close

कस्तो छ लुम्बिनी प्राविधिक विश्वविद्यालयको एआई कोर्ष ?

सञ्जीवन राई सञ्जीवन राई

असोज १७, २०८० १२:८

कस्तो छ लुम्बिनी प्राविधिक विश्वविद्यालयको एआई कोर्ष ?

काठमाडौं । गत वर्ष स्थापना भएको लुम्बिनी प्राविधिक विश्वविद्यालयले यो शैक्षिक सत्रदेखि स्नातक तहमा सूचना प्रविधिसम्बन्धी कार्यक्रम अध्यापन गराउँदै छ । त्यही अनुरुप विश्वविद्यालयले 'बी. टेक. ईन सीएस एन्ड एआई' र 'बी टेक ईन आईटी' विषयमा भर्ना खुला गरिसकेको छ ।

नेपाली आईटी शिक्षाको क्षेत्रमा यी दुवै कोर्ष नयाँ हुन् । विश्वविद्यालयको इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थानले सञ्चालन गर्ने यी कोर्ष हालै कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीका लागि विकल्प हुन सक्छन् ।

यसअघि हामीले बी टेक ईन आईटी कोर्षबारे विस्तृतमा जानकारी दिइसकेका छौं । आज विश्वविद्यालयको अर्को कोर्ष बी टेक ईन सीएस एन्ड एआईबारे जानकारी दिदै छौं:

कस्तो छ कोर्ष ?

पूरा रूप ब्याचलर ईन टेक्नोलोजी ईन कम्प्युटर साइन्स एन्ड आर्टिफिसियल इन्टेलिजेन्स (बी टेक ईन सीएस एन्ड एआई) रहेको यो चार वर्षे (आठ सेमेस्टर) कोर्ष हो । कोर्षमा एआई तथा कम्प्युटर साइन्सका विषय राखिएका छन् ।

विद्यार्थीलाई कम्प्युटर विज्ञान साथसाथै एआईबारे ज्ञान दिन यो कोर्ष तयार पारिएको विश्वविद्यालयको भनाइ छ । त्यस्तै यी क्षेत्रसँग सम्बन्धित उद्योगका लागि जनशक्ति उत्पादन गर्नु कोर्षको उद्देश्य छ । त्यही उद्देश्य पूरा गर्न परम्परागत कम्प्युटर साइन्सका विषयसँग एआईका स्पेसलाइज्ड (विशिष्टिकृत) विषय मिसाएर कोर्ष तयार पारिएको छ ।

पाठ्यक्रम

कोर्षमा कम्प्युटर विज्ञान, आर्टिफिसियल इन्टेलिजेन्स, म्याथम्याटिक्स एन्ड स्टाटिस्टिक्स, सफ्टवेयर इन्जिनियरिङ सम्बन्धी विभिन्न विषयहरूको पढाइ हुन्छ ।

चार वर्षको अवधिमा विद्यार्थीले कम्प्युटर साइन्सका सिद्धान्त, प्रोग्रामिङ ल्याङ्ग्वेज, एल्गोरिदम, डेटा स्ट्रकचर, एआईका विषयबारे ज्ञान प्राप्त गर्छन् । त्यस्तै मसिन लर्निङ, न्यूरल नेटवर्क, न्याचुरल नेटवर्क प्रोसेसिङ, रोबोटिक्स जस्ता विषय पनि विद्यार्थीले अध्ययन गर्छन् ।

कोर्षको पाँचौं सेमेस्टरबाट विद्यार्थीले अनिवार्य रुपमा प्रोजेक्ट वर्क (परियोजना कार्य) गर्नु पर्ने हुन्छ । छैटौं सेमेस्टरबाट इलेक्टिभ (वैकल्पिक) विषय पढ्नु पर्छ । अन्तिम सेमेस्टरमा भने विद्यार्थी अनिवार्य इन्टर्नशिप गर्नु पर्ने हुन्छ ।

