close

‘बिजुली गएको बेला टाटाले जेनरेटर चलाएरै गाडी चार्ज गरिदियो’

निमेष श्रेष्ठ

भदौ २०, २०८० १५:१

‘बिजुली गएको बेला टाटाले जेनरेटर चलाएरै गाडी चार्ज गरिदियो’

मेरो कामकाे प्रकृति नै धेरै यात्रा गरिरहनु पर्ने किसिमको छ । पहिले स्कुटरमा हिँड्थेँ । तर छोरो सानै भएकाले यात्रामा निस्कना साथ बिरामी पर्थ्यो । घरबाहिर निस्केपछि उसलाई रुघा लाग्ने, खकार जम्ने भइहाल्थ्यो । त्यसैले गाडी लिनै पर्ने बाध्यता आयो ।

बुबासँग पनि पैसा थियो, केही मसँग पनि । अनि मिलेर हामीले टाटाको नेक्सन प्राइम बिजुली गाडी किन्यौं । त्यसपछि गाडीमै यात्रा गर्ने भएकाले छोरो पनि बिरामी परेको छैन ।

गाडीबाट हामी झापा, बुटवल, चितवन, बन्दीपुर, पोखरा लगायतका थुप्रै ठाउँ पुगेका छौं । किनेको भने जम्मा आठ महिना मात्रै भएको छ । तर यो अवधिमा १६ हजार किलोमिटर गुडाइसकेको छु ।

झापा मात्रै तीन पटक पुगिसकें । हुन त झापा मेरो घर पनि हो । काठमाडौंबाट झापा जाँदा बाटोमा तीन पटक चार्ज गर्नुपर्छ । घर जाने बेला बिहान ४ बजे निस्किने गर्छु । त्यसो गर्दा ६/७ बजेतिर मुलकोट पुगिन्छ । त्यसबेला ५६ प्रतिशत ब्याट्री हुन्छ । त्यहाँ खाजा खाँदै चार्ज गर्छु । अनि खाना खाने गरी लहान अथवा बर्दिबास पुगिन्छ ।

बर्दिबासमा पुग्दा ब्याट्री लेभल २५/३० प्रतिशतमा झर्छ । तर एक पटक बर्दिबासमा चार्ज गरेपछि इटहरीसम्म ढुक्कले गइन्छ । अनि दिउँसो खाजा खाने समयमा इटहरी पुगिन्छ । त्यहाँ फेरि चार्ज गर्नुपर्छ । त्यसपछि सोझै घर पुग्छु । गाडीमा ९० देखि ९५ प्रतिशतसम्म निकै छिटो चार्ज हुन्छ । त्यसपछि ९५ देखि १०० समयसम्म अझ बढी समय लाग्छ । त्यसो हुँदा जहिल्यै पनि म ९० प्रतिशतसम्म मात्र चार्ज गर्छु ।

पहिलो पटक काठमाडौंबाट घर जाँदा बर्दिबासमा चार्ज नगरी सोझै लहान पुगेको थिएँ । त्यस बेला लहानको एउटा होटलमा टाटाको चार्जिङ स्टेसन छ भनेर गएका थियौं । त्यहाँ पुग्दा ब्याट्री १६ प्रतिशतमा झरेको थियो । त्यस बेला भने मुलकोटमा चार्ज गरेको थिएँ । प्राय: बिजुली गाडीमा रेन्ज एन्जाइटी (चार्ज कति दूरीमा सकिन्छ भन्ने चिन्ता) हुन्छ भनिन्छ । तर योजना बनाइए त्यस्तो केही समस्या नहुने रहेछ ।

टाटाको चार्जिङ स्टेसनमा जतिबेला गए पनि चार्ज गर्न सकिन्छ । त्यो निकै राम्रो पक्ष हो । हामीलाई बिजुली गाडी चार्ज गर्न कार्ड वा एप दिइएको छ । कार्ड प्रयोग गर्दा ट्याप मात्र गर्नुपर्छ । इन्टरनेट नभएको बेला एप कहिलेकाँही नचल्न सक्छ । तर त्यस्तो बेला कार्डले सजिलो हुन्छ ।

त्यस्तै आफ्नो कार्डमा पैसा सकिएको बेला त्यहाँका कर्मचारीहरूलाई अनुरोध गरे उनीहरू नै राखिदिन्छन् । टाटाले नै कार्ड उपलब्ध गराउँदो रहेछ । सुरुमा एक हजार रुपैयाँको रिचार्ज गर्नुपर्ने रहेछ । अनि चार्जिङ स्टेसनमा त्यसैबाट शुल्क तिर्न सकिने । एक पटकको रिचार्जले धेरै ठाउँ पुग्न सकिन्छ । त्यतिले म काठमाडौं-झापा-काठमाडौं यात्रा गर्न सक्छु । टाटाको एप पनि प्रयोगकर्ता मैत्री नै छ । तर इन्टरनेट नचल्ने ठाउँमा त्यसले काम गर्दैन । मलाई पनि कति पटक धोका दिएको छ । 

