी काम गर्छ र तिनलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारे ज्ञान दिन्छन् । 

-नेटवर्किङ एन्ड सेक्युरिटी: कोर्षमा कम्प्युटर नेटवर्क, नेटवर्क प्रोटोकल, साइबर सेक्युरिटी र इन्फर्मेसन सेक्युरिटी बारे पढाइ हुन्छ । यसले नेटवर्क सिस्टमलाई सुरक्षित गर्न, मर्मत सम्भार गर्न र प्रभावकारी रुपमा कार्यान्वयन गर्न सहयोग गर्छ ।  

-डेटाबेस म्यानेजमेन्ट: विद्यार्थीहरूले डेटाबेस डिजाइन, स्ट्रकचर्ड क्वेरी ल्याङ्ग्वेज (एसक्यूएल), डेटा मोडलिङ र डेटाबेस म्यानेजमेन्ट सिस्टम बारे पनि पढ्नुपर्छ । 

-वेब टेक्नोलोजी: कोर्षमा ब्याकएन्ड तथा फ्रन्टएन्ड डेभलपमेन्ट, वेब एप्लिकेशन फ्रेमवर्क तथा वेब टेक्नोलोजीहरू बारे पनि विषयवस्तु रहेका छन् । 

-सफ्टवेयर डेभलपमेन्ट:  जस्तै: जाभा, पाइथन, सी++ लगायतका प्रोग्रामिङ ल्याङ्ग्वेजहरू राखिएका छन् । जसले सफ्टवेयर डेभलपमेन्टमा सहयोग गर्छ । 

-इलेक्टिभ: कोर्षमा मुख्य बाहेक अन्य विषय पनि छन् जसलाई विद्यँर्थीहरूले आफ्नो रुचि अनुसार पढ्न सक्छन् । मोबाइल एप डेभलपमेन्ट, क्लाउड कम्प्युटिङ, आर्टिफिसियल इन्टेलिजेन्स र डेटा एनालिटिक्स जस्ता इलेक्टिभ विषय छन् । 

