close

इन्स्टाग्रामबाट ११ लाख मूल्य बराबरका सुनका गरगहना मगाई ठगी गर्ने सुसन घिमिरे पक्राउ

टेकपाना टेकपाना

भदौ २१, २०८० १८:४६

इन्स्टाग्रामबाट ११ लाख मूल्य बराबरका सुनका गरगहना मगाई ठगी गर्ने सुसन घिमिरे पक्राउ

काठमाडौं । अनलाइनमार्फत सुनका गरगहना अर्डर गर्ने र डेलिभरी भइसकेपछि रकम नदिएर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले मंगलबार राति ललितपुर गोदावरी गर भई हाल काठमाडौं गोठाटार बस्दै आएका २२ वर्षीय सुसन घिमिरेलाई पक्राउ गरेको हो ।

कार्यालयका अनुसार आरोपी घिमिरेले सामाजिक सञ्जाल इन्स्टाग्राममा ‘विकेश राना’ युजरनेमको आईडी प्रयोग गर्दै आएका थिए । उनी नेपालमा अनलाइनबाट व्यापार गर्ने विभिन्न गरगहना पसलहरूमा मेसेज पठाउँथे ।

पीडितका अनुसार कुरा गर्दै जाँदा उनी आफू बेलायतमा रहेको र नेपालका साथीभाइलाई औंठी गिफ्ट पठाउनुपर्ने सुनाउँथे । पसल सञ्चालकसँग कुरा गर्दै गएपछि उनी विभिन्न गरगहना अर्डर गर्थे । अर्डर गरिसकेको गहना भनेको ठाउँमा पठाउन अनुरोध गर्थे र आफूले बेलायतबाट रेमिटमार्फत रकम पठाइदिने भन्थे ।

टेकपानासँग कुरा गर्दै कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले भने, “पीडितलाई रकम पठाइदिएको भन्दै स्क्रिनशट पठाउने रहेछ । यता रकम नआएपछि सुन व्यवसायीले किन रकम आएन भनेर सोध्थे । अनि रेमिट गरेर पठाउँदा समय लाग्ने भन्दै टार्ने रहेछ ।”

यसरी केही समय टार्ने र पछि बेपत्ता हुने भएपछि एक पीडितले आफू ठगिएको थाहा पाए र उजुरी दिए । घिमिरे पक्राउ परेपछि तीन जनालाई ठगी गरेको देखिएको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानका क्रममा आरोपित घिमिरेले पीडितलाई नक्कली स्क्रिनशट पठाउने गरेको देखिएको छ । घिमिरेले तीन जनाबाट १० लाख ९५ हजार ५०० रुपैयाँ ठगी गरेको आरोप छ । उनीमाथि ठगी सम्बन्धी कसूरमा पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाएको प्रहरीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: भदौ २१, २०८० १८:५५