एक पटक झापाबाट काठमाडौं फर्किरहेको बेला बीच बाटोमा चार्ज गर्न पसेका थियौं । पानी परिरहेका थियो । बिजुली गएको थियो । तर जेनरेटर चलाएर पनि स्टेसन भने चलिरहेको थियो । मैले पनि त्यहाँ जेनरेटरबाटै चार्ज गरेको थिएँ । त्यसले पनि टाटाको सर्भिस कस्तो छ भनेर देखाउँछ ।

हामीले टाटा किन्नु पछिको कारण छिमेकी देश भारतमा बन्नु नै हो । गाडी केही गरी बिग्रे सामान पाउन पनि सजिलो छ । मैले गाडी किन्ने बेला बिजुली गाडीबारे अध्ययन गरेको थिएँ । त्यस बेला ‍नेपालमा सबैभन्दा बढी चार्जिङ स्टेसन टाटाकै थियो । 

आफ्नो गाडीमा सवारी धनी श्रेष्ठ

हुन त अन्य गाडीको भन्दा यसको रेन्ज कम छ । तर चार्जिङ स्टेसन धेरै ठाउँमा भएका कारण समस्या छैन । यही गाडीको अर्को मोडेल पनि छ, नेक्सन ईभी म्याक्स । खासमा मैले त्यही किन्न खोजेको थिएँ । तर किन्न खोजेको समयमा आएन । हामीलाई ‍गाडी किन्न हतारो नै थियो । यो किनेको चार महिनापछि मात्र म्याक्स ईभी नेपाल आएको थियो । तर प्राइम किनिसकेकाले बेचेर फेरि अर्को किन्ने झन्झटिलो काम गर्न मन लागेन । अहिले म यसैमा खुसी छु । 

त्यस्तै पेट्रोल गाडीको तुलनामा बिजुली गाडीबाट यात्रा गर्न खर्च निकै कम छ । यस कारण म नेपालको पूर्वदेखि पश्चिमसम्म पुगें । भारत र नेपालको बोर्डर पनि पुगें । यसरी मलाई धेरै ठाउँमा बिजुली गाडी लिएर जाने आँट पनि आएको हो । त्यस्तै टाटाको एपमा पनि कहाँकहाँ चार्जिङ स्टेसन छन् भन्ने देखिन्छ । नेपाल विद्युत प्राधिकरण (एनईए) को पनि एप त छ । तर प्राधिकरणको ‍चार्जिङ स्टेसन भने बेलाबेला बिग्रिरहेको हन्छ । 

अहिलेसम्म गाडी तीन चार पटक सर्भिसिङमा लगिसकेको छु । तीन हजार किलोमिटर पुगेपछि पहिलो पटक सर्भिसिङका लागि लिएर गएको थिएँ । त्यस बेला जम्मा २५० रुपैयाँ मात्र लागेको थियो । दोस्रो पल्ट जाँदा केही सामान फेर्नुपर्ने भएकाले साढे दुई हजार जति ‍खर्च भएको थियो । तेस्रो पटक जाँदा भने एक हजार जति खर्च लाग्यो । बिजुली गाडीको सर्भिसिङ निकै सस्तो हुने रहेछ ।

तर कम्पनीले यसमा ह्यान्ड ब्रेक सुधार गर्नुपर्ने छ । त्यस्तै हिल असिस्टेन्ट पनि छैन । यसले गर्दा उकालो बाटोमा ‍गाडी पछि आउने‍ समस्या छ । त्यस्तै गाडी वरपर बस्दा ‘टिट टिट’ आवाज आउँछ । कहिलेकाँही यसले निकै दिक्क लगाउँछ । 

यसलाई पनि सुधार गरे निकै राम्रो हुन्थ्यो । मलाई बिजुली गाडीमा अलि सुरक्षित हुनु पर्छ जस्तो लाग्छ ।  ‍अरु त मेरो लागि ठीक छ । यो परिवारका लागि राम्रो गाडी हो ।

मैले यो गाडीका लागि ४० लाख ९९ हजार रुपैयाँमा किनेको हुँ । बीमा, इन्टेरियर परिवर्तन गर्दा, अन्य केही काम गर्दा थप केही रकम खर्च भयो । पहिले गाडीको सिट कभर कालो थियो । मलाई कालो रङ मन नपर्ने, अनि सेतो रङको सिट कभर हालें । यसो हुँदा करिब दुई लाख रुपैयाँ जति बढी खर्च भएको छ । 

(श्रेष्ठ रन रेभुलेसन टीभीका प्रबन्ध निर्देशक हुन् ।) 

पछिल्लो अध्यावधिक: भदौ २०, २०८० १५:५४