यस्ताे छ पाठ्यक्रम

सेमेस्टर

विषय

पहिलो

-फन्डामेन्टल अफ इन्फर्मेसन टेक्नोलोजी

-इन्ट्रोडक्सन टु कम्प्युटेस्नल थिङ्किङ एन्ड सी प्रोग्रामिङ

-म्याथम्याटिक्स १

-कम्युनिकेसन स्किल

-सोसाइटी, साइबर ल एन्ड इथिक्स

दोस्रो

-म्याथम्याटिक्स २

-ओओपी ईन जाभा

-स्टाटिक्स

-डिजिटल लजिक

-वेब टेक्नोलोजी

तेस्रो

-माइक्रोप्रोसेर एन्ड कम्प्युटर आर्किटेक्चर

-डेटाबेस म्यानेजमेन्ट सिस्टम

-डेटा स्ट्रक्चर एन्ड एल्गोरिदम

-डेटा कम्युनिकेसन एन्ड नेटवर्कस

-प्रोग्रामिङ युजिङ पाइथन

चौंथौ

-सिस्टम एनालिटिक्स एन्ड डिजाइन

-मोबाइल एप्लिकेशन डेभलपमेन्ट

-कम्प्युटर ग्राफिक्स एन्ड मल्टिमिडिया

-अप्लाइड अपेरेटिङ सिस्टम

-डिजाइन एन्ड एनालिसिस अफ एल्गोरिदम

-इन्टरनेट अफ थिङ्स

पाँचौं

-यूआई/यूएक्स

-डिजिटल मार्केटिङ

-आर्टिफिसियल इन्टेलिजेन्स

-डेटा साईन्स

-रिसर्च मेथोडोलोजी

-प्रोजेक्ट १

छैँटाैं 

-सफ्टवेयर इन्जिनियरिङ

-क्लाउड कम्प्युटिङ

-डेटा वेयरहाउस एन्ड डेटा माईनिङ

-इलेक्टिभ १

-प्रोजेक्ट २

सातौँ

-सफ्टवेयर प्रोजेक्ट म्यानेजमेन्ट

-इन्फर्मेसन सेक्युरिटी

-डिजिटल गभर्नेन्स

-ब्लकचेन टेक्नोलोजी

-इलेक्टिभ २

आठौँ

-आईटी इन्टरप्रेनरशिप

-इलेक्टिभ ३

-इन्टर्नशिप/क्यापस्टोन प्रोजेक्ट


करियर

विशेषता: कोर्षले आईटी कन्सेप्ट, सिस्टम र प्रविधिबारे विद्यार्थीलाई ज्ञान दिन्छ । यसो हुँदा विद्यार्थीहरूले सफ्टवेयर कम्पनी तथा आईटी उद्योगमा काम गर्न सक्छन् ।

विशेषत: कोर्ष अध्ययनपछि विद्यार्थीहरूले निम्न क्षेत्रमा आफ्नो भविष्य बनाउन सक्छन्:

-सफ्टवेयर इन्जिनियर 

-आईटी एनालिस्ट 

-नेटवर्क एड्मिनिस्ट्रेटर 

-आईटी प्रोजेक्ट म्यानेजर 

-साइबर एनालिस्ट

-आईटी कन्सल्ट्यान्ट 

-डेटा एड्मिनिस्ट्रेसन 

भर्नाका लागि योग्यता

यो एक ‘ओपन स्ट्रिम’ कोर्ष हो । अर्थात् कक्षा ११/१२ मा जुनै विषय अध्ययन गरेपनि यो विषयमा भर्ना हुन पाइन्छ । यद्यपि कक्षा १२ मा न्यूनतम ‘डी’ ग्रेड वा सेकेन्ड डिभिजन ल्याएकाे हुनुपर्छ । त्यस्तै ए लेभल तह अध्ययन गरेकाले कम्तीमा ‘डी’ ग्रेड प्राप्त गरेको हुनुपर्छ ।

तर विश्वविद्यालयले लिने प्रवेश परीक्षामा भने विद्यार्थी अनिवार्य रुपमा सहभागी हुनुपर्छ ।

विद्यार्थी कोटा, छात्रवृत्ति र शुल्क  

विश्वविद्यालयले यो कोर्षमा ४८ जना विद्यार्थी भर्ना लिने बताएको छ । जसमध्ये भर्ना हुन आएका १२.५ प्रतिशत विद्यार्थीलाई लुम्बिनी प्रदेश मुख्यमन्त्री छात्रवृत्ति र ८.३ प्रतिशतलाई मेरिटका आधारमा छात्रवृत्ति दिइने छ ।

यो कोर्षमा अध्ययन गर्न नियमित शुल्कमा एक लाख १५ हजार र पूर्ण शुल्कमा चार लाख ६० हजार रुपैयाँ रहेको छ ।

विश्वविद्यालय र कोर्ष

यो विश्वविद्यालय बाँके जिल्लाको खजुरा गाउँपालिका वडा नम्बर ८ मा अवस्थित छ । विशेषगरी लुम्बिनी प्रदेशका जिल्लाहरूको विद्यार्थीलाई सूचना प्रविधि सम्बन्धी कोर्ष अध्यापन गराउन यो विश्वविद्यालय खाेलिएको हाे ।

विश्वविद्यालयले यो वर्ष बी टेक ईन आईटी, बी टेक ईन सीएस एन्ड एआई र आईटी इन्जिनियरिङ कार्यक्रम सञ्चालन गर्ने याेजना ल्याएको छ । जसमध्ये दुई विषयमा भर्ना खुला गरेकाे छ ।

इच्छुक विद्यार्थीले भदौ ६ देखि असोज ५ गतेसम्म नियमित र विलम्ब शुल्कमा असोज १२ सम्म फाराम भर्न सक्नेछन् ।

भर्ना आवेदन दिन यहाँ क्लिक गर्नुहाेस् । यी दुवै विषयको प्रवेश परीक्षा असोज १७ गते हुने विश्वविद्यालयले जनाएको छ । साथै असोज मसान्तसम्म ओरियन्टेसन कक्षा सञ्चालन गर्ने याेजना छ ।

पछिल्लो अध्यावधिक: भदौ १६, २०८० १७:२५