हेर्नुहोस् पाठ्यक्रम

सेमेस्टर

विषय

पहिलो

फिजिक्स फर कम्प्युटिङ

इन्ट्रोडक्सन टु कम्प्युटेस्नल थिङ्किङ एन्ड सी प्रोग्रामिङ

म्याथम्याटिक्स १

कम्युनिकेसन स्किल

सोसाइटी, साइबर ल एन्ड इथिक्स

दोस्रो

म्याथम्याटिक्स २

ओओपी इन जाभा

स्टाटिस्टिक्स

डिजिटल लजिक

वेब टेक्नोलोजी

तेस्रो

माइक्रोप्रोसेसर एन्ड कम्प्युटर आर्किटेक्चर

डेटाबेस म्यानेजमेन्ट सिस्टम

डेटा स्ट्रक्चर एन्ड एल्गोरिदम

डेटा कम्प्युनिकेसन एन्ड नेटवर्क

डिस्क्रिट म्याथम्याटिक्स

प्रोग्रामिङ युजिङ पाइथन

चौंथाे

थ्यौरी अफ कम्प्युटेसन

न्युमेरिकल मेथोड

कम्प्युटर ग्राफिक्स एन्ड मल्टिमिडिया

अप्लाइड अपरेटिङ सिस्टम

डिजाइन एन्ड एनालिसिस अफ एल्गोरिदम

अप्टिमाइजेसन थ्यौरी

पाँचौं

यूआई/यूएक्स

कम्प्युटर अर्गनाइजेसन एन्ड आर्किटेक्चर

आर्टिफिसियल इन्टेलिजेन्स

डेटा साइन्स

रिसर्च मेथोडोलोजी

प्रोजेक्ट १

छैंटाैं

सफ्टवेयर इन्जिनियरिङ

क्लाउड कम्प्युटिङ 

मसिन लर्निङ

इलेक्टिभ १

प्रोजेक्ट २

सातौं

सफ्टवेयर प्रोजेक्ट म्यानेजमेन्ट

नेटवर्क सेक्युरिटी एन्ड क्रिप्टोग्राफी

गेम थ्यौरी

ब्लकचेन टेक्नोलोजी

इलेक्टिभ २

आठौं

आईटी इन्टरप्रनरशीप

इलेक्टिभ ३

इन्टर्नशिप/क्यापस्टोन प्रोजेक्ट

स्रोत: लुम्बिनी प्राविधिक विश्वविद्यालय


कोर्ष पढेपछिको भविष्य

कम्प्युटर साइन्स र एआईका विषयहरू पढाइ हुने भएकाले कोर्षको दायरा फराकिलो छ । यसकारण विद्यार्थीहरूले विभिन्न सफ्टवेयर कम्पनी, एआई कम्पनी, आईटी उद्योगमा काम गर्न सक्छन् । कोर्ष अध्ययनपछि विद्यार्थीले निम्न क्षेत्रमा आफ्नो भविष्य बनाउन सक्छन्:

-एआई इन्जिनियर/डेभलपर

-मसिन लर्निङ इन्जिनियर

-डेटा साइन्टिस्ट

-कम्प्युटर भिजन इन्जिनियर

-न्याचुरल ल्याङ्ग्वेज प्रोसेसिङ इन्जिनियर

-रोबोटिक्स इन्जिनियर

-रिसर्च साइन्टिस्ट इन एआई

-एआई कन्सल्ट्यान्ट


भर्ना योग्यता र शुल्क

कक्षा ११/१२ मा फिजिक्स, केमेस्ट्री र म्याथ (पीसीएम) विषय लिई न्यूनतम ‘सी’ ग्रेड अथवा सेकेन्ड डिभिजन ल्याएका विद्यार्थी यो कोर्षमा भर्ना हुन योग्य हुन्छन् । त्यस्तै ए लेभल पढेकाहरूले भने न्यूनतम ‘डी’ ग्रेड ल्याएको हुनु पर्छ । 

विश्वविद्यालयले प्रतिवर्ष ४८ विद्यार्थीको भर्ना लिने गर्छ । जसमा नियमित (छात्रवृत्ति) शुल्क एक लाख ३० हजार र पूर्ण शुल्क पढ्न पाँच लाख १८ हजार रुपैयाँ लाग्छ । 

लुम्बिनी प्रदेश सरकारको स्वामित्व रहने गरी २०७९ मा स्थापना भएको यो विश्वविद्यालयले बाँके जिल्लाको खजुरा गाउँपालिका वडा नम्बर ८ मा अवस्थित छ । विशेषगरी लुम्बिनी प्रदेशका विद्यार्थीलाई सूचना प्रविधि सम्बन्धी कोर्ष अध्यापन गराउन यो विश्वविद्यालय खाेलिएको छ ।

त्यही अनुरुप यही शैक्षिक सत्रदेखि विश्वविद्यालयले आफ्नो कार्यक्रम सञ्चालन गर्न बी टेक ईन सीएस एन्ड एआई, बी टेक ईन आईटी र आईटी इन्जिनियरिङ कार्यक्रम सञ्चालन गर्ने याेजना बनाएको छ । जसमध्ये दुई विषयमा भर्ना खुला भइसकेको छ । भर्नाबारे तथा विश्वविद्यालयले थप जानकारी पाउन यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज १७, २०८० १२:२१