close

युवतीहरूलाई प्रेमिका बनाउँदै अश्लील फोटो तथा भिडिओको आडमा बार्गेनिङ गर्ने युवक पक्राउ

टेकपाना टेकपाना

भदौ १२, २०८० १९:५०

युवतीहरूलाई प्रेमिका बनाउँदै अश्लील फोटो तथा भिडिओको आडमा बार्गेनिङ गर्ने युवक पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमार्फत अश्लील फोटो तथा भिडिओ राखी चरित्रहत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले सोमबार भक्तपुर नगरपालिका वडा नम्बर १४ बस्ने २५ वर्षीय सुसन चौगुठीलाई पक्राउ गरेको हो ।

कार्यालयका अनुसार आरोपित चौगुठीले फेसबुकमार्फत युवतीलाई फ्रेन्ड रिक्वेस्ट पठाउँथे । रिक्वेस्ट आएपछि युवतीले एसेप्ट गर्थे । र रिक्वेस्ट एसेप्ट गर्ने युवतीलाई नजिकको बनाउन विभिन्न प्रलोभन देखाएर नजिक हुन्थे । यसरी युवक युवतीसँग गर्दै जान्थे । कुरा अगाडि बढ्दै जाँदा चौगुठीले युवतीलाई प्रेम जालमा पार्थे ।

टेकपानासँग कुरा गर्दै कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक मिलन केसीले भने, “प्रेममा पारिसकेपछि विभिन्न बाहाना बनाएर पोर्न भिडिओ र फोटो लिने रहेछ । पछि त्यसैको आडमा रकम माग गर्ने देखिएको छ ।”

फोटो तथा भिडिओ पाइसकेपछि युवतीलाई फोटो भिडिओ सार्वजनिक गर्ने धम्की दिएर रकम माग्थे । रकम नदिएको खण्डमा युवतीको अश्लील फोटो फेसबुकमा राखिदिन्थे । 

सुरुमा एक युवतीको उजुरीको आधारमा अनुसन्धान गर्दै गए पनि उनले त्यसरी छ जना युवतीको फोटो तथा भिडिओ लिएर बार्गेनिङ गर्ने गरेको केसीले बताए ।

पक्राउ परेका चौगुठीमाथि विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा थप अनुसन्धान तथा कारवाहीका साइबर ब्युरो भोटाहिटी पठाइएको छ ।

पछिल्लो अध्यावधिक: भदौ १५, २०८० १३:१७