close

विमान दुर्घटनामा जहाज भित्रैबाट फेसबुक लाइभ गरेको भिडिओ 'फेक' : नागरिक उड्डयन प्राधिकरण

टेकपाना टेकपाना

माघ २, २०७९ १९:२६

विमान दुर्घटनामा जहाज भित्रैबाट फेसबुक लाइभ गरेको भिडिओ 'फेक' : नागरिक उड्डयन प्राधिकरण

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले यती एयरलाइन्स विमान दुर्घटनाबारे सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडिओमा सत्यता नरहेको बताएको छ । विमान दुर्घटना हुनुअघि एक यात्रुले फेसबुकमार्फत लाइभ गरेको भिडिओ भन्दै सामाजिक सञ्जालमा प्रचार भएपछि प्राधिकरणले यसमा सत्यता नरहेको प्रतिक्रिया दिएको छ ।

''सामाजिक सञ्जालमा आएका भिडिओ फुटेजहरू हामीले पनि हेर्‍यौं, तर त्यसमा सत्यता छैन,'' प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले नेपाल न्युज एजेन्सीसँगको एक भिडिओ अन्तर्वातामा भने ।

उनले फेसबुकमा लाइभ भएको भनिएको भिडिओ आइतबारको नभई अन्य दुर्घटनाको भएको दाबी गरे । ''एउटा फेसबुकमा लाइभ भएको भिडिओ देखिन्छ । त्यो हिजो दुर्घटना भएको जहाजको नभई अन्य कुनै जहाजको भएको बुझिन्छ । यस घटनालाई जोडेर भ्रम फैल्याउने हिसाबले कसैले गलत सूचना सम्प्रेषण गरेको देखिन्छ। यसमा सत्यता छैन,'' उनले भने ।

सरकारले जाँचबुझ समिति गठन गरेकाले यस घटनाको स्वतन्त्र र निष्पक्ष अनुसन्धान गरेर रिपोर्ट बाहिर आउने पनि उनले बताए । साथै उनले प्राधिकरणको प्रेस विज्ञप्ति र प्राधिकरणका बहालवाला आधिकारिक व्यक्तिबाट प्रसारित सामग्रीलाई मात्रै समाचार बनाउन सञ्चारमाध्यमलाई आग्रह गरे । 

याे पनि पढ्नुहाेस्: फेसबुकमा किन भेटिँदैनन् दुर्घटनाअघि जहाजबाट लाइभ गर्ने सोनु जैसवाल ?

पछिल्लो अध्यावधिक: माघ २, २०७९ २१